कफी माथिको ‘लाट्टे आर्ट’ प्रतियोगिताको पाँचौ संस्करण चितवनमा सुरु भएको छ । कफी ओ क्लक र हिमालयन चियाको आयोजनामा चितवनमा बुधबारदेखि ‘लाट्टे आर्ट’ प्रतियोगिता सुरु भएको हो ।
भोली (बिहीबार)सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले गरे । कफीको प्रवर्द्धन गर्ने उद्देश्यले ‘लाट्टे आर्ट’ प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक सुदिप थापाले जानकारी दिए । कफीमाथि दूधले बनाइएको कलालाई ‘लाट्टे आर्ट’ भन्ने गरिन्छ ।
प्रतियोगितामा दमक, इटहरी, धरान, काठमाडौँ, कावासोती, बुटवल, हेटौँडा, पोखरा र चितवनबाट ४६ जना प्रतियोगी सहभागी रहेको थापाले जानकारी दिए । पहिलो चरणमा सहभागी ४६ जनाबाट छानिएका २१ जनालाई सेमिफाइनलमा प्रतिस्पर्धा गराई नौ जनालाई फाइनल प्रतिस्पर्धामा लगिने थापाले बताए । फाइनलमा पुग्ने नौ जनामध्ये उत्कृष्ट ६ जनाले पुरस्कार पाउने छन् । पहिलो हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौँ हुनेले १० हजार र छ्रटौँ हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिताको साझेदारमा नेपाल कफी व्यवसायी महासङ्घ तथा मुख्य प्रायोजकमा माउन्टेन जाभा र ग्लोरिया रहेका छन् । कार्यक्रममा किसान, व्यवसायी तथा कफीसँग आबद्ध सरकारी कार्यालयका कर्मचारीहरूको समेत सहभागिता रहेको छ । कफीलाई हेर्दा नै आकर्षित र राम्रो बनाउन सक्ने हो भने मानिसहरूको आक्रषर्ण बढ्ने थापाले बताए । उनका अनुसार पछिल्लो समय कफी खाने युवा बढ्दो अवस्थामा रहेको उनले बताए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका अनुसार नेपालमा ५ सय १ मेक्ट्रीक टन कफी उत्पादन हुन्छ । तर, नेपालमा खपत भने २ हजार २ सय मेक्ट्रिक टन रहेको कफी विकास बोर्डकी निमित्त क्षेत्रीय निर्देशक पवित्रा अधिकारीले जानकारी दिइन् । नेपालमा उत्पादन भएको ८९ मेक्ट्रिक टन विदेश समेत निर्यात हुने गरेको छ ।
तर, निर्यातभन्दा अवैधानिक तवरले आयात हुने कफीको मात्रा बढी रहेको उनको भनाई छ । नेपाल भन्सार कार्यालयको तथ्याङ्क अनुसार नेपालमा ४४३ मेक्ट्रिक टन कफी आयात हुन्छ ।
नेपालमा कफी खेतीको क्षेत्रफल बढे पनि उत्पादकत्व समेत घट्दै गएको अधिकारीले जानकारी दिइन् । नेपालमा ४ हजार ३०९ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ ।
नयाँ मानिसहरू विदेश पलायन भएका कारण क्षेत्रफल बढे पनि उत्पादन बढ्न नसकेको उनको भनाई छ ।‘गाउँमा काम गर्ने मान्छे छैनन् । रुखहरू पुराना हुँदै गएपछि उत्पादन कम हुने भयो,’ उनले भनिन् ‘क्षेत्रफल थपिँदा पुराना रुख पनि जोडिन आउने भएकाले क्षेत्रफल बढेको देखिएको हो ।’
प्रकाशित: २८ फाल्गुन २०८१ १७:१० बुधबार