जुम्लाको गुठिचौर गाउँपालिका–१ डिल्लीकोट गाउँमा वातावरण संरक्षण तथा जंगल बचाउनका लागि एक घर एक ग्यास चुल्हो उपलब्ध गराइएको छ। वडा नम्बर १ ले सबैको घरमा ग्यास सिलिन्डर र चुल्हो उपलब्ध गराएर वातावरण संरक्षणसँगै जंगल बचाउने अभियान थालेको हो। गाउँमै ग्यास चुल्होमा खाना पकाउन पाउने भएपछि स्थानीयवासी दङ्ग छन्।
स्थानीय लालकोसा कामीले धुवाँरहित वडा बनाउनका लागि ठूलो सहयोग पुगेको बताउँछिन्। ‘वर्षौंदेखि धुवाँले आँखा पिरो हुँदासम्म खाना पकाउन बाध्य थियौँ,’ उनले भनिन्, ‘अहिले ग्यास चुल्होमा खाना पकाउन पाउँदा खुसी छौँ।’ गुठिचौर गाउँपालिका–१ डिल्लीकोट गाउँका ५० घरमा ग्यास चुल्हो वितरण गरिएको छ। उक्त गाउँमा दलित बस्ती मात्रै छ।
दलित परिवारलाई लक्षित गरी वातावरण संरक्षण कार्यक्रमअन्तर्गत ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको वडा अध्यक्ष अर्जुनकुमार महताराले बताए। आर्थिक रूपमा पछाडि परेका दलित समुदायलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको उनले बताए। दाउराको प्रयोगले वातावरणमा असर पार्ने भएकाले वातावरण संरक्षणका लागि वडाले विपन्न र आर्थिक अवस्था कमजोर भएका दलित परिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको उनले बताए। दाउराको खपत घट्ने भएकाले वन फँडानी हुनबाट जोगिने स्थानीय हैता कामीको विश्वास छ।
मानव स्वास्थ्यमा प्रतिकूल असरबाट बचाउन ग्यास चुल्हो प्रयोग गर्न वडा अध्यक्ष महताराले स्थानीयवासीलाई आग्रह गरे। गुठिचौर गाउँपालिका–१ का ५० दलित घरपरिवारले ग्यास चुल्हो पाएका छन्। वडा नम्बर १ कार्यालयले ५ लाख मूल्य बराबरको ग्यास चुल्हो वितरण गरेको थियो। निरन्तर रूपमा भइरहेको वनको विनाशलाई रोक्न र वातावरण संरक्षणमा सहयोग पुग्ने अर्का स्थानीय चन्द्र सार्कीले बताए। उनले भने, ‘निःशुल्क एउटा ग्यास चुल्हो र भरिएको ग्यास सिलिन्डर पाएपछि गाउँलेहरू हर्षित भएका छन्।’
यता, गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी) ले यो कार्य अनुकरणीय भएको बताइन्। यसले वातावरण संरक्षणमा टेवा पुग्ने उनले बताइन्। उनले भनिन्, ‘वडा सरकारले वातावरण संरक्षण गर्ने कार्यक्रम निकै उपयोगी छ। अन्य वडाले पनि सिक्नुपर्ने जरुरत छ। भान्सामा खाना पकाउने महिला दिदीबहिनीहरूका लागि यो स्वास्थ्यका दृष्टिकोणले उपयुक्त हुनेछ।’







प्रकाशित: २५ फाल्गुन २०८१ २१:१३ आइतबार