२० चैत्र २०८१ बुधबार
image/svg+xml ३:२८ पूर्वाह्न
समाज

तीनकुने अराजकता: १११ पक्राउ, दुर्गा प्रसाईं अझै फरार

शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी आन्दोलनका क्रममा १११ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल, धर्मगुरु पुष्कर खतिवडासहित विभिन्न व्यक्ति रहेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार आन्दोलनका मुख्य अगुवा दुर्गा प्रसाईं भने अझै फरार छन्। ‘अहिलेसम्म १११ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकामाथि अनुसन्धान जारी छ। तर, दुर्गा प्रसाईं अझै सम्पर्कमा आएका छैनन्,’ एसपी बोहोराले नागरिक न्युजसँग भने।

प्रहरीका अनुसार प्रसाईंको अन्तिम लोकेशन भैँसेपाटी खुलेको थियो, तर आज बिहान त्यहाँबाट उनी अन्यत्र भागेको अनुमान गरिएको छ। शनिबार बिहान प्रसाईं धर्मगुरु पुष्कर खतिवडाको घरमा भेटिएका थिए।

यसैबीच, प्रहरीले बालाजु क्षेत्रबाट प्रसाईं निकट रोयल टास्क फोर्स (आरटीएफ) समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले राजावादी प्रदर्शनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

पूर्वराजाका समर्थकहरूले शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिएर निस्किए पनि निषेधित क्षेत्र तोड्दै निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका साधनमा तोडफोड गरेका थिए।

ती घटनामा परी कीर्तिपुर-४ का सविन महर्जनको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। त्यस्तै, तीनकुनेस्थित मार्बल हाउसमा पत्रकार सुरेश रजक मृत अवस्थामा फेला परेका थिए।

प्रदर्शनका क्रममा नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ जना र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन्।

त्यसैगरी, नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ। विभिन्न १४ स्थानमा आगजनी, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको प्रहरीले जनाएको छ।

प्रहरीले आन्दोलनका क्रममा तोडफोड, आगजनी र हिंसात्मक गतिविधि भएको भन्दै पक्राउ परेकाहरूको संलग्नता हेरेर कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित: १६ चैत्र २०८१ १५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App