१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २३:४० अपराह्न
समाज

लुम्बिनीमा ५ सय जनाको प्रवज्या सुरु

बुद्ध जन्मस्थल लुम्बिनीमा ५ सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रवज्या कार्यक्रम सुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरूबाट पहेँलो चीवर प्रदान गरी श्रामणेर प्रवज्यामा सहभागी गराइएको हो ।

अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरूको सह–आयोजनामा मंगलबार कुलपुत्र प्रबज्या (अल्पकालीन भिक्षु) गराइएको हो । संघनायक बोधीसेन महास्थविर, अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष महास्थविर धम्म शोभन, थाई धम्मदुतका फरा उपाझ्याए पभना सहित बौद्ध धर्म गुरुहरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका हुन्  ।

प्रवज्या समारोहलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउँदै थाइल्यान्ड सहकार्य गर्न सधैँ तयार रहेको बताए । उनले शान्तिका लागि बुद्धको शिक्षा उपयोगी रहेको बताए । प्रव्रज्या समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई छोटो अवधिका लागि भएपनि व्यवहारमा लागू गर्ने कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । उनले बुद्ध दर्शन समुदाय, व्यक्ति विशेष नभई मानव जीवनका लागि भएकाले यसलाई जीवनमा लागू गर्न खोज्ने कार्यमा सहभागी भएकोमा बधाई समेत दिए ।

उपाध्यक्ष डा. लामाले बुद्ध दर्शन मानव दर्शन भएको बताउँदै प्रवज्यामा रहेकाहरूले जीवनको महत्त्वपूर्ण इतिहासमा रेकर्ड गराउन सफल भएको बताए । यसै गरी अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु निग्रोधले बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई व्यवहारमा लागू गराउनका लागि भिक्षु, लामा, गुरुहरूको आवश्यकता पर्ने बताउँदै त्यसैका लागि प्रबज्या कार्यक्रम राखिएको बताए । उनले बुद्ध जन्मभूमि लुम्बिनीमा भएको ५ सय जनाको प्रवज्याले बुद्धको उपदेशलाई विश्वभर फैलाउन समेत सहयोग गर्ने बताए । अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ ।

सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले आगामी चैत ३ गतेसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरू पालना गर्नुपर्ने हुन्छ । फागुन १४ गतेदेखि सुरु भएको प्रवज्यामा फागुन १६ गते ललितपुर स्थित अक्षेश्वर महाविहारमा केश मुन्डन गरेका थिए । मंगलबार पहेँलो चीवर लगाउन योग्य भएका श्रामणेरहरुले आफूहरूले पहेँलो चिवरण ग्रहण गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् । चिवर प्राप्त गरेका १ हजार २५० जनालाई पञ्चशील, अष्टशील र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराइने आयोजकले जनाएका छन् ।

लुम्बिनीमा गरिएको अल्पकालीन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्ध धर्मको प्रचारमा सहयोग पुग्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना, सन् २०२३ मा ५ र सन् २०२४ मा १२५० जनालाई प्रव्रज्या गराइएको थियो । प्रबज्या कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य,  कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्रचार्य, राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथ लगायतको उपस्थिति थियो । प्रव्रज्या सामाजिक नेपालको व्यवस्थापनमा भएको कार्यक्रम अन्तर्गत विहिबार भिक्षाटन, फागुन २४ गते लुम्बिनी उद्यानमा दीप प्रज्वलन, चैत ३ गते प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित: २० फाल्गुन २०८१ १८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App