पाथीभरा केवलकार विवादका क्रममा शनिबार फुङलिङ बजार स्थित वीरेन्द्र चोकमा भएको झडपमा परी ११ जना घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये आठ जना सुरक्षाकर्मी र तीन जना आन्दोलनरत पक्षका सदस्य रहेका छन्। घाइतेहरूको ताप्लेजुङ जिल्ला अस्पताल र तामोर अस्पतालमामा उपचार जारी छ।
उनीहरूको अवस्था सामान्य रहेको बुझिएको छ। शनिबार साँझ ‘नो केवलकार’ अभियानका समर्थकहरूले मसाल जुलुससहित नाराबाजी गरिरहेका बेला सुरक्षाकर्मीले राँको नियन्त्रणमा लिन खोजेपछि दोहोरो झडप भएको थियो।
वीरेन्द्रचोकमा पुगेका आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू र सुरक्षाकर्मीबिच भएको धक्कामुक्की चर्कँदै गएपछि झडप उग्र बनेको हो।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शनकारीहरूले प्रहरीमाथि बलिरहेको राँको र लाठी प्रहार गर्नुका साथै सर्वसाधारणका घरमा समेत राँको फ्याँक्ने अमानवीय व्यवहार गरेका थिए।
हेर्नुहोस् भिडियो
प्रकाशित: १० फाल्गुन २०८१ २३:०१ शनिबार