१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

सर्वोच्चद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज

सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने विरूद्धको रिट खारेज गरेको छ।

वीरगञ्जका छुट्टाछुटै पाँच घरधनी निवेदकले वीरगञ्जको मेनरोड खण्डमा सडकको दायाँबायाँ २५–२५ मिटरको विस्तार गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

वीरगञ्ज महानगरका लक्ष्मण साह रौनियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर २०७६ सालमा सडक विस्तार रोक्नुपर्ने माग राख्दै रिट दायर गरेका थिए। अन्य निवेदकहरूले पनि फरक–फरक मितिमा सडक विस्तार विरूद्धमा रिट दायर गरेका थिए।

सर्वोच्चका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलाशले बुधबार रिट निवेदकहरूको पाँच वटै रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौंडालाई वीरगञ्जको मेनरोड खण्डको सडक दायाँबायाँ २५–२५ मिटर चौडा गर्ने बाटो खुलेको छ। सो रिट हालेसँगै सडक विस्तारको काम रोकिँदै आइरहेको थियो।

त्रिभुवन राजपथ अन्तर्गतपर्ने गण्डकचोकदेखि पावर हाउसचोक, घण्टाघरचोकदेखि–आर्दशनगर, रजतजयन्तीचोक, शङ्कराचार्यगेट हुदैँ मितेरी पुलसम्मको मुख्य सडक विस्तारको काम मुद्दासँगै रोकिएको थियो।

यो मुद्दाको रिट २८औँ पटक मङ्गलबार पेसी तोकिएको थियो। मङ्गलबार सो मुद्दा सम्बन्धित रिट हेर्न नभ्याएपछि बुधबारको लागि हेर्दाहेर्दैमा राखिएको थियो।

प्रकाशित: २८ फाल्गुन २०८१ १९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App