२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

लहानमा मसाल जुलुस, गाउँ ब्लक जग्गा विवाद टुंग्याउन दबाब

सिरहाको लहानमा आइतबार साँझ गाउँ ब्लक जग्गाको समस्या समाधानको माग गर्दै स्थानीयहरूले मसाल जुलुस प्रदर्शन गरेका छन्।

सैयौँ स्थानीयको सहभागितामा दुर्गा मन्दिरबाट सुरु भएको मसाल जुलुस मालपोत कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो।

प्रदर्शनकारीहरूले गाउँ ब्लक जग्गाको नापी, लालपुर्जा वितरण तथा अध्यावधिक प्रक्रिया तत्काल अघि बढाउन माग गरे। संघर्ष समितिका संयोजक अरुण केसीका अनुसार लहानका २४ वटै वडामा यो समस्या रहेको छ।

‘यहाँ वर्षौँदेखि बसोबास गर्दै आएका स्थानीयहरूको जग्गा गाउँ ब्लकमा परेको छ। कतिपयलाई निस्सा वितरण गरिएको छ, केहीलाई लालपुर्जा पनि दिइएको छ, तर अध्यावधिक नहुँदा न किनबेच गर्न मिल्छ, न बैंकमा धितो राखेर आर्थिक काम गर्न सकिन्छ,’ संयोजक केसीले भने।

उनका अनुसार लहानमा करिब ७ हजारभन्दा बढी नागरिकको जग्गा अझै नापीमै परेको छैन्। ‘समस्या समाधान नभएसम्म हाम्रो आन्दोलन रोकिँदैन,’ उनले चेतावनी दिए।

मालपोत र नापी कार्यालयको ढिलासुस्तीका कारण समस्या अझै समाधान हुन नसकेको लहान कांग्रेस नगर सभापति सञ्जय यादवले बताए। उनले सबै राजनीतिक दलहरूले स्थानीय जनताको पक्षमा आन्दोलनलाई समर्थन गरेको उल्लेख गरे।

लहान–६ का वडा अध्यक्ष रमेश गौतमले पनि स्थानीयवासीले भोग्नुपरेको समस्याले आफूलाई आन्दोलनमा उभिन बाध्य बनाएको बताए। ‘गाउँ ब्लक जग्गामा घर भएका नागरिक वर्षौँदेखि पीडामा छन्,’ उनले भने।

लहान नगरपालिकाका नगरप्रमुख महेश चौधरीले नगरपालिकाले आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘हामीले पटक–पटक पहल गर्दा पनि प्रक्रियागत ढिलाइका कारण समाधान हुन सकेको छैन,’ उनले भने, ‘अब मालपोत र नापी कार्यालयले यसमा ध्यान दिनुपर्छ। समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार हुनुपर्छ।’

प्रकाशित: २७ माघ २०८१ २१:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App