२० चैत्र २०८१ बुधबार
image/svg+xml १:४१ पूर्वाह्न
समाज

सालिन पोखरेल मृत्यु प्रकरणका आरोपीले पाए ‘सफाइ’

रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलकी छात्रा सालिन पोखरेलको रहस्यमय मृत्युसम्बन्धी मुद्दामा अदालतले तीन अभियुक्तलाई सफाइ दिएको छ।

आत्महत्या दुरुत्साहनको अभियोगमा पेश भएको मुद्दामा जिल्ला अदालत चितवनले दाबी नपुग्ने ठहर गर्दै सोमबार फैसला सुनाएको हो। न्यायाधीश ध्रुवकुमार ढकालको इजलासबाट सुनाइएको उक्त फैसलापछि विद्यालयका प्रिन्सिपलसहित तीनजना मुक्त भएका छन्।

२०८० फागुन १२ गते बिहान १४ वर्षीया सालिन पोखरेल स्कुल होस्टलको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानपछि मृतकका आफन्तले ज्यानसम्बन्धी कसुरमा उजुरी दिए पनि जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्या दुरुत्साहनको अभियोगमा २०८० चैत ४ गते तीन जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो।

सरकारी वकिल कार्यालयले पेस गरेको अभियोगमा अदालतले प्रमाण अपर्याप्त ठहर गरेसँगै अभियुक्तहरू निर्दोष ठहरिएका हुन्। अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार आत्महत्या दुरुत्साहन पुष्टि हुने पर्याप्त प्रमाण पेश हुन नसकेकाले मुद्दा खारेज गरिएको हो।

पोष्टमार्टम रिपोर्टले मृतकमाथि कुनै किसिमको यौन दुर्व्यवहार नभएको पुष्टि गरेको थियो। घटनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका थिए।

मुद्दामा विद्यालयका प्रिन्सिपल बालहरी देवकोटा (६०), भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी (४०) र होस्टल वार्डेन कमल शर्मा पौडेल (४८) प्रतिवादी बनाइएको थियो। उनीहरूमध्ये एक जना भाइस प्रिन्सिपल र अर्का वार्डेन हुन्।

प्रकाशित: ११ चैत्र २०८१ २०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App