४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

जलस्रोत व्यवस्थापनमा सूचना प्रणाली

सन्दर्भ: विश्व जल दिवस

जलस्रोत नेपालको अमूल्य प्राकृतिक स्रोत हो, जसको उपयोग र विकासले राष्ट्रको आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रको वृद्धि र विस्तारमा अतुलनीय भूमिका खेलेको छ। जलस्रोतसम्बन्धी विभिन्न क्षेत्र जस्तै खानेपानी, सिँचाइ, जलविद्युत्को विकास तथा व्यवस्थापन विभिन्न निकाय तथा निजी क्षेत्रबाट भइरहँदा जलस्रोतको अवस्था, उपयोग तथा विकासको एकीकृत तथ्यांक विकास गर्न चुनौती रहेको छ।

प्राकृतिक प्रणालीका हिसाबले जलस्रोत, कृषि आदि क्षेत्रको नियमित अवस्था मापन गरी विभिन्न तथ्याङ्क सङ्कलन भइरहेका छन् भने यी स्रोतहरूको उपयोगसँग सम्बन्धित विकास योजना सञ्चालन हुँदा आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रका अवयवहरूमा प्रत्यक्ष प्रभाव पार्ने सूचना तथा तथ्याङ्क उत्पन्न भइरहेका हुन्छन्। यस लेखमा नेपालको जलस्रोत क्षेत्रको दिगो विकास र जलस्रोतको प्रभावकारी व्यवस्थापनमा जलस्रोत व्यवस्थापन सूचना प्रणालीको आवश्यकता, महत्त्व, वर्तमान अवस्था र भावी कार्यदिशाबारे चर्चा गर्ने प्रयास गरिएको छ।

विश्वव्यापी सन्दर्भ

विश्वव्यापी रूपमा डिजिटल प्रविधि तथा उपकरण, जिआइएस तथा रिमोट सेन्सिङ, सेन्सर, आर्टिफिसियल इन्टिलिजेन्स, इन्टरनेट अफ थिंस, कम्प्युटर प्रणालीसम्बन्धी प्रविधिको क्षेत्रमा हासिल भएको अविश्वसनीय प्रगतिले जलस्रोत मापन, जलस्रोत प्रणालीका विभिन्न अवयवबारे सूचना र तथ्याङ्क प्राप्ति, विश्लेषण र प्रसार अहिले इतिहासमै सहज, पहुँचयोग्य र भरपर्दो बनाएको छ। यसैको व्यापक उपयोगले सूचना प्रणालीको विकास, मौसमसम्बन्धी जानकारी, जलजन्य प्रकोप नियन्त्रण, जलस्रोतको उपयोग, विकास र व्यवस्थापनका लागि उल्लेखनीय योगदान पु¥याएको छ।

विभिन्न मुलुकमा भूमिगत तथा सतह जल, वर्षा, तापक्रम, पानीको क्षेत्रगत उपयोगको लेखा आदि सम्बन्धि स्थिर तथ्याङ्क सयौं वर्षअघिदेखि मापन तथा कागजी रूपमा अभिलेखीकरण भएका छन् भने प्रविधिमा पहुँच बढेसँगै ती तथ्याङ्क डिजिटलाइज हुँदै गएका छन्। अमेरिकाको नेसनल ओसियनिक तथा एटमस्फेरिक एडमिनिस्ट्रेसनले तथ्याङ्क सङ्कलन गर्न थालेको दुई शताब्दी बितिसकेको छ। साथै अन्तरिक्ष विज्ञानमा अमेरिका, युरोप, जापानलगायत राष्ट्रले हासिल गरेका विकासले कतिपय प्रत्यक्ष मापन र प्राप्ति गर्न नसकिने किसिमका पृथ्वीको जल, मौसम, जमिन, कृषि, प्रकोप आदि सम्बन्धी सूचना र तथ्याङ्क भूउपग्रहमार्फत दैनिक (अझ घण्टा–घण्टामा) निरन्तर सङ्कलन र आममानिसमा खुला पहुँच बनाइदिएको छ। यसले जलस्रोत तथा सम्बन्धित वातावरणीय सूचना प्रणालीको व्यापक विकासमा उल्लेखनीय प्रगति भएको छ।

जल प्रणाली, बाढी जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जलस्रोत उपयोगको समस्या तुरुन्तै समाधान गर्न स्थिर सूचना तथा तथ्याङ्क पर्याप्त नहुने व्यावहारिक अनुभव र प्रविधिको उपलब्धताले गर्दा स्थिरभन्दा गतिशील तथा रियल–टाइम मापन/अनुगमनको आवश्यकता महसुस हुँदै गयो। जसको परिणामस्वरूप मौसम, बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रणाली, सिँचाइ, खानेपानी, जलविद्युत्मा पानी उपयोगको अवस्थाबारे जानकारी लिई आममानिसमा प्रसार गर्ने प्रणालीहरू विकसित भए।

हाम्रो छिमेकी राष्ट्र भारतमै जल संसाधन, नदी विकास तथा गंगा कायाकल्प विभागअन्तर्गत राष्ट्रिय जल सूचना केन्द्रको स्थापना भएको छ। जसअन्तर्गत विभिन्न जलस्रोत सूचना प्रणाली तथा निर्णय समर्थन प्रणालीको (डिसिजन सपोर्ट सिस्टम) विकास भई प्रयोगमा रहेको छ। यी प्रणालीले जलस्रोतको मापन र उपयोगको तथ्याङ्क सङ्कलनमा मात्रै नभई जलस्रोत उपयोग तथा जनसांख्यिक, कृषि क्षेत्रमा प्रभाव, प्रकोप विश्लेषण, आयोजना व्यवस्थापन, ज्ञान केन्द्र आदि क्षेत्रमा योगदान पुर्‍याइरहेको छन्।

पछिल्लो समय सिँचाइ, जलविद्युत्, बाढी नियन्त्रण, वर्षा मापन प्रणालीजस्ता जलस्रोत र पानी व्यवस्थापन पूर्वाधारहरूको वास्तविक–समय डिजिटल प्रतिनिधित्व गर्ने डिजिटल ट्विन प्रविधिको विकासले गति लिएको छ।

चीनले पानी प्रशासन र संरक्षणका लागि डिजिटल ट्विन प्रविधिको विकासमा व्यापक लगानी गरिरहेको छ, जसअन्तर्गत याङजी नदी बेसिनका लागि मात्र ८२ मिलियन अमेरिकी डलर बराबर लगानी सुनिश्चित गरेको छ। डिजिटल ट्विन र डिजिटल रूपान्तरणले जलस्रोत क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ, जसले कुशल पानी व्यवस्थापन, प्रभावकारी सेवा वितरण र दिगोपनमा वृद्धि हुनेछ।

नेपालमा जलस्रोत व्यवस्थापन सूचना प्रणालीको अवस्था

तथ्याङ्कको उत्पादन, भण्डारण, प्रशोधन, नीति निर्माण र कार्यान्वयनमा उपयोग, स्रोत व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित तथ्याङ्क ऐन, २०७९ लागु छ। जलस्रोतको क्षेत्रमा नीतिगत रूपमा राष्ट्रिय जलस्रोत नीति २०७७ ले ‘जलस्रोत क्षेत्रको संरक्षण, विकास, व्यवस्थापन र नियमन गर्दा अध्ययन, अनुसन्धान, तथ्य एवं प्रमाणको आधारमा गर्ने व्यवस्थालाई संस्थागत गर्ने’ उद्देश्य लिएको छ भने ‘जलस्रोतको क्षेत्रमा अध्ययन, अनुसन्धानको विस्तार गरिनुका साथै उपलब्ध ज्ञान तथा तथ्याङ्कको अभिलेखीकरण, विश्लेषण तथा प्रयोग अभिवृद्धि गरिनेछ’ भनी रणनीति तय गरेको छ।

राष्ट्रिय जलस्रोत रणनीति, २००२ ले निर्दिष्ट गरेको १० मध्ये एउटा उपलब्धि परिष्कृत जल सूचना प्रणाली लागु भएको हुनेछ भन्ने रहेको छ। एकीकृत जलस्रोत व्यवस्थापन तथा नदी बेसिन योजनाको प्रमुख पूर्वआवश्यकता भनेको कार्यात्मक निर्णय समर्थन प्रणाली हो भनी राष्ट्रिय जल योजना, २००५ ले निर्धारण गरेको छ। यस रणनीति र योजना लागु भएको दुई दशक बितिसक्दासमेत अझै जलस्रोतसम्बन्धी एकीकृत सूचना प्रणाली र तथ्याङ्क व्यवस्थापन शिशु अवस्थामै छ भन्दा फरक नपर्ला।

जलस्रोत, नदीनाला, खानेपानी, सिँचाइ, जलविद्युत्, कृषिसम्बन्धी सूचना र तथ्याङ्कमा अझै पनि एकरूपता छैन। धेरै जसो अध्ययन तथा विश्लेषणमा अझै पनि विश्व बैंकलगायत विश्वव्यापी अनलाइन स्रोतबाट तथ्याङ्क खोजेर प्रयोग गरेको पाइन्छ। तथ्याङ्क मापनको निश्चित मापदण्ड, रूपरेखा र प्रविधिको अभाव, विश्वसनीय तथा आधिकारिक तथ्याङ्कको अभाव र सहज उपलब्धताको कमी यसका प्रमुख कारण हुन्।

जलस्रोतसम्बन्धी तथ्याङ्ककै अभावले कतिपय महत्त्वपूर्ण विषयवस्तुसम्बन्धी हाम्रो ज्ञान र बुझाइको दायरा साँघुरिएको छ भने अध्ययन–अनुसन्धान पनि हुन सकेको छैन। भएका तथ्याङ्कहरू पनि व्यवस्थित रूपमा व्यवस्थापन सूचना प्रणालीको विकास गरी सहज उपलब्ध हुने व्यवस्था गर्न सकिएको छैन। साथै नीतिगत प्राथमिकतामा यस्ता विषयहरूको उठान भए तापनि बजेट तथा कार्यक्रममा समाविष्ट हुन सकेको छैन। यसले जलस्रोतको क्षेत्रमा हुने अध्ययन–अनुसन्धानहरू प्रभावित हुने गरेको छ।

उदाहरणका लागि नेपालका नदीको बहाब र त्यसले ल्याउने गेग्रानबिचको सम्बन्धमा नगण्य अनुसन्धान भएका छन्। यसले खोलाको धार परिवर्तन, बाढीको प्रकृति, सिँचाइ र जलविद्युत्मा यसको प्रभाव, ढुंगा, गिट्टी बालुवाको उत्खनन योग्य परिमाण आदि कार्य वैज्ञानिक र व्यवस्थित बनाउन चुनौती कायमै रहेको छ।

जल तथा मौसम विज्ञान विभागबाट मापन तथा प्रसार हुने वर्षा, बाढी पूर्वानुमान, नदी बहाब आदिको तथ्याङ्क जलस्रोतको विकास प्रक्रियाका लागि प्रमुख आवश्यकता हो तर यही नै जलस्रोतको अन्तिम तथ्याङ्क हो भन्ने आमबुझाइ गलत छ। जलस्रोत आयोजना विकास भएपश्चात् सञ्चालनको क्रममा उत्पादन हुने तथ्याङ्कले समग्र आयोजनाको प्रतिफल, उपलब्धि र प्रभाव मूल्याङ्कन गर्न मद्दत गर्छ।

उदाहरणका लागि सिँचाइ आयोजना विकासबाट पानी वितरणको दैनिक सूचना, मौसमी सिञ्चित क्षेत्रफल, कृषि बाली र उत्पादन, मर्मत सम्भार, सञ्चालन खर्च आदि विवरणले आयोजनाको कमीकमजोरी सच्याउँदै प्रभावकारिता बढाउन मात्र मद्दत गर्दैन, भावी आयोजना छनौट र प्रणाली सञ्चालनको आधार तय गर्न सहयोग गर्न सक्छ।

पानीको उपलब्धताको तथ्याङ्क, क्षेत्रगत उपयोगको लेखा तथा मूल्याङ्कनको अवस्था कमजोर रहेकाले जलस्रोतको विकास, व्यवस्थापन र त्यसले पारेको आर्थिक–सामाजिक प्रभाव (जस्तै बसाइँसराइ, कृषि क्षेत्रफलको सङ्कुचन, कृषि उत्पादकत्व, जलवायु परिवर्तनको असर आदि) विश्लेषणमा तथा जलस्रोतको विकासमा क्षेत्रगत सन्तुलन कायम गर्ने चुनौती थपिएको छ।

सरकारी निकायबाट खानेपानी तथा ढल व्यवस्थापन विभाग, जलस्रोत तथा सिँचाइ बिभाग, जल तथा मौसम विज्ञान विभाग, कृषि विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका केही शाखाले कार्यक्षेत्र सम्बन्धित व्यवस्थापन सूचना प्रणालीको विकास र अद्यावधिक गरी सञ्चालन गरिरहेको अवस्था छ भने इसिमोडले भूउपग्रहीय तथा फिल्ड मापनका तथ्याङ्क साथै स्मार्टफोन फर वाटरजस्ता संस्थाले स्थानीय नागरिक तथा विद्यार्थीहरूमार्फत वर्षा, नदी बहाब, जल गुणस्तरसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने गरेका छन्।

जलस्रोत विकास र व्यवस्थापनमा सूचना प्रणालीको आवश्यकता

जलस्रोत प्रणालीले वातावरणीय, सामाजिक र आर्थिक प्रणालीका विभिन्न पाटा र सरोकारवालासँग जटिल अन्तरसम्बन्ध बनाएको हुन्छ र यस प्रणालीमा बहुविधाका जनशक्ति सामेल भएका हुन्छन्। जलस्रोत प्रणालीको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न संयन्त्र, प्रविधि र उपकरणहरूमार्फत यो अन्तरसम्बन्धलाई संस्थागत गर्न आवश्यक छ।

कुनै पनि जलस्रोत उपयोग र संरक्षणसम्बन्धी प्रणालीभित्र अन्तरसम्बन्धित सामाजिक, प्राविधिक, राजनीतिक, आर्थिक र संस्थागत सूचना एवं तथ्याङ्क निरन्तर उत्पादन हुन्छन्, जसलाई उचित रूपमा अभिलेखीकरण र डिजिटलाइज गर्नु अहिलेको प्रमुख आवश्यकता हो।

प्रभावकारी जलस्रोत व्यवस्थापनका लागि विभिन्न आवश्यकतामध्ये सूचना/तथ्याङ्क व्यवस्थापनलाई एक प्रमुख आवश्यकताका रूपमा लिइन्छ, जुन समग्र जलस्रोत क्षेत्रको संस्थागत विकास प्रक्रियाको अभिन्न अंग पनि हो।

जलस्रोतसम्बन्धी सूचना र तथ्याङ्कको उचित व्यवस्थापनले प्रणालीको कार्यसम्पादन, दक्षता र प्रभावकारिता सुधार गर्न मात्र मद्दत गर्दैन, यसले परियोजना प्रभावकारिताको मूल्याङ्कन, नयाँ परियोजनाको योजना तर्जुमा, सान्दर्भिक नीति निर्माण, परियोजनाको प्रगति मापन, अनुसन्धान र विकासको विश्लेषण गर्न पनि योगदान पुर्‍याउँछ।

नेपालमा जलस्रोत क्षेत्रले ठुलो मात्रामा प्राविधिक, सामाजिक–आर्थिक, कृषि, वातावरणीय र संस्थागत सूचना, तथ्याङ्क र डेटाबेस उत्पादन गरिरहेको छ, जुन समयसँगै निरन्तर विस्तार हुँदै गइरहेको छ। तसर्थ, यति ठुलो मात्रामा निरन्तर उत्पादन भइरहने सूचना/तथ्याङ्क अभिलेखीकरण र डिजिटलाइजेसनका लागि सान्दर्भिक र बलियो जलस्रोत व्यवस्थापन सूचना प्रणाली स्थापना गर्न आवश्यक छ।

जलस्रोत व्यवस्थापन सूचना प्रणालीको विकास र प्रभावकारी उपयोगले संस्थागत पारदर्शिता र जवाफदेहिता तथ्यमा आधारित नीति निर्माण, अनुकूलनीय शासन र अन्तरनिकाय तथा सरोकारवालाहरूबिच समन्वय कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

आवधिक योजनाले निर्दिष्ट गरेका आर्थिक–सामाजिक लक्ष्य प्रगतिको अवस्था र तिनको प्रभाव मूल्याङ्कन गर्न जलस्रोतको क्षेत्रगत सूचना तथा तथ्याङ्कलाई एकीकृत गर्ने कार्यमा राष्ट्रिय जल तथा आयोगले अग्रसरता लिनु जरुरी छ। प्रस्तावित जलस्रोत विधेयकले समेत जल तथा ऊर्जा आयोगलाई जलस्रोतको केन्द्रीय निकायका रूपमा परिकल्पना गरी पानीको विवरण तयार गर्ने र त्यसको उपयोगको सहमति प्रदान गर्ने अधिकार प्रस्तावित गरेको छ।

भावी कार्यदिशा

जलस्रोत क्षेत्रमा उत्पादित सूचना/तथ्याङ्क सङ्कलन, मापन तथा प्रसारको प्रक्रियामा विश्वसनीयता, गुणस्तरीयता, सहज पहुँच र एकरूपता कायम गर्न कस्तो ढाँचा, प्रविधि र संस्थागत संरचना स्थापना गर्ने भन्ने निर्क्याेल गर्न जरुरी छ। यस कार्यमा तीनै तहका सरकारबिच समन्वय गराई जल तथा ऊर्जा आयोगले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ।

राष्ट्रिय विकास प्रयासमा सङ्कलित तथ्याङ्कलाई कसरी जोड्ने, अर्थपूर्ण विश्लेषणमार्फत नीति तर्जुमा र कार्यान्वयनमा कसरी उपयोग गर्ने, परियोजनाको प्रभावकारिता अभिवृद्धि गर्न विश्लेषणको नतिजालाई कसरी व्यवहारमा कार्यान्वयन गर्ने भन्ने आगामी दिनको चुनौती रहनेछन्।

जलस्रोत विकास र व्यवस्थापनमा लामो समय र ठुलो लगानी गरिरहेको अवस्थामा त्यस लगानीको प्रतिफल प्रभावकारी बनाउन विभागीय स्तरमा प्राविधिक, सामाजिक, तथ्याङ्क तथा अर्थशास्त्रसम्बन्धी कर्मचारीसहित समर्पित व्यवस्थापन सूचना प्रणाली शाखा स्थापना गरी विशिष्ट जनशक्ति विकास र समयसापेक्ष आधुनिक सिप विकास र क्षमता अभिवृद्धिमा विशेष प्राथमिकता दिन जरुरी छ।

राष्ट्रिय जलस्रोत नीति, २०७७ को जलस्रोतको संरक्षण, सम्वर्धन र बहुउपयोगी विकास र दिगो उपयोगमार्फत आर्थिक–सामाजिक रूपान्तरण गर्ने दीर्घकालीन सोचलाई वास्तविकतामा परिणत गर्न सूचना, तथ्याङ्क र डेटाको सङ्कलन, प्रभावकारी व्यवस्थापन र विश्लेषण अपरिहार्य छ।

सूचना प्रणाली विकास गरेर त्यसमा सरोकारवालाहरूलाई पहुँच नदिने हो र सम्बन्धित निकायले आवधिक रूपमा विश्लेषण गरी भने यसको सार्थक उपयोग हुन सक्दैन। हामीले योजनाबद्ध रूपमा संकलन, विश्लेषण र व्यवस्थापन गर्ने सूचना/तथ्याङ्क केवल हाम्रो पुस्ताको दीर्घकालीन हितका लागि मात्र नभई भावी पुस्ताको जलस्रोतसँगको सम्बन्ध, ज्ञान र यस महत्त्वपूर्ण स्रोतको दिगोपनाको आधारका रूपमा रहने छ।

– बराल जल तथा ऊर्जा आयोगका सहसचिव, कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेशका सिनियर डिभिजनल इन्जिनियर र आचार्य जलस्रोत तथा सिँचाइ विभागकी सिनियर डिभिजनल इन्जिनियर हुन्।

प्रकाशित: ९ चैत्र २०८१ ०९:४५ शनिबार

# Nagarik # invaluable natural resources # water source