२० चैत्र २०८१ बुधबार
image/svg+xml १४:४७ अपराह्न
समाज

कर्णाली : चार वर्षमा ६ हजार बढी आपराधिक घटना

कर्णाली प्रदेशमा बर्सेनि आपराधिक घटनामा वृद्धि हुँदै गइरहेको देखाइएको छ। कर्णाली प्रदेश प्रहरीको तथ्यांकअनुसार पछिल्लो चार वर्षमा आपराधिक संख्या बर्सेनि बढ्दै गएको पुष्टि गर्छ। पछिल्लो समय प्रविधिको विकाससँगै अपराधको स्वरूप पनि बदलिएको देखिन्छ। चार वर्षको अन्तरालमा कर्णाली प्रदेशभर ६ हजार तीन सय ८० अपराधका घटना प्रहरीमा दर्ता भएका छन्।  

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीभर एक हजार पाँच सय ४० आपराधिक घटना भएका छन्। आव २०७९/८० मा एक हजार सात सय ५७ अपराधका घटना दर्ता भएका छन्। यस्तै आर्थिक वर्ष २०८०/८१ मा दुई हजार २० घटना हुँदा चालु आवको माघ मसान्तसम्म एक हजार ७८ अपराधका घटना भएको प्रहरी तथ्यांक छ। पछिल्लो चार वर्षको अवधिमा आत्महत्यासम्बन्धी घटना धेरै हुने गरेको पाइएको छ। कर्णाली प्रदेशअन्तर्गतका १० जिल्लामा एक हजार एक सय ९२ वटा आत्महत्याका घटना भएका छन्, जसमध्ये जुम्लामा ३३ वटा आत्महत्यासम्बन्धी अपराधका घटना दर्ता भएका छन्।
  
सबैभन्दा बढी सुर्खेतमा तीन सय ९३ र सबैभन्दा कम डोल्पामा पाँचवटा घटना भएको देखिन्छ। यस्तै दैलेखमा दुई सय ६४, रुकुम पश्चिममा एक सय चार, सल्यानमा एक सय ७१, जाजरकोटमा ८०, हुम्लामा १४, मुगुमा ७६ र कालीकोटमा ५२ वटा आत्महत्याका घटना भएका छन्। आत्महत्याअन्तर्गत विष सेवन, आगो लगाएर, झुन्डिएर, एसिड सेवन, हातहतियार औजारबाट र पानीमा हाम फालेर वा डुबेर आत्महत्याका घटना भएका हुन्। सबैभन्दा धेरै झुन्डिएर नौ सय चारवटा आत्महत्याका घटना भएका छन्।  

प्रहरी तथ्यांकअनुसार कर्णालीमा सामाजिक अपराधका घटना बढ्दो क्रममा रहेको छ। तथ्यांकअनुसार प्रदेशका १० जिल्लामा पछिल्लो चार वर्षको अवधिमा आठ सय तीनवटा सामाजिक अपराधका घटना भएका छन्। पछिल्लो आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा एक सय २३ वटा सामाजिक अपराधका घटना भएका छन्। 

यस्तै आर्थिक वर्ष २०८०/८१ मा दुई सय ६६, आव २०७९/८० मा एक सय ९१ र आव २०७८/७९ मा दुई सय २६ वटा सामाजिक अपराधका घटना भएका थिए। चार वर्षमा सामाजिक अपराधका घटना सबैभन्दा धेरै सुर्खेतमा तीन सय ३३ र सबैभन्दा कम हुम्लामा नौवटा भएका छन्। सामाजिक अपराधअन्तर्गत धर्म परिवर्तन, राज्यविरुद्धको अपराध, जातीय भेदभाव तथा छुवाछूत, आवश्यक वस्तु संरक्षण ऐन, कुटपिट अंगभंग, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरलगायतका छन्।

कर्णाली प्रदेशभर चार वर्षमा ६ सय १३ वटा संगठित तथा आर्थिक अपराधका घटना भएका छन्। आव २०७८/७९ मा एक सय ४४ वटा संगठित तथा आर्थिक अपराधका घटना भएका थिए। यस्तै २०७९/८० मा एक सय ७१ वटा, आर्थिक वर्ष २०८०/८१ मा एक सय ६६ वटा संगठित तथा आर्थिक अपराध भएका थिए। आव २०८१/८२ को माघ महिनासम्म एक सय ३२ वटा संगठित तथा आर्थिक अपराध भएका छन्। प्रहरीमा उपलब्ध तथ्यांक हेर्दा संगठित तथा आर्थिक अपराधमा लागुऔषध कारोबारका घटना सबैभन्दा धेरै देखिन्छ।  

कर्णाली प्रदेश प्रहरीका प्रवक्ता शिवकुमार श्रेष्ठ कर्णालीमा आत्महत्या, लागुऔषध ओसारपसार, जबर्जस्ती करणी, बैंकिङ कसुरका घटना बढी हुने गरेको बताउँछन्। पैसा छिटो कमाउने उद्देश्यले जानेर वा नजानेर अपराधका घटना हुने प्रवक्ता श्रेष्ठको भनाइ छ। पछिल्लो चार वर्षमा तीन सय ९१ जना लागुऔषध कारोबारमा संलग्न भएको पाइएको छ। आव २०८१/०८२ मा ७६ जना, आव २०८०/०८१ मा एक सय दुई, आव २०७९/०८० मा एक सय १३ र आव २०७८/०७९ मा ९५ जना लागुऔषध कारोबारको आरोपमा संलग्न भएका थिए।  

जुवा खेल्न वा सट्टेबाजी, मुद्रासम्बन्धी कसुर, ठगी, लागुऔषध, कालोबजार, चन्दा संकलन, सरकारी छाप/दस्तखत किर्ते, अपहरण वा शरीर बन्धकसम्बन्धी कसुर, हातहतियार खरखजानासम्बन्धी मुद्दालाई प्रहरीले संगठित तथा आर्थिक अपराध उल्लेख गरेको छ। कर्णालीमा घरको भित्ता फोडेर गरिने चोरीका घटना बढ्दै गएको छ। पछिल्ला चार वर्षको अवधिमा दुई सय ६४ चोरीका घटना भएको प्रहरी तथ्यांक छ, जसमा एक सय ६२ साधारण चोरी, ५३ डाँका चोरी, ३७ नकबजनी चोरी, नौ सवारी चोरी, एक पुरातात्विक चोरी र दुई चौपाया चोरीका घटना प्रहरीमा दर्ता भएका छन्।  

यस्तै मानव बेचबिखन ओसारपसारका १७, दुई सय ४४ बहुविवाह, ३२ बालविवाह, ६ सय ५७ जबर्जस्ती करणी, एक सय ४७ जबर्जस्ती करणी उद्योग, चार अप्राकृतिक मैथुन, २९ बालयौन दुराचार, नौ यौन दुव्र्यवहार, चार बोक्सीको आरोप र तीन बालहिंसाका मुद्दा प्रहरीमा दर्ता भएका छन्। चार वर्षको अवधिमा ६ सय पाँचवटा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएका छन्। कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगका तीन सय ५६ वटा उजुरी परेको प्रहरी तथ्यांक छ। कर्णालीमा सवारी दुर्घटनाका घटना पनि बढेका छन्। चार वर्षमा प्रदेशभर दुई सय ३७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् भने सवारी दुर्घटनाबाट एक सय १६ जना अंगभंग भएका छन्।

प्रकाशित: १४ चैत्र २०८१ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App