१ चैत्र २०८१ शुक्रबार
image/svg+xml
समाज

‘सजिलो’सँग सडकमा

सराेकार

सुविधा खोज्नु मानिसको स्वभाव हो। पहिले जे प्राप्त थियो, त्यसमा थप सुविधा प्राप्त हुँदा फेरि त्यसैको आकर्षण हुन्छ। यसकारण सेवामा पनि नयाँनयाँ सुविधा थपिइरहेका हुन्छन्।

काठमाडौंका सडकमा केहीअघिसम्म एपमा आधारित सुविधा थिएनन्। मोटरसाइकल वा ट्याक्सी सेवा यसबाटै लिन सकिने हुँदा यहाँको जनजीवन फेरिएको छ। यस्तो सुविधा आमरूपमा समाजमा भिज्न थालेको छ। यसै माहोलमा अहिले नयाँ सुविधा थपिएको छ– सजिलो।

करिब पाँच वर्षसम्म विभिन्न काममा भौतारिँदै हिँडेकी काठमाडौंस्थित गोकर्णकी रुथ सुब्बा अहिले ‘सजिलो’सँग जोडिएकी छिन्। राइडर भएर काम गर्दै आएकी उनी अहिले यस राइडर कम्पनीसँग जोडिन पाउँदा सहज महसुस गर्छिन्। उनी अहिले सुरक्षित, सेवा–सुविधायुक्त ‘सजिलो एप’ मा ‘लेडिज राइडर’ भएरै उपत्यकाभित्र गुडिरहेकी छिन्। रुथ आफ्नो दैनिक काममा सन्तुष्टि भएको बताउँछिन्।

विगत लामो समयदेखि स्कुटर चालक हुनुमा रमाएकी रुथले दैनिक सेवाग्राहीलाई सेवासुविधासहितको सन्तुष्टि पनि दिइरहेकी छिन्। साथै आफू विगतमा पठाओ, इनड्राइभ र जुमजुमजस्ता विभिन्न राइडिङ सेयरमा आबद्ध भए पनि सजिलो एपको राइडर हुनुमा उनी गर्व गर्छिन्।

पठाओ र इनड्राइभजस्ता थुप्रै विदेशी राइड सेयरिङ नेपालमा भित्रिँदै गर्दा नेपालमै २०७९ वैशाख १ गते स्थापित भएको सजिलो कम्पनीले अहिले काठमाडौं उपत्यका केन्द्रित सेवा उपलब्ध गराएसँगै उपत्यकाबाहिर पनि यसको बजार विस्तार भइरहेको रुथले नागरिकसँग बताइन्।

‘हाम्रो नेपाली माटोमा नेपालीले नै सञ्चालन गरेको सजिलो एपको जन्म हुँदा हामी धेरै हर्षित छौं,’ उनले भनिन्, ‘यसले हामीलाई रोजगारी दिएको छ। बिदेसिनबाट धेरैलाई जोगाएको छ। जसलाई हामीले पनि माया गर्नुपर्छ।’

नेपालमा जति धेरै राइड सेयरिङ छन्, त्यति नै त्यसले विकराल रूप लिएको छ। तर, यो सजिलोले सेवासुविधा चालकलाई मात्रै नभएर सेवाग्राहीलाई पनि दिने गरेको उनको अनुभव छ।

‘हामीसँग महँगो बत्ती छ। जसले लाखौं तारालाई पछाडि पारेको छ। अरू राइड सेयरिङभन्दा सजिलोले सेवासुविधाका हिसाबले शिखर चुमेको छ,’ रुथले नागरिकसँग भनिन्, ‘हामी अन्य विदेशी राइड सेयरका लागि दौडिरहेका थियौं। तर, त्यहाँ त्यस्तो सुखसुविधा कहिल्यै पाएनौं। अहिले यो सजिलो राइड सेयरमा जोडिएपछि म र मेरो स्कुटरले मजा लिइरहेका छौं।’

उनका अनुसार यात्रु र चालकको सुरक्षाको दायित्व सजिलो कम्पनीले लिएको छ। चालकहरूलाई गर्वसाथ ‘म चालक हुँ’ भन्न सक्ने वातावरण सजिलोले बनाएको छ। हाल सञ्चालनमा रहेका अन्य राइड सेयरिङ प्लेटफर्मका तुलनामा सजिलोले यात्री र चालक दुवैको सुरक्षामा विशेष ध्यान दिएको रुथले बताइन्।

राइडरले बुझाएको १० प्रतिशत रकम राइडरहरूको कल्याणकारी कोष ‘सजिलो कोष’मा जम्मा हुन्छ। जसअनुसार कुनै यात्रुले राइड अनुरोध गरेपछि र चालकले स्वीकार गरेपछि गन्तव्यमा पुगेर फर्किने बेलासम्म बिमाले सुरक्षा दिन्छ। राइड रद्द भएमा पनि चालकलाई सजिलोले क्षतिपूर्ति दिने व्यवस्था गरेको रुथलाई मन परेको बताउँछिन्।

रुथ सुब्बा

‘सजिलो’ले यात्रु र चालक दुवैको सुरक्षालाई ध्यानमा राख्दै शिखर इन्स्योरेन्ससँग सहकार्य गरी बिमा सुविधा दिएको छ। यो नै हाम्रा लागि सुरक्षित र भरपर्दो काम हो,’ करिब तीन वर्षदेखि ‘सजिलो’मा आबद्ध रुथले भनिन्, ‘त्यति मात्र नभई हामीले यात्रीको अनुरोध स्वीकार गरेदेखि नै बिमा सुरु हुन्छ। यात्रीलाई लिन हिँडेदेखि गन्तव्यमा पुर्‍याएर एक्लै फर्किने बेलासम्म हाम्रो बिमा भइरहेको हुन्छ। योभन्दा उत्कृष्ट राइड सेयरिङ अरू हुनै सक्दैन।’

विदेशी एपमा निर्भर नभई आफ्नै स्वदेशी एप प्रयोग गरेर गन्तव्यमा पुग्न सकिने उनले बताइन्। अरू राइड सेयरिङबाट पैसा विदेशमा जान्छ। तर, सजिलोले रोजगार र पैसा स्वदेशमै भएसँगै आयस्रोत नेपालमै हुने गरेकोमा उनी खुसी छिन्। ‘अरूमा फी कम होला तर त्यसको कुनै पनि सेवासुविधा मात्रै नभई बिमा पनि छैन,’ राइडिङ गरेर दैनिक करिब हजार रूपैयाँ कमाउने रुथले भनिन्, ‘मैले दुई लाख ऋण गरेर किनेको स्कुटर अन्य राइड सेयरिङको राइडर भएर दुर्घटना भयो भने आफैंले खर्च बेहोर्नुपर्छ। तर, सजिलोमा उक्त कम्पनीले नै खर्च गरिदिने व्यवस्था छ। त्यसैले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न हामीले नै यसलाई माया गर्नुपर्छ।’

अझै पनि नेपाली नागरिकहरू सस्तोको पछि लागेर विदेशी राइड सेयरिङ प्रयोग गर्ने गर्छन्। तर, दुर्घटना तथा तलमाथि केही भइहाल्यो भने जिम्मेवारी नलिएसँगै कम्पनी स्वदेशमा नभई विदेशमा छ भन्ने पनि थाहा नभएको उनको दुखेसो छ।

आठ/नौ वटा राइड सेयरिङमा आबद्ध भए पनि उनलाई भरपर्दो र चित्तबुझ्दो भने सजिलो नै रहेको खुसी रुथले नागरिकसँग प्रकट गरिन्। ‘हामीले खोजेको जस्तै रोजेको जस्तै राइड सेयरिङ हो सजिलो एप। जहाँ फ्रेन्ड्ली वातावरण छ। नेपालमै भएको कम्पनीमा जति बेला गएर पनि आफ्नो समस्या राख्न सकिन्छ,’ उपत्यकाभित्र यात्री बोकेर स्कुुटरमा गुड्दै गरेकी सजिलोकी राइडर रुथले खुसी व्यक्त गरिन्।

 यात्रुले राइड अनुरोध गरेपछि र चालकले स्वीकार गरेर यात्रु भएको गन्तव्यमा पुगेसँगै सोही यात्रुले राइड रद्द गरेमा प्रति राइड ५० रूपैयाँ चालकलाई क्षतिपूर्ति दिने सुविधा सजिलोले ल्याउँदा सिन्धुपाल्चोकका रोशन लामा पनि रुथ जस्तै खुसी छन्।

तीन वर्षदेखि सजिलो राइड सेयरिङमा रमाएका रोशन भन्छन्, ‘मैले सजिलोमा आउनुभन्दा पहिला सात/आठ वर्ष अन्य थुप्रै राइड सेयरिङमा काम गरेँ। तर, त्यहाँ एउटा ठाउँबाट अर्को ठाउँमा यात्रु लिन जाँदा यात्रुले राइड रद्द गरेको खण्डमा हाम्रो समयसँगै पेट्रोलको पनि नास हुन्थ्यो। पैसा पाउने त कुनै सम्भावनै थिएन। साथै बिमाको त कुरै छोडौं। दुर्घटना भइहाल्यो भने पनि आफ्नै खर्च हो। तर, सजिलोमा पैसाको व्यवस्था कम्पनीले नै गरेको छ।’

नेपालमा अत्यधिक राइड सेयरिङको बजार बढ्दै गर्दा धेरै जसो अफलाइन राइड चालक बजारमा भेट्ने गरेका छौं। जुन अवैध तवरले गन्तव्यमा पुग्ने र पु¥याउने गर्छन्। त्यसो हुँदा झन् धेरै जोखिम हुने गरेको छ। तर, सजिलोले अफलाइनमै भएका यात्रुलाई पनि अनलाइन गरेर गन्तव्यमा पु¥याउने प्रणाली रहेको सजिलोका राइडर रोशनले बताए।

रोशन लामा 

‘गन्तव्यमा पुग्ने सबै मानिसको मोबाइलमा इन्टरनेट हुन्छ भन्ने हुँदैन,’ उनले भने, ‘त्यस्तो भएको खण्डमा यात्रुको नाम, ठेगाना र सम्पर्क नम्बर लिएर हाम्रैमा राइड अनुरोध आउने गर्न मिल्ने सजिलोको फिचर रहेको छ। जसले गर्दा उहाँहरू र हामी सुरक्षितसाथ गन्तव्यमा पुग्ने व्यवस्था धेरै लाभदायी छ।’

सजिलो सेवा सुविधासहितको व्यवस्था भएको नेपालकै सजिलो एपसँग आफू राइड भएर काम गर्न पाउनु नै खुसीको कुरा रहेको उनले नागरिकलाई सुनाए।

‘मैले धेरै राइड सेयरिङ प्रयोग गरेँ। तर, भरपर्दो र यात्रीलाई पनि सुरक्षित भनेकै सजिलो हो। नेपालमै यसको कम्पनी हुँदा केही समस्या आए तत्काल समाधान हुन्छ। आम्दानीका हिसाबले पनि राम्रो छ। सजिलोको कोषमा जम्मा भएको रकमले कथङ्कदाचित दुर्घटना भएको अवस्थामा त्यही पैसा प्रयोग हुन्छ। हाम्रा लागि त्यही ठुलो साथ हो,’ उपत्यकामा दैनिक राइड गरेर हजारदेखि बाह्र सय बच्ने राइडर रोशनले बताए। साथै विदेशी राइड एपलाई भन्दा स्वदेशी एपलाई यसै पनि माया गर्नुपर्ने उनले नागरिकसँग बताए।

‘मुखैमा झुन्डिने, नामै सजिलो, कामै सजिलो यो नेपाली एपले हामीजस्ता बेरोजगारलाई रोजगार दिएको छ,’ करिब ६ महिनादेखि उपत्यकाभित्र र बाहिर सेवाग्राहीलाई गन्तव्यमा पुर्‍याउने काम गरिरहेका काठमाडौंस्थित जोरपाटीका राजेश तामाङ भन्छन्, ‘पहिला अरू राइड सेयरिङ चलाउने गर्थें। तर, सेवाग्राही र चालकका लागि सजिलोको नीति धेरै राम्रो भएर यसमा आबद्ध भएको हुँ।’

उनका अनुसार दैनिक दुई पांग्रे सवारी साधन चलाउँदा कहिले के हुन्छ थाहा हुन्न। यात्री गन्तव्यमा लिन सुरु गरेदेखि गन्तव्यमा पुर्‍याएर फकिने बेलासम्म बिमा छ। यही हाम्रा लागि सुरक्षित माध्यम हो।

पठाओमा मान्छे बोकेर हिँड्दा दुर्घटना भयो भने मात्रै बिमा छ। तर, त्यो पनि आफूले उजुरी गरेर लामो प्रक्रियापछि मात्रै बिमा पाइन्छ। झन् इनड्राइभमा त बिमा नै छैन। जे होस् दुर्घटना हुनेबित्तिकै सजिलो कम्पनीले तत्काल चालक वा यात्रीको उपचारदेखि सवारी साधनको समेत मर्मत गरेर पुनः राइड गर्न मिल्ने अवस्था भएकाले नै यसमै सन्तुष्टि भएको राजेश बताउँछन्।

राजेश तामाङ

नेपाली एप सजिलोले बजार विस्तार गर्दै गएकोमा खुसी व्यक्त गर्दै उनी भन्छन्, ‘यो लामो समयदेखि चल्दै आए पनि यसको एप भने भर्खर सुरुवात भएको हो। बजारमा कतिलाई थाहा नै छैन, नेपाली एप भएसँगै यसले दिने सुविधा धेरै राम्रो छ भनेर। बुझ्नेले सजिलो मात्रै चढ्ने गरेका छन्। यात्रीहरू ढुक्क भएर सजिलो चढ्छन्। उहाँहरू पनि सुरक्षित हामी पनि सुरक्षित।’

पठाओमा प्रतिराइडको २१ प्रतिशत कम्पनीले लिन्छ। त्यसैले अफलाइन राइड गर्ने बजारमा छ्यासछ्यास्ती छन्। त्यसमा बिमा भए पनि भरपर्दो छैन। इनड्राइभमा एक राइडको १० प्रतिशत कमिसन विदेश जान्छ। त्यसमा सेवा सुविधा शून्य छ। तर, सजिलोमा प्रतिराइडको १० प्रतिशत नै कम्पनीलाई बुझाए पनि त्यसबाटै केही रकम हाम्रा लागि कामदारको कोषमा जम्मा हुने गरेकाले यो धेरै नै लाभदायी रहेको राजेशले बताए।

सजिलो कम्पनीका सिइओ अमिर लामाका अनुसार राइडरलाई हामीले खुसी दियौं भने मात्रै उनीहरूले सेवाग्राहीलाई राम्रो व्यवहार गर्छन्। राइडरको समय, श्रम र शक्तिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। जबसम्म राइडरलाई काममा सन्तुष्टि गराउन सकिँदैन, तबसम्म कुनै काम सफल हुँदैन।

उर्वर बगैंचा बनाउन मालीसँगै गोडमेल र मलजलको आवश्यकता पर्छ। त्यसरी नै हामीले पनि राइडरलाई उनीहरूले पाउने सेवा सुविधाबाट वञ्चित गर्नुहुँदैन। हामीले स्नेह, अनुशासनको पाठ, नैतिकता र उनीहरूलाई कामको शान्तिपूर्ण वातावरण दिएमा कामदारको कामप्रति मोह जाग्ने सिइओ लामाले नागरिकसँग बताए।

‘रोजगारदाताले सेवासुविधासँगै शान्तिको शुभारम्भ गरिदियो भने कामदार पनि महत्त्वाकांक्षी भएर काम गर्छन्,’ उनले भने, ‘जब हामीले राइडरलाई सुविधाबाट वञ्चित गछौं, उनीहरू पैसा कमाउन बाह्य विकल्पतिर जान्छन्। तर, उनीहरूलाई आवश्यक सेवासुविधा दिएमा अफलाइन बस्नुपरेन। ट्राफिक प्रहरीले चिट काट्दैन। दुर्घटना परेमा चालक भाग्नुपरेन।’

दुर्घटना पर्‍यो भने उनीहरूको उपचार खर्चदेखि सवारी साधन बनाउने समेत सजिलो कम्पनीले गर्ने गरेको लामा बताउँछन्।

एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउनु तथा जाने भाष्यलाई मात्र राइडका रूपमा हेरिएको छ। त्यसभित्र के के पर्छन् त्यो बुझ्न जरुरी छ। राइडर अफलाइन हिँड्नु उनीहरूको गल्ती होइन। त्यसको जिम्मा कम्पनीले नलिँदा यस्ता गल्ती हुने लामाले बताए।

नेपालमा राइड सेयरिङसम्बन्धी कुनै पनि विधेयक नआउँदा मानिसहरूले मन लाग्दी दर राख्ने गरेको उनको गुनासो छ। ‘नेपालमा राइड सेयरिङको कुनै पनि विधेयक आएको छैन। जसले गर्दा राइड सेयरिङ पारदर्शी छैन,’ सिइओ लामा भन्छन्, ‘चाडपर्वमा झन् धेरै शुल्क उठाउने गरेका छन्। जसले गर्दा नेपालमा राइड सेयरिङ मनलाग्दी भएको छ। जस्तै सार्वजनिक सवारीमा चढ्दा सबैलाई लागु हुने गरेर भाडा दर निर्धारण गरिएको छ। त्यसैले नेपालमा व्यापक विस्तार भएको राइड सेयरिङसम्बन्धी विधेयक आउन जरुरी छ।’

क्याप्टेन विजय लामा सहसंस्थापकका रूपमा जोडिएको सजिलोले ६ महिनाभित्र नेपालभर सेवाविस्तार गर्ने भएको छ। कम्पनीले कमिसनबाट उठेको १० प्रतिशत रकम राइडरहरूको कल्याणकारी कोष ‘सजिलो कोष’ मा जम्मा गर्ने गरेको कम्पनीका सहसंस्थापक तथा प्रबन्ध निर्देशक दिवाकर खनालले बताए। लामो समय वैदेशिक रोजगारीमा रहेका सिए खनाल नेपालमै केही गर्नुपर्छ भन्दै फर्किएलगतै सजिलोमा जोडिएका हुन्।

‘हामीले वातावरणमैत्री प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीलाई पनि प्राथमिकता दिएका छौं,’ उनले भने, ‘हामीले चाँडै नै पार्सल र फुड डेलिभरी सेवा पनि सुरु गर्ने योजना बनाएका छौं। साथै अहिलेसम्म कमिसनमुक्त सेवा उपलब्ध गराउँदै आएका पनि छौं।’

उनका अनुसार बाइकका लागि १० प्रतिशत र ट्याक्सीका लागि ६ प्रतिशत कमिसन लाग्ने व्यवस्था छ। यसका साथै राइडरले यात्रुलाई लिन जाँदा १.५ किलोमिटरभन्दा बढी टाढा जानुपरेमा बाइकका लागि प्रतिकिलोमिटर १५ रूपैयाँ र ट्याक्सीका लागि ३५ रूपैयाँ अतिरिक्त रकम प्रदान गर्ने गरिएको छ।

राइड रद्द भएमा पनि चालकलाई क्षतिपूर्ति दिने व्यवस्था भएको खनालले नागरिकलाई जानकारी दिए। नेपालमा ६८ वटा राइड सेयरिङ कम्पनी दर्ता भए पनि करिब एक दर्जन मात्रै सञ्चालनमा आएका छन्। चौबिसै घण्टा सञ्चालनमा रहेको सजिलो कम्पनीले अरू पनि बाच्नुपर्छ भन्ने उद्देश्य राखेको सिए खनाल बताउँछन्।  

प्रकाशित: २६ माघ २०८१ ०९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App