१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

६०१ हप्ता सफाइ गर्दा पनि बागमतीको अवस्था उस्तै

फाइल।

राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान छ सय एक हप्ता प्रवेश गरेपनि काठमाडौं उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन।

विसं २०७० जेठ ५ गते सुरु भएको बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर बागमती किनारमा सफाइ हुँदै आएको छ। जति सफाइ गरे पनि बागमती सफा नदेखिएपछि ‘हिँड्दै छ, पाइला मेट्दै छ’ भनेर पनि कतिले यो महाअभियानलाई व्यङ्ग्य गर्ने गरेका छन्।

सुरुवाती चरणदेखि महाअभियानमा जुटेका अभियानकर्मी किशोरसिंह शाही ढलको व्यवस्था नगरी सिधै फोहर पानी नदीमा हाल्दा जति सफाइ गरे पनि बागमती सफा देखिन नसकेको बताउँछन्।

बागमतीको मुहानदेखिकै स्थानीय सरकारले माथिल्लो भेगबाटै आउने फोहर अझै व्यवस्थापन गर्न नसक्नु, पशुपति क्षेत्रको आर्यघाटबाट निस्कने फोहरलाई अझै पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन नगर्नु र फोहर पानी प्रशोधन केन्द्रले राम्रोसँग काम नगर्नुजस्ता कारणले अझै बागमती सफाइ हुन नसकेको उनको निष्कर्ष छ।

महाअभियान नागरिकस्तरबाट सुरु गरी जागरण गर्दा पनि स्थानीय सरकारले फोहर व्यवस्थापनमा चासो नदेखाउँदा प्रभावकारी सफाइ हुन सकेको छैन।

सफाइ अभियानकर्मी चक्रबहादुर चन्द १२ वर्षअघिको अवस्थाबाट बागमतीमा सफाइको अवस्थामा सुधार गर्न सकिए पनि आशातीत काम भने हुन नसकेको बताउँछन्।

ढलमुक्त गराउन भने सरकारले नसकेको उनले स्वीकार गरे। अधिकार सम्पन्न बागमती समितिले एक वर्षमा गुह्येश्वरीसम्म ढलमुक्त गर्ने प्रतिबद्धता जनाएको बताए।

समितिले गुह्येश्वरीसम्मका छ ठाउँमा ढल मिसिइरहेकामा तीन ठाउँमा बन्द गराइसकेको जनाइएको छ। बागमती सफाइ महाअभियानको छ सय एक हप्ताको आजको सफाइ काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा गरिएको थियो।

बागमती सफाइ अभियानकर्मीको समूहले गरेको सफाइसँगै आज त्यस क्षेत्रका बागमती किनारमा रोपिएका बोट बिरुवा गोड्मेल पनि गरिएको थियो। बागमती नदीबाट नकुहिने फोहर पनि व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८१ १९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App