२० चैत्र २०८१ बुधबार
image/svg+xml १९:२६ अपराह्न
समाज

२० वर्षपछि काठमाडौंमा देखियो दुर्लभ बैकालगैरी हाँस

हजारौं किलोमिटरको अविश्वसनीय यात्रा

तस्बिर: सुप्रदिप्त न्यौपाने/नागरिक

करिब दुई दशकपछि काठमाडौं उपत्यकामा दुर्लभ जाडो आगन्तुक पक्षी बैकालगैरी हाँस फेला परेको छ।

पछिल्लो पटक सन् २००५ को मे ८ मा टौदह क्षेत्रमा देखिएको यो सुन्दर जलचर पक्षी २०२५ फेब्रुअरी ११ मा ललितपुरको धापाखेलस्थित नागदहमा पुनः देखा परेको हो।

बैकालगैरी हाँस मुख्य रूपमा रूस (साइबेरिया), मंगोलिया, र उत्तरपूर्वी चीनको हिउँदे भू-भागमा प्रजनन गर्छ। चिसो मौसम सुरु भएसँगै, यो प्रजाति दक्षिणतिर बसाइँ सर्ने गर्छ। हिउँद कटाउन बैकालगैरी हाँस दक्षिण कोरिया, जापान, पूर्वी चीन, भियतनाम, भारत हुँदै नेपालसम्म आइपुग्छ।

नेपालमा देखिएको यो हाँस साइबेरियाबाट आएको मान्ने हो भने, यसले करिब चार हजार देखि पाँच हजार पाँच सय किलोमिटरको दूरी पार गरेको छ। उसका लागि यो बसाइँसराइ सहज भने हुँदैन- कडा हावापानी, लामो यात्रा र शिकारको जोखिम पार गर्दै यो जलचर नेपालसम्म आइपुग्छ।

दुई दशकपछि काठमाडौं उपत्यकामा बैकालगैरी हाँस देखिनु पर्यावरणीय दृष्टिले निकै महत्त्वपूर्ण संकेत हो। यो नेपालका लागि दुर्लभ जाडो आगन्तुक पक्षी भएकाले यसको पुनः अवलोकन हुनु जैविक विविधताको सन्दर्भमा सकारात्मक उपलब्धि मानिन्छ।

यसले जलचर पंक्षीहरूको बसाइँसराइको दिशा, उनीहरूको गन्तव्य परिवर्तन तथा जलाशयहरूको पारिस्थितिकीय अवस्था सम्बन्धी अध्ययनका लागि नयाँ अवसर प्रदान गर्छ। यदि नागदह जस्ता स्थानहरूमा यस्ता दुर्लभ पक्षी पुनः फर्कन थालेका छन् भने, यस क्षेत्रको पारिस्थितिकीय सन्तुलन राम्रो रहेको संकेत दिन्छ।

बैकालगैरी हाँस आफैमा सुन्दर पक्षी हो। नर हाँसको शरीरमा हरियो, सेतो, खैरो र कालो रङको संयोजन देखिन्छ, जसले उसलाई अन्य जलचर पक्षीभन्दा फरक बनाउँछ। यसको टाउकोमा रहेको हरियो र सुन्तला रङको आकर्षक संरचनाले यसलाई पानीको एक कलात्मक मूर्तिजस्तै देखिन्छ।

तर, दुर्लभ प्रजाति देखिनु मात्र महत्त्वपूर्ण होइन, त्यसको सुरक्षा र संरक्षण पनि उत्तिकै आवश्यक छ। नेपालमा जलचर पक्षीहरूको बसाइँसराइ प्रवृत्तिमा परिवर्तन आउन थालेको छ, यसको कारण जलवायु परिवर्तन र मानव अतिक्रमण हुनसक्छ। त्यसैले यस्ता पक्षीहरूका लागि उपयुक्त वासस्थान जोगाउन संरक्षणका उपायहरू आवश्यक छन्।

काठमाडौं उपत्यकामा पुनः बैकालगैरी हाँस देखिनु जलचर पक्षी अध्ययनका लागि मात्र होइन, वातावरणीय सन्तुलनका दृष्टिले पनि महत्वपूर्ण छ। यसले ताल, पोखरी तथा जलाशयहरूको पारिस्थितिकीय अवस्था सन्तुलित रहेको संकेत दिन्छ।

सबै तस्बिर: सुप्रदिप्त न्यौपाने/नागरिक

प्रकाशित: १ फाल्गुन २०८१ २१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App