१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २२:४५ अपराह्न
समाज

सञ्चार नीति बनाउँदै कोहलपुर नगरपालिका

कोहलपुर नगरपालिकाले सञ्चार नीति बनाउन थालेको छ । नेपालको संविधान (२०७२) ले सुनिश्चित गरेको सूचना तथा सञ्चारको हकका साथै प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी मान्यतामा आधारित रही नगरले उक्त नीति बनाउन थालेको हो ।

सूचना तथा सञ्चार प्रविधिको प्रयोग, निरन्तर विकास एवम् गतिशीलताबाट उपयुक्त अवसरसँगै नीतिगत चुनौतीहरू पनि सिर्जना भइरहेकाले यसलाई थप व्यवस्थित र दिगोपनाका लागि सञ्चार नीति निर्माण गर्न थालिएको नगरपालिकाले जनाएको छ । समकालीन सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएको गतिशीलता एवम् निरन्तर निकासद्वारा सिर्जित नीतिगत चुनौती सम्बोधन गर्न यो सञ्चार नीति निर्माण गरिने कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए ।

पछिल्लो समय जिल्लामा रहेका सञ्चार माध्यम आर्थिक रूपमा धराशायी बन्दै गएको र व्यावसायिक पत्रकारितासमेत धरापमा रहेकाले अब सञ्चार क्षेत्रलाई बचाउन पनि हरेक स्थानीय तहले बलियो सञ्चार नीति बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

सूचना तथा सञ्चार प्रविधिलाई सबैको दिगो, फराकिलो र समावेशी आर्थिक सामाजिक विकास गर्ने र सूचना तथा सञ्चार प्रविधिलाई सबैको पहुँच र क्रयशक्तियोग्य बनाउन यसले सहयोग गर्ने अपेक्षा गरिएको छ । आफ्नो ठाउँको सञ्चार क्षेत्र बलियो भयो भने हरेक स्थानीय तह र समाजमा सुशासन कायम हुन सक्ने उनी बताउँछन् ।

सञ्चार नीति निर्माणका लागि नगरले नेपाल पत्रकार महासङ्घ बाँके शाखाका अध्यक्ष नवीन गिरी संयोजक, कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रियास्मृति ढकाल सदस्य र कोहलपुर नगरपालिकाका रोजगार संयोजक आशिष बर्मा सदस्य सचिव रहने गरी तीन सदस्यीय मस्यौदा समितिसमेत गठन गरेको छ । समितिलाई सञ्चार नीतिका लागि सम्बन्धित सरोकारवालाहरूसँग छलफल र आवश्यक राय सुझाव संकलन गरी मस्यौदाको ड्राफ्ट आगामी कार्यपालिकामा पेस गर्ने गरी जिम्मेवारी प्रदान गरिएको छ ।

सञ्चार नीति निर्माण भएपछि यहाँको सञ्चार माध्यमको व्यवस्थितसँगै उनीहरूको प्रवर्द्धन हुने संयोजक गिरीले बताए । ‘स्थानीय तहले सञ्चार नीति निर्माण गरेपछि यहाँका सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन पाउने छन् । जसले उनीहरूको आर्थिक प्रवर्द्धनमा टेवा पु¥याउने छ,’ उनले भने, ‘योसँगै स्थानीय तहले सञ्चार माध्यम सञ्चालन र स्वीकृति दिन सक्ने छ ।’ योसँगै स्थानीय तह र सञ्चार माध्यमबिच साझेदारीमा थप टेवा पुग्ने उनको विश्वास छ । यो नीति निर्माण गर्दा मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, विभिन्न जातजाति, धर्म, सम्प्रदायबिचको सु–सम्बन्धमा खलल नपुग्ने र विश्वव्यापी मानवअधिकारका मान्यता प्रतिकूल नहुने कुरामा ध्यान दिइने उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घ बाँकेले जिल्लाका सबै पालिकालाई सञ्चार नीति बनाउन आग्रह गरेको थियो । योसँगै महासङ्घले स्थानीय विज्ञापन, स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन पनि बैठकबाटै निर्णय गरेको थियो । जिल्ला सदरमुकामसमेत रहेको नेपालगन्ज उपमहानगरपालिकाले यसभन्दा अघि नै सञ्चार नीति बनाएर कार्यान्वयनमा ल्याएको छ । कोहलपुर निर्माणको प्रक्रियामा छ भने खजुरा गाउँपालिकाले बनाउने प्रतिबद्धता व्यक्त गरेको नेपाल पत्रकार महासङ्घ बाँकेले जनाएको छ ।

प्रकाशित: १४ चैत्र २०८१ १८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App