गत बुधबार सामाजिक सञ्जाल फेसबूकमा धना परियारले लेखिन्- 'अनुहार हेरेर भोट दिने समय हो रे यो। मैले फरक अनुहार बोकेर तपाईंहरूसँग मुकाबिला गर्ने हिम्मत गरेकी छु, साथ दिनुहोस् है!'
धनाले आसन्न चैत ५ गतेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको सन्दर्भमा यो लाइन लेखेकी थिइन्। यो लाइनले पङ्क्तिकारलाई छोयो र इन्बक्स गर्यो- 'धनाजी, तपाईंको छोटो स्टाटसले कस्तो छोयो हौ, थप कुरा लेखिपठाउनुस् न बरु।'
धनाले तत्काल आफू एक कार्यक्रममा रहेको र साँझ पठाउने जानकारी गराइन्। मैले जवाफमा हुन्छ भनेँ। साँझ टर्यो, ढिलागरी पठाएकामा क्षमा-याचना गर्दै धनाले थप कुराहरू लेखिपठाइन्। त्यसबाट यो सामग्री थप अगाडि बढेको छ।
यो पङ्क्तिकार दैलेखकी धनाको जीवनका उतारचढावबारे धेरथोर जानकार छ। प्रत्यक्ष भेटघाट भएको छैन तर, परोक्ष चिनजान पनि अहिलेको होइन। केही साल बितेका छन्। धना र म फेसबूकमा निकै पहिलेदेखि साथी छौँ। उनका पोस्टहरू देखिरहन्छु, पढिरहन्छु। ती समाज र समयसापेक्ष लाग्छन्। उनका सामाजिक तथा राजनीतिक चेतहरू सन्तुलित लाग्छन्।
यी सबैको सुरुवात धनाले अहिले होइन, निकै साल पहिले गरेकी हुन्। मेरो आग्रहमा उनले लेखिपठाएकी छन्, '२०७७ सालमा चौकुने गाउँपालिका वडा नं. १ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालयले गरेको अनियमितता, बेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाइ त्यहाँका विद्यार्थीहरूलाई नि:शुल्क शिक्षाको लागि पहल गरेकी थिएँ।'
अहिले धना काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्यनरत छिन्। नानीमै लागेको बानी, अहिले पनि उनी निरन्तर सामाजिक कार्यमा छिन्। उनले लेखिपठाएकी छन्, 'सामाजिक कार्यमा निरन्तर छु। महिनावारी सचेतना कार्यक्रम ०७७ सालदेखि अहिलेसम्म निरन्तर नै छ। अपाङ्गता भएका विद्यार्थी तथा व्यक्तिहरूको समतासहितको अधिकारको मुद्दामा मेरो बहस र विद्रोह जारी नै छ।'
जातीय, लैङ्गिक तथा वर्गीय रूपमा हुने विभेदका विरुद्ध उनको एक 'सिग्नेचर' सङ्कल्प छ। जुन कुरा उनले लेखिपठाएकी पनि छन्- 'कि मृत्यु, कि मुक्ति'।
कास, स्ववियु निर्वाचनमा उम्मेदवारसम्म बन्ने प्रेरणा धनालाई यिनै सिग्नेचर सङ्कल्पले दिएको हो। अहिलेका लागि उनी रत्न राज्यलक्ष्मी क्याम्पसमा प्रत्यक्ष सदस्यको उम्मेदवार हुन्। जित्छिन् वा पराजित हुन्छिन्, त्यो एउटा सामान्य प्रक्रिया हो, सन्दर्भ हो। तर, यति भन्नै मन लाग्यो, धनाले जित्दा जातीय, लैङ्गिक र वर्गीय रूपमा हुने विभेद थोरै मात्रै भए पनि मुक्तितिर कसो नलम्किएला, हगि ?
धना शारीरिक रूपमा आम मान्छेभन्दा फरक छिन्। सानैमा जलन खेप्नुपरेको उनलाई जिन्दगीका अरु खाले 'जलन'हरूले छुँदैन पनि। मैले कुनै सन्दर्भमा पढेको हुँ, आफू 'फरक अनुहार'को हुनुकै परिणाम; बुवासँग उनको त्यति राम्रो बोलचाल पनि छैन। खैर, यो बढ्दा पारिवारिक हुनसक्छ। तर, यसले त्यो पनि बताउँछ कि धनाहरू कुन धरातलमा उभिएर सामाजिक, लैङ्गिक तथा वर्गीय समानताका लागि सरिक हुँदैछन्।
जहाँसम्म स्ववियु निर्वाचन र त्यहाँ धनाको उम्मेदवारीको प्रसङ्ग छ। यो निकै गजब कुरा छ। राजनीति र तिनका सञ्चालकका प्रति खासगरी आम युवामा अविश्वास बढिरहँदा त्यहाँ धनाहरूको सहभागिताभन्दा सुन्दर के हुँदो हो ? यो पनि भनिहालौँ, धनाहरू 'फरक अनुहार'का मात्रै होइनन्, फरक साहसका, फरक जोशका, फरक जाँगरका, फरक मस्तिष्कका र फरक भविष्यका हुन्। फेरि यहाँ अनुहार र कर्मको मिल्ती कहाँ छ ? कहिले थियो र कहिले हुनेछ ?
एक हिसाबले भन्दा स्ववियु नेताहरूको राजनीतिक यात्राको 'फाउन्डेसन' हो। अझ धनाहरूझैँ उच्च राजनीतिक चेत राख्ने युवाका लागि त यो त्योभन्दा बढी हो। यसर्थ, धनाहरू यहाँ हुनुले एउटा फरक स्थितिको प्रतिनिधित्व गर्दछ।
यहाँ मैले धनाको छोटो स्टाटसले छोएपछि यति लेखेँ। ठूलो वा लामो कुरा छैनन्, आफूलाई लागेको कुरा लेखेँ। अहिलेलाई उनका फेसबूक स्टाटसले छोयो। भविष्यमा उनका जितहरूले, उनले गरेका परिवर्तनहरूले, उनले लडिरहेको लडाइँहरूले छोलान्। थप कुर त्यतिबेलै लेखौँला।
मैले केही लेखिपठाउनुस् भनेर गरेको आग्रहको पछिल्तिर धनाले लेखेकी छन्- 'मैले धेरै केही सोच्नै सकिनँ, बुदाँमा यति नै पठाएँ, बाँकी तपाईंको जिम्मामा छाडेँ।'
म पनि तपाईंहरू (पाठक) लाई त्यही भन्छु- केही सोच्नै सकिनँ, बाँकी तपाईंहरूको जिम्मामा छाडेँ। तर, यतिचाहिँ दोहोर्न मन लाग्यो- धनाहरू फरक अनुहार मात्रै होइनन्, फरकका पनि फरक हुन्।
प्रकाशित: १ चैत्र २०८१ २१:३२ शुक्रबार