२० चैत्र २०८१ बुधबार
image/svg+xml ०:९ पूर्वाह्न
समाज

पोखरा बेलुन विष्फोट प्रकरण: कार्यक्रमलाई तामझाम बनाउने शैलीले निम्त्याएको घटना

<br>

२०७५ असार १ गते, पोखराको मध्य सहर हुँदै बगेको फिर्के खोलामा पैदल मार्ग उद्घाटनको तयारी थियो। तत्कालिन पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उक्त पैदलमार्ग उद्घाटन गर्दै थिए। मेयर जिसी आफैले डोजर चलाएर पैदलमार्ग बिस्तारको थालनी गर्ने तयारी थियो।  

त्यही तयारी अनुसार मेयर जिसी डोजर चालकको सिटमा बसे। छेउमा अपरेटर पनि राखे। तर, मेयर जिसीले अन्जानबस डोजरको लिभर दबाउँदा डोजरको बकेट रेलिङमा ठोक्किन पुग्यो र रेलिङ नै भत्कियो। मेयरले डोजर चलाएर पैदलमार्ग उद्घाटन गर्दै गरेको तस्बिर कैद गर्नका लागि पुलको रेलिङमा अडेस लगाई बसेका पत्रकार त्यही रेलिङ सहित तल खसे।  

उद्घाटनको तस्बिर खिच्न लाग्दै गर्दा डोजरको बकेटको ठक्करले रेलिङ भत्किएको उक्त घटनामा पोखराक दुईजना पत्रकारसहित ५ जना झन्डै २० मिटर तल खोलामा खसेर घाइते भएका थिए। पत्रकारद्वय रञ्जन अधिकारी र सन्देश श्रेष्ठ उक्त घटनामा सामान्य घाईते भएका थिए।  

मेयर जिसीका कारण निम्तेको उक्त घटनाका कारण कार्यक्रम नै प्रभावित भएको थियो भने उद्घाटन शैलीको त्यो बेला निकै नै आलोचना पनि भयो। काम कुरो एकातिर छाडेर आफुलाई जानकारी नै नभएको विषयमा अघि सर्दा घटना हुन पुगेको भन्दै त्यो बेला मेयर जिसीले चर्काे आलोचना खेप्नुपरेको थियो।  

पोखरा महानगरमै गत शनिबार अर्काे घटना घट्यो। शनिबारको घटना पनि पोखरा महानगरपालिकासँगै जोडिएको छ। सन् २०२५ मा पोखरामा आन्तरिक र बाह्य गरि २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणाको तालिका थियो। कार्यक्रममा प्रमुख अतिथि थिए अर्थमन्त्री विष्णु पौडेल। नयाँबजारस्थित प्रदर्शनकी केन्द्रमा कार्यक्रमको उद्घाटनको तयारी चल्दै थियो।

भ्रमण वर्ष उद्घाटन क्रममा हाईड्रोजन ग्यास भरिएका बेलुनको झूप्पो उडाउने तयारी थियो। उक्त झुप्पोमा ब्यानर झुन्डाएर पोखरा भ्रमण वर्षको लोगो अनावरण गर्ने तयारी थियो। उक्त क्रममा प्रमुख अतिथिसँगै कार्यक्रम आयोजक पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि मञ्चको अघिल्तिर आइसकेका थिए। उद्घाटनको अन्तिम तयारी गर्दैगर्दा छेउमा फायर क्यान्डिल बालेर झिल्का उठिसकेका थिए। तर, ती झिल्काको ख्याल नगरि प्रमुख अतिथिलाई बेलुनको झुप्पो दिँदै गर्दा झिल्कासँगै ठोक्किएपछि ठूलो आवाजमा बेलुन पड्किन पुगे। आगोको लप्कोले अर्थमन्त्री पौडेललाई भेटेपछि पौडेल मञ्चतिर दौडिए भने मेयर आचार्य विपरित दिशामा हाम फाले। तर, आगोको झिल्कोले अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई डामिछाड्यो।  

दुर्घटनापछि मन्त्री पौडेल र मेयर आचार्यको पोखरामा प्राथमिक उपचार भयो। उनीहरुलाई त्यही दिन हेलिकप्टरबाट काठमाडौं लगेर उपचार भईरहेको छ। दुवैको स्वाथ्यमा सुधार भईरहेको अस्पतालले बताइरहेको छ। घटनापछि छानविनका लागि गृहमन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानविन समिति पनि गठन गरिएको छ। १५ दिनभित्र छानविन प्रतिवेदन बुझाएपछि उक्त घटनाको कारण पत्तो लाग्नेछ।  

तर, उक्त घटनापछि पोखरा र सामाजिक सञ्जालमा एउटा बहस भने निकै नै उब्जेको छ। त्यो बहस हो, औपचारिक कार्यक्रमलाई तामझामपूर्ण बनाउने, उद्घाटनका लागि फरक शैली अपनाउने, सुरक्षा प्रति संवेदनशील नहुने लगायतका विषयले सामाजिक सञ्जाल तातेको छ।  

त्यत्तिमात्र नभई औपचारिक कार्यक्रममा प्रमुख अतिथिका लागि भनेर लामो समय कुर्ने, पालैपालो आसनग्रहण गराउने, बेलैमा कार्यक्रममा सहभागि भएका अरु पाहुनालाई पट्यार हुनेगरि प्रमुख अतिथिलाई कुर्ने, सुन्ने श्रोता नभएपनि लम्बेतान भाषण गर्ने, आफु अनुकुलका व्यक्ति प्रमुख अतिथि बन्न नपाए कार्यक्रम नै असफल भएको टिप्पणी गर्ने, नेतालाई प्रभाव पार्न भारी माला लगाउने लगायतका गतिविधिले औपचारिक कार्यक्रम नै प्रभावहीन हुने गरेको बहस पोखरामा घटेका घटनापछि सुरु भएका छन्।  

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक डा. उमानाथ बराल भन्छन्, ‘यो तामझाम अनावश्यक हो। हाम्रोमा देवावटी बढी भएकोले यो अवस्था आएको हो।’ जनताप्रति उत्तरदायि हुनुपर्ने व्यक्ति नेताप्रति उत्तरदायि हुँदा यस्ता गतिविधि बढ्ने उनले बताए। महत्वपूर्ण विषयबस्तुलाई ओझेलमा पारेर देखावटि रुपमा अघि बढ्न खोज्दा पोखरामा घटेजस्ता घटनाक्रम बढ्ने उनले बताए।

‘पोखरा महानगरले पर्यटक भित्र्याउने योजनालाई जोडतोडका साथ अघि सानुपर्नेमा उद्घाटनलाई तामझाम बनाउन खोजेको पुष्टि हुन्छ। त्यसमा पनि हेलचेक्रयाँइ भएको हो,’ उनले भने, ‘नीति निर्माताले त्यस्ता विषयमा सोच्नुपर्नेमा हुन सकेन।’

बरालमा बुझाइमा अन्तर्राष्ट्रियस्तरका गतिविधिमा विज्ञ मात्रै वक्ताको रुपमा रहन्छ, तर, नेपालमा सबैजना विज्ञ बन्ने गरेका छन्। ‘हाम्रोमा सबैलाई ठूलो मान्छे बन्नुपर्छ। कार्यक्रम लामो समय गर्ने, आफुबाहेक अरु कोही बोल्न जान्दैनन भनेर अरुलाई नजरअन्दाज गर्ने चलन बढी छ,’ बरालले भने, ‘देखावटि रुपमा कार्यक्रमलाई भव्य बनाउन खोज्दा समस्या निम्तिने गरेको छ। प्रजातन्त्रले नेपालमा राम्रो प्रणालिको विकास त गरेको छ । तर, राजनीतिक संस्कार नहुँदा समस्या भएको छ। यसले समाजलाई बाँडेको छ।’  

राजनीतिक दलका गतिविधिले गर्दा समाज नै बाडिएको छ। ‘राजनीति पनि पेशाको रुपमा आएको छ। सेवाको रुपमा आउनपर्ने हो। विज्ञता देखाउनुपर्ने हो, नेताहरुले त्यो देखाउन सकेनन । तामझाम देखाउनुपर्ने अवस्थाले यस्ता घटना थपिएका छन,’ बरालले भने।  

नागरिक समाजका अगुवा बिष्णु बराल पनि ढोंगी समाजमा काम भन्दा पनि देखावटीका लागि यस्ता गतिविधि हुने गरेको बताउँछन। ‘जनताको काम पटक्कै नगर्ने तर, जनतालाई प्रभावित पार्नका लागि यस्ता तामझामपूर्ण कार्यक्रम गर्ने गरिएको छ । यसले जनतामा भ्रम छरेको छ,’ बरालले भने, ‘जनताको काममा ध्यान भने दिइएको छ।’ गत शनिबार पोखरामा भएको बेलुन विस्फोटको घटनालाई बरालले चरम लापरवाहीको संज्ञा दिएका छन्।  

‘जनताका काम नगर्ने, सुशासन कायम नगर्ने, आफ्नो मान्छेलाई संरक्षण गर्ने, समाजमा भ्रम फालेर आफ्नो पक्षमा लाग्न जनतालाई प्रोत्साहन गर्न खोज्ने गरिएको छ,’ बरालले भने, ‘जनताले सुशासन खोजेका छन। पारदर्शी र जवाफदेही नेतृत्व खोजेको छ। तर, त्यो हुन सकेन, तर देवावटी भने चलिरहेको छ।’ उनले आसन ग्रहणको नाममा प्रमुख अतिथिलाई घन्टौ कुरेर बस्ने चलनलाई अरुलाई दुख दिने नियत भएको बताए। ‘प्रमुख अतिथि बनेर समय दिन सक्दैन भने त्यस्ता व्यक्तिलाई छान्नु हुँदैन। तर, यहाँ चाकडीका लागि अरु पाहुनालाई घन्टौ कुराएर आफ्नो स्वार्थका व्यक्तिलाई प्रमुख  अतिथि छान्ने गरिएको छ,’ उनले भने, ‘यस्ता काम गलत छन। सुधार्न ढिला भईसकेको छ।’ 

प्रकाशित: ६ फाल्गुन २०८१ १६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App