१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

‘लिफ्ट’ गरेर खानेपानी ल्याइने

 बागलुङ - बागलुङ नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउन ‘लिफ्ट’ प्रणालीको आयोजना बन्ने भएको छ।

स्थानीय काठेखोलाको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर बजार क्षेत्रमा ल्याउन लागिएको हो। कूल रु ३२ करोड २५ लाखमा बन्ने सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार भइसकेको छ । सहलगानीको आयोजनामा सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत योगदान रहनेछ।

दुई वर्षभित्रै आयोजनाको काम सक्ने गरी तयारी अघि बढाइएको छ । आउँदो साता आयोजना निर्माणका लागि बोलपत्र आह्वान हुने बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए। ‘टेण्डर’ प्रक्रिया सक्नेबित्तिकै आयोजना निर्माण शुरु हुनेछ । काठेखोलाको पानीलाई ‘लिफ्ट’ प्रणालीबाट तानेर बागलुङ नगरपालिका–३ रात्माटामा पुर्‍याइने उनले बताए।

काठेखोलादेखि ७०० मिटर माथि रात्माटामा बन्ने पाँच लाख लिटर क्षमताको ट्याङ्कीबाट खानेपानी वितरण हुनेछ । कैलामपोखरीमा बन्ने प्रशोधन एकाइमा शुद्धीकरण भएको खानेपानी उक्त ट्याङ्कीमा जम्मा हुनेछ। आयोजनाबाट ६० हजार उपभोक्ता लाभान्वित हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख शेखरचन्द्र केसीले बताए। “आगामी २० वर्षसम्म सफा र स्वच्छ खानेपानी उपलब्ध हुन्छ”, उनले भने।

आयोजनाले नगरपालिकाका वडा नं १, २, ३ र ४ का उपभोक्तालाई चौबिसै घण्टा खानेपानीको सुविधा दिने लक्ष्य लिएको छ । बजार क्षेत्रबाहेकका गहते, बोक्से, सुल्डाँडा, रातमाटालगायत थप ९०० घरधुरीलाई खानेपानी उपलब्ध हुनेछ। हाल सञ्चालित आयोजनाबाट बजार क्षेत्रका तीन हजार २०० घुरधुरीले मात्र खानेपानीको सुविधा पाएका छन्।

पुरानो आयोजनालाई पनि व्यवस्थित गरिने संस्थाका कार्यालय प्रमुख हिमाल शर्माले बताए। डिभिजन कार्यालय र उपभोक्ता संस्था दुवैले संयुक्त रुपमा आयोजना निर्माणको अनुगमन गर्नेछन्। बागलुङ नगरपालिकामा २० वर्ष पुरानो आयोजनाका साथै केही वर्षअघि शुरु भएको दोस्रो साना शहरी खानेपानी आयोजना पनि सञ्चालित छ । पुरानो आयोजनाले बढ्दो मागलाई धान्न नसकेपछि ‘लिफ्ट’ प्रणालीको आयोजना निर्माण गर्न लागिएको हो।रासस

 

प्रकाशित: ११ वैशाख २०७५ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App