तथ्याङ्क विद्याप्रति झुकाव हुनाले होला, नेपालका कतिपय गाउँबस्तीको नामको संख्यात्मक पहिचान हुनुमा मलाई सधैं रमाइलो लाग्थ्यो। विद्यार्थी कालमा चितवनदेखि काठमाडौंसम्मको यात्रा हेटौंडा भएर पूरा गर्नुपथ्र्यो। मुग्लिनको बाटो बनेको थिएन। जनजिब्रोमा ‘बाइरोड’ भनेर चिनिने त्रिभुवन राजपथमा बाह्रघुम्ती, सातघुम्ती, नौबिसे पर्थे। काठमाडौंमा मेरो डेरा भएको टोल पकनाजोल नजिकै सोह्रखुट्टेपाटी थियो।
केही समयपछि नै उपत्यका र सेरोफेरोमा तीनधारा, पाँचखाल, सातदोबाटो, बाह्रबिसे नामका बस्तीहरू भएको ज्ञान भयो। काठमाडौंबाहिर पनि दोभान, तीनघरे, चौराहा, आठराई, नौडाँडा, तेह्रथुम, हजारिया, सत्रसय फाँटजस्ता नाम भेटिएपछि मैले संख्यासँग जोडिएका नाम संकलन गर्ने विचार गर्दै थिएँ तर त्यही बेला छात्रवृत्ति पाएर अध्ययनका लागि सोभियत संघ जाने पक्का भएको खबर आयो। त्यो खबरले ल्याएको उत्साहसामु आफ्ना ससाना योजनाहरू धुमिल भए।
मास्कोमा अध्ययनको दोस्रो वर्ष सायद सन् १९७९ तिर त्यहाँ रहनुभएका प्रतिष्ठित साहित्यकार कृष्णप्रकाश श्रेष्ठसँग भेट भयो। उहाँको सम्पादनमा भरखरै रुसी–नेपाली शब्दकोश प्रकाशित भएको कारण अनिवार्य विषयका रूपमा रुसी भाषा सिक्दै गरेका हामी नेपाली विद्यार्थीहरूबीच कृष्णप्रकाशको नाम थाहा नहुने मुस्किलले कोही भेटिन्थ्यो।
एक दुई पटकको अन्तरक्रियापछि मैले उहाँ अर्को एक शब्दकोश बनाउने तयारीमा रहनुभएको जानकारी पाएँ, जुन कालान्तरमा नेपालको पहिलो स्थाननामकोश बन्यो। आफैंले रुचि राखेको विषयमा तर मैले कल्पना गरेको भन्दा धेरै बृहत् कोश बन्न लागेको कुरा त्यसको प्रारम्भिक चरणमै थाहा पाएर म अत्यन्तै खुसी भएको थिएँ। यो आलेख कृष्णप्रकाश श्रेष्ठकै पुण्य तिथि चैत १६ गतेको अवसरमा उहाँको अद्वितीय कृति ‘स्थाननामकोश’को वरपर रहेर लेखिएको छ।
कृष्णप्रकाश श्रेष्ठद्वारा संकलित तथा सम्पादित ‘स्थाननामकोश’का दुई संस्करण प्रकाशित भएका छन्। पहिलो संस्करणको प्रकाशनको सम्झना गर्दै दोस्रो संस्करणको भूमिकामा उहाँले लेख्नुभएको थियो, ‘तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति लैनसिंह वाङ्देलको मास्को भ्रमण समयमा आफैंले टंकन गरी मोटो जिल्द हालिराखेको स्थाननामकोशको एक प्रति उहाँलाई बोकाएर पठाएको थिएँ।’
सोही पाण्डुलिपिलाई प्रज्ञाप्रतिष्ठानले २०४४ सालमा प्रकाशित गरेको थियो। यसको दोस्रो संस्करण हिमाल किताब प्रालिद्वारा २०६७ सालमा केही संशोधन र परिमार्जनसहित प्रकाशित भयो। प्रकाशक वसन्त थापाले दिनुभएको जानकारीअनुसार यसमा प्रथम संस्करणको १२ सय १० को तुलनामा १८ सय १८ प्रविष्टि (स्थाननाम) समावेश गरिएका थिए। प्रविष्टिबारे थप व्याख्या गर्दै सम्पादक श्रेष्ठले नेपालभित्रका कुनै न कुनै प्रकारले व्युत्पत्ति ठम्याउन सकिने या अथ्र्याउन सकिने स्थाननाम वर्णानुक्रमअनुसार संकलित गरिएको जनाउनुभएको थियो।
कुनै निश्चित ठाउँको जानकारी दिने भौगोलिक नामलाई स्थाननाम भनिन्छ। स्थाननामकोशमा पाखापर्वत, लेकबेँसी, नदीनाला, तालतलैया र भिरपहराजस्ता भौगोलिक निसानहरू र चाडपर्व, मन्दिर तथा देवीदेवताका मूर्तिजस्ता सांस्कृतिक धरोहरलाई चिनाउने नामहरू समेटिएका छन्।
धानको रास चुलिएको जस्तो देखिने हिउँचुलीको नाम अन्नपूर्ण, बुटवलबाट हेर्दा शिरमा कुहिरो उठिरहेको जस्तो देखिने कुइरेभिर र भष्मासुरले लखेट्दा शिवजीको जटा झरेको ठाउँनेर पर्ने दोलखाको जटापोखरी कोशमा व्याख्यासहित उल्लेख भएका केही भौगोलिक नाम हुन्, जसको सांस्कृतिक पक्ष त्यति नै स्पष्ट छ। काँक्रेविहार, मुक्तिनाथ र जामे–मस्जिदजस्ता स्तम्भहरूको सविस्तार परिचय दिइएको यो कोशमा नेपाली समाजको धार्मिक विविधता पनि झल्केको पाइन्छ।
कोशले स्थाननामलाई फगत एक नामको रूपमा नलिई यसको भाषिक, भौगोलिक अवस्थिति, ऐतिहासिक तथा लौकिक व्याख्या र अन्य सन्दर्भ सामग्री प्रस्तुत गरेको छ। स्थाननाम व्युत्पत्तिका धेरै पक्ष भए पनि भाषिक पक्ष प्रधान हो भन्दै सम्पादकले लेख्नुभएको छ– स्थाननाम कुनै न कुनै जनभाषाकै शब्द भएको हुँदा त्यसको व्याख्या सर्वप्रथम भाषिक आधारमा नै हुनु आवश्यक देखिन्छ।
शब्द रचनाको दृष्टिले स्थाननामहरू विशेषण र संज्ञा तथा संज्ञा र प्रत्यय योगद्वारा बनेका हुन्छन्। कोशमा विशेषण र संज्ञा मिलेर बनेका पाँच प्रकारका स्थान नामहरूको चर्चा गरिएको छ। तिनमा यस आलेखको सुरुमै मैले उल्लेख गरेका संख्याबोधक स्थाननामबाहेक कालबोधक (नयाँ बजार, पुरानो कोट), सतहबोधक (तल्लो, उपल्लो, नेवारीमा ‘थ’ र ‘क्वा’बाट बनेका ठहिटी र क्वाहिटी), आकारबोधक (सानो ठिमी, गैरीधारा) र रङबोधक (सेती गण्डकी, कालीमाटी, रातो मच्छेन्द्रनाथ) पर्छन्।
संज्ञा र प्रत्ययको योगद्वारा बनेका नामहरूलाई विभिन्न सात समूहमा वर्गीकरण गरिएको छ। उदाहरणका लागि स्थलनाम सूचकमा टार, (पीपलटार, पालुङटार), डाँडा (लामीडाँडा, दुराडाँडा), जलनाम सूचकमा खोला (खानी खोला, आँधीखोला) र वनस्पति सूचकमा वन, घारी, खर्क (रानीवन, बाँसघारी, सन्धीखर्क आदि) परेका छन्।
अन्य वर्गमा सामाजिक स्थितिसूचक, ऐतिहासिक÷राजनीतिसूचक, धार्मिक स्थितिसूचक र स्मृतिबोधक छन्। स्थाननामहरू स्वयम्मा व्यक्तिवाचक संज्ञा हुँदाहुँदै पनि यदाकदा विशेषणहरू पनि प्रयोग गरिएका उदाहरण छन्, जस्तो बुधबारे, ज्यामिरे, माछापुच्छ«े आदि।
भाषिक व्याख्याको कुरा गर्दा नेपालका विभिन्न भागमा बोलिने स्थानीय भाषाहरूबाट स्थाननामको व्युत्पत्ति भएको हुनसक्छ। उदाहरणका रूपमा पाल्पाको राम्दीलाई लिन सकिन्छ। मगर भाषामा ‘राम्’ भनेको रमिता र ‘दी’ भनेको पानी, खोला या घाट भएकाले कृष्ण गण्डकीको तटमा रहेको यस स्थानलाई रमिता हेर्ने घाटको अर्थमा ‘राम्दी’ भनिएको हो। त्यस्तै फिदिमको व्याख्या लिम्बु भाषाको आधारमा गरिएको छ। ‘फे’ भनेको फराकिलो र ‘देन’ भनेको ठाउँ भएकाले फेदेनबाट अपभ्रंश हुँदै फिदिम भएको हो।
काठमाडौं उपत्यका र सेरोफेरोमा नेवारी भाषाबाट बनेका स्थाननामका असंख्य उदाहरण छन्। भाषिक प्रसङ्गमा नै एउटै स्थानको एकसाथ विभिन्न भाषामा पर्यायवाची नाम चलनमा रहेको कुरा उल्लेखनीय छ। नेपाली नाम जैसी देवलको नेवारी नाम ‘मजिपात’, पाटनको ‘यल’ र बनेपाको ‘भोत’ हुन्छ।
यस्ता पर्यायवाची नाम संस्कृत र नेवारी या संस्कृत, नेपाली र तिब्बती भाषाबाट बनेका छन्। जस्तो नेपाली र संस्कृतमा अरूण नाम भएको नदीलाई तिब्बतीमा ‘फुङ्चु’ भनिन्छ भने संस्कृतमा कच्छ्पाल भनिने चोभारलाई नेवारीमा ‘च्व बहाः’ भनिन्छ। त्यसरी नै काठमाडौंको इक्षुमती खोलालाई नेवारीमा तुखुचा (टुकुचा) भनिन्छ भनेर कोशमा यस्ता पर्यायवाची नामहरूको तालिका नै प्रस्तुत गरिएको छ। कतिपय उच्च हिमशिखरका नामहरू भने संस्कृत नाम मूलबाट प्रचलित नेपाली नाम बनेको हो या नेपाली उच्चारणसँग मिल्ने गरी पछि संस्कृत नाम दिइएको हो, छुट्याउन गाह्रो छ। यस्ता नाममा प्रचलित नेपाली गोसाईंथान, मकालु, मनास्लुको संस्कृत नाम क्रमशः गोस्वामीस्थान, महाकीलक, मान शैल आदि छन्।
स्थाननामका पछाडि कैयौं किंवदन्ती, जनश्रुति र लोककथा लुकेका हुन्छन्, जसले यसको लौकिक व्याख्याको आधार तयार गर्छन्। उदाहरणका लागि स्थाननाम ‘चितवन’ असंख्य चितुवा पाइने घनाजङ्गल रहेको ठाउँ चितुवावनको रूपान्तरण हुँदै चितवन बनेको भनेर यसको व्युत्पत्तिको व्याख्या गर्न सकिन्छ। संस्कृत ग्रन्थहरूमा भेटिएको ‘अस्ति गण्डकी तीरे चित्रवनं नाम नगरम्’ भन्ने लिखतबाट यसको प्राचीन अवस्थितिको जानकारी लिन सकिन्छ।
कोशमा उल्लेख भएको एक श्रुतिअनुसार सीताजीको वनवासकाल यहींको जंगलमा बितेकाले यसलाई पहिले सीतावन भनिन्थ्यो र पछि रूपान्तरण भएर चितवन नाम रहेको हो। छिन्नमस्ता मन्दिरको नाम यस्तो हुनुका पनि अनेकन् जनश्रुति छन्। प्रचलित किंवदन्तीअनुसार भगवती छिन्नमस्ताले लामो समयसम्म कुनै पनि बलि नपाएपछि दक्षिणकाली, सिंहवाहिनीको टाउको काटी रगत पिएकी र आफ्नै शिर छेदन गरेकी थिइन्।
कतिपय इतिहासविद्ले दिल्लीका सुल्तान गयाशुद्धिनले विस १३८२ ताका सिम्रौनगढमा आक्रमण गरी भेटेजति सबै मन्दिर, पीठ, देवदेवीका मूर्ति तोडफोड गरेको र यसै क्रममा छिन्नमस्ता देवीको शिर काटेर लगेको टिप्पणी पनि गरेका छन्। छिन्नमस्ता देवीलाई बलि चढाइएको पशुको रगतको दाग न त लुगामा लाग्छ, न त रगतमा झिँगा बसेको नै देख्न सकिन्छ भन्ने विश्वास छ।
ललितपुरको गोदावरीलाई पनि यस्तै अर्को एक उदाहरणका रूपमा लिन सकिन्छ। श्रुतिअनुसार गौतम ऋषिले तपस्या गरिरहेका बेला एउटा दैत्य उनको तप भङ्ग गर्न गाईको रूप धारण गरी आएछ। त्यस गाईको वध गर्दा लागेको गोहत्याको पापबाट मुक्त हुन स्नान गरेको कुण्ड हुनाले त्यसको नाम गोदावरी रहेछ। यस्ता कथनले नामको भेद खोल्नाका साथै सम्बन्धित स्थानको पौराणिक र सांस्कृतिक पक्ष उजागर गर्छ।
स्थाननामकोशमा सम्पादकले कैयन् अनुश्रुतिहरू पेश गरेर यसलाई अनुश्रुतिहरूकै सङ्ग्रह पनि भन्न मिल्ने बनाउनुभएको छ। उल्लेखनीय कुरा के पनि छ भने कृष्णप्रकाश श्रेष्ठ नेपाली अनुश्रुति तथा किंवदन्तीहरूका ज्ञाता हुनुहुन्थ्यो। यस विषयमा उहाँको एक मौलिक कृति ‘नेपाली किंवदन्ती माला’ २०६३ सालमा प्रकाशित भएको थियो।
कतिपय स्थाननामको अर्थभाषिक विश्लेषणले मात्र खुलाउन सक्दैन, त्यसको ऐतिहासिक व्याख्या आवश्यक पर्छ। स्थाननाम कुन ऐतिहासिक कालमा दिइएको हो र त्यसको पृष्ठभूमि के हो भनेर खोतल्नुपर्ने हुन्छ। यस प्रयोजनका लागि कोशमा किरातकालीन, लिच्छविकालीन, मल्लकालीन, शाहकालीन र आधुनिक चरणका स्थाननामहरूको चर्चा गरिएको छ। लिच्छविकालीन स्थाननामहरू अभिलेख र शिलापत्रहरूमा पाइए पनि प्रचलनमा भने एकदमै न्यून छ।
मल्लकालीन नामहरू काठमाडौं उपत्यकामा प्रशस्त पाइन्छन्। ज्याठा (ज्यासल भएको टोल), झोछें (लहरै घर भएको टोल), ते बहाः (ठुलो विहार भएको टोल) आदि मल्लकालीन स्थाननामका उदाहरण हुन्। स्थाननामको उत्पत्ति कुनै ऐतिहासिक घटनाको सन्दर्भले पनि अथ्र्याउन सकिन्छ।
उदाहरणको लागि राणाकालमा लिम्बुवान् प्रदेशका जम्मा १७ थुम (इलाका) बाट १३ वटा थुमको जग्गाको तिरो उठाउन अलग्गै मालअड्डा खडा गरिएकाले त्यस जिल्लाको नाम तेह्रथुम रहन गयो। त्यस्तै आठौं शताब्दीमा भारतबाट आएका बज्रयानका महागुरु आचार्य नागार्जुनपाद स्वयम्भूसित जोडिएको जामाच्च डाँडोमा बसेकाले त्यो पूरै पहाडको नाउँ नागार्जुन रह्यो।
जनजातिको पहिचान जोडिएर बनेका स्थाननामहरूलाई कोशमा नृवंशात्मक स्थाननामका प्रकारमा राखिएको छ। यसअन्तर्गत खस जातिको वासस्थानलाई खसान, किरात जातिको पल्लो किरात र मझ किरात, थारू जातिको थरुहटजस्ता नाम प्रचलित छन्। कर्णाली प्रदेशमा कुनै जात या कुलको नाममा राखिएका स्थाननाम पनि भेटिन्छन्, जस्तो ‘बाहुन बाडो’, ‘सार्की बाडो’, ‘बिटालु बाडो’ (जातच्युत भएकाहरू बस्ने ठाउँ) आदि।
नेपाल राष्ट्र निर्माणको सिलसिलामा कतिपय स्थान किल्ला जनाउने शब्द गढी र कोटसँग जोडिएर बनेका थिए, जस्तो सिन्धुली गढी, चिसापानी गढी, धनगढी, नुवाकोट, जाजरकोट र तिब्रीकोट। फारसी भाषामा सहर जनाउने शब्द गन्जबाट नेपालका केही सहरी बस्तीहरूको नाम वीरगन्ज, नेपालगन्ज, महाराजगन्ज बनेको छ।
सोही अर्थको संस्कृतको नगरबाट पनि विराटनगर, सिद्धार्थनगर, कृष्णनगरजस्ता नाम बनेका छन्। यसबाहेक कोशमा मातातीर्थ, जनकपुरधाम, मुक्तिनाथजस्ता धार्मिक स्थाननामहरूको वर्णन गरिएको छ। कतिपय नयाँ नामहरू स्मृतिबोधक छन्, जस्तो दशरथ चन्द, वीरेन्द्रनगर, लेखनाथ, अरनिको राजमार्ग तर सम्पादकको धारणाअनुसार केही नयाँ नामले स्थान विशेषको स्थितिको राम्रो अभिव्यक्ति गर्न सकेका छैनन्।
अन्य शब्दकोशहरू जस्तै स्थाननामकोश पनि समयानुसार अद्यावधिक तथा परिमार्जन गरिरहनु आवश्यक हुन्छ। नेपाली भाषामा यस्तो प्रकारको यो पहिलो कोश हुनाले पनि यसको सुधारका लागि गर्नुपर्ने थप कार्यको राम्रै सूची बन्न सक्छ। आजको गतिशील समाजमा नयाँनयाँ बस्तीहरू, धार्मिक, सांस्कृतिक र पर्यटकीय स्तम्भ र गन्तव्यहरू बनिरहेका छन्। ती स्थानहरूले आआफ्नो नाम र नामकरणका रोचक सन्दर्भहरू अर्थात् ऐतिहासिक पृष्ठभूमि तयार गरिरहेका हुन्छन्।
कृष्णप्रकाश श्रेष्ठले आजीवन विदेशमा बसेर पनि नेपालका भिरपहाड, खोलानाला, मठमन्दिर र गाउँबस्तीहरूको नाम संकलन गरी तीनको भाषिक, ऐतिहासिक, सांस्कृतिक रूपरेखासहितको स्थाननामकोश तयार पारेर जानुभएको छ। उहाँले बसालेको जगमा उभिएर नयाँ पुस्ताका विद्वान्हरूले यस पुनित कार्यको निरन्तरता दिन सके नेपाली भाषा र संस्कृतिको विकासमा उहाँले लगाउनुभएको गुनको उचित सम्मान हुने थियो।
प्रकाशित: १६ चैत्र २०८१ ११:०६ शनिबार