चितवनमा थकाली समुदायले बुधबारदेखि तोरन्ल (फागु पूर्णिमा) पर्व मनाउने भएका छन्।
थकाली सेवा समिति चितवनले भरतपुरमा तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी तोरन्ल पर्व हर्षोल्लासका साथ मनाउन लागेका हुन्।
थकाली समुदायले नयाँ वर्षको रुपमा तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्दछन्। आफ्नो थाकथलो म्याग्दी भएपनि बसाइसराइ गरेर आएका चितवनका थकाली समुदायले सेवा समिति गठन गरेर यहाँमा २०४५ सालदेखि सामूहिक रुपमा तोरन्ल पर्व मनाउन थालेका हो।

यस वर्षको अवसरमा भरतपुर महानगरपालिका-८ स्थित बाइसबिघामा रहेका थकाली सेवा समितिको परिसरमा विभिन्न खेलहरूको समेत आयोजना गरिएको समितिकी अध्यक्ष कमला गौचनले बताइन्।
उनका अनुसार, यस वर्षमा पुरुषहरू धनुष (तिर) र महिलाहरू नागा भोटे खेल खेल्ने गर्दछन्। यी दुवै खेलका लागि आवश्यक तयारी पुरा गरिएको उनले बताइन्।

तोरन्लमा थकाली समुदायले घर सिँगार पटार गरेका छन्। तोरन्ल पर्व फागु पूर्णिमाको दिनलाई बिच पारेर तीन दिनसम्म मनाउने चलन रहेको उनले बताइन्।
यस पर्वको दिन बिहान सबेरै उठेर पूजापाठ गर्ने चलन रहेको थकाली सेवा समिति चितवनका सल्लाहकार ओमप्रकाश गौचन बताउँछन्।

‘घरको कन्या वा महिला बिहानै तीन बजे उठेर पितृलाई पुकार गरेर (सम्झेर) पूजाआजा गर्दछन्।,’ उनले भने ‘ छोरी ज्वाइँ भान्जी तथा आफन्तहरूलाई बोलाएर मीठा-मीठा परिकार खुवाउने र तिर हान्ने खेल्ने चलन छ।’
थकाली समुदायले यस दिन घरमै बनाएको छ्याङ –(लोकल रक्सी) समेत खाने प्रचलन रहेको उनले सुनाए। थकाली समुदायले फागु पूर्णिमा रङ्गहरू लगाउँदैनथे। आजभोलि भने अन्य समुदायको प्रभावका कारण लगाउन थालिएको उनले बताए।
मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ। तर, मुस्ताङबाट थकाली समुदायहरू बसाइसराई गरेर देशका विभिन्न सहर तथा विदेशमा गएको उनले बताए।
उनका अनुसार, थकालीहरू व्यापार तथा उद्योग सञ्चालनका लागि चितवन झरेका हुन्। २०३० साल तिर चितवनमा ८ घरपरिवार झरेका थिए। अहिले उनीहरु बढेर ३९ घर पुगेका छन्।
यहाँबाट पनि अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका देशमा बसाइसराई गर्नेको संख्या बढ्दो रहेको उनले बताए। चितवनमा रहेका थकाली समुदायहरू होटल, उद्योग, किराना पसल तथा ठेक्कापट्टामा सक्रिय रहेका छन्।

तोरन्ल पर्वको अवसरमा चितवनमा हरेक तीन वर्षमा अन्तर थकाली धनुष (तिर) गोल्ड कप समेत हुने गर्दछ।
प्रकाशित: २७ फाल्गुन २०८१ १८:१६ मंगलबार