२० चैत्र २०८१ बुधबार
image/svg+xml २:६ पूर्वाह्न
समाज

पोखरामा रुख कटान: ३३ वटा पुराना रुख ठुटै पारिए

वर–पीपलका काठ महानगरको नियन्त्रणमा

पोखरामा काटिएका रुखका मुडा कब्जामा लिँदै पोखरा महानगरपालिका। तस्बिरः नागरिक

पोखराका विभिन्न ठाउँका पुराना रुख काटिएपछि आलोचित पोखरा महानगरपालिकाले कटान गरिएका काठदाउरा कब्जामा लिएको छ। पोखरामा कोटीहोम गर्ने भन्दै वर, पीपल र समीका पुराना रुख काटेर दाउरा थुपारेको महानगरपालिकाले बताएको छ। मानव सेवा फाउन्डेसनले पोखरामा कोटीहोम गर्ने भन्दै रुख कटान गरेर लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा काठजन्य सामाग्री थुपारेको महानगरको भनाई छ।  

पोखरा महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक चौतारीका पुराना वर, पीपल, समी लगायतका पुराना रुख अनधिकृत रुपमा कटान गरी नेपाल ट्रस्टको जग्गामा थुपारिएकोमा पोखरा महानगरपालिकाले बुधबार ती दाउराका मुढा कब्जामा लिएको हो। महानगरका प्रवक्ता मोतिलाल तिम्सीनाले ठूलो परिणाममा काठ संकलन गरेको बताए। ती काठ महागरपालिकाले कब्जामा लिएर सुरक्षित राखेको पनि उनले बताए।

महानगरका प्रवक्ता तिम्सीनाका अनुसार पोखराका विभिन्न वडामा ३३ वटा पुराना रुख कटान गरिएका छन्। ती सबै सयौं वर्ष पुराना रुख हुन्। ‘अहिले पोखरामा काटिएका रुखका मुढाहरु थुपारिएको थियो। महानगरपालिकाले ती काठका मुढा आफ्नो नियन्त्रणमा लिएर सुरक्षित राखेको छ,’ उनले भने, ‘पुराना रुख काटेर तिनै रुखका मुढा थुपारेको आशंका छ। कोटीहोमका लागि दाउरा आवश्यक पर्ने भन्दै रुख कटान गरेर मुढा थुपारेका थिए। तर, महानगरले आफ्नो नियन्त्रणमा लिएको छ।’

उनले पनि मानव सेवा फाउन्डेसनले नै ती रुख कटान गरेको थाहा भएको बताए। ‘वडासँगको समन्वयमा रुख काटेको दावी मानव सेवा फाउन्डेसनले गरेको छ। तर, त्यसको आधिकारिकता पुष्टि हुन सकेको छैन,’ तिम्सीनाले भने, ‘टोलवासीसँगको समन्वय गरेको र वडा कार्यालयलाई जानकारी दिएर काटेको दावी गरेको भएपनि त्यसमा सत्यता पुष्टि भएको छैन।’ उनका अनुसार आफ्नो क्षेत्रमा पुराना रुख कटान भएको बारे वडा कार्यालयले बढी चाँसो राख्नुपर्नेमा त्यो हुन सकेको छैन। ‘आफ्नो क्षेत्रमा धमाधम पुराना रुख कटान हुँदै गर्दा र थाहा पाउँदा पनि वेवास्ता गरेको भए वडाको गल्ती हो। तर, थाहा नपाएको भनेर वडा कार्यालयले बताईरहेका छन,’ उनले भने।  

रुख कटान गर्नका लागि महानगरले कसैलाई पनि अनुमति नदिएको प्रवक्ता तिम्सीनाले जानकारी दिए। ‘महानगरले अहिले कसको अनुमतिमा रुख कटान भएको हो भनेर आफ्नै तरिकाले अनुसन्धान गरिरहेको छ। रुख कटान गर्नेलाई कारवाही पनि हुन्छ। तर, त्यसको अनुसन्धान भईरहेको छ,’ उनले भने।  

महानगरका मेयर धनराज आचार्यले पोखरामा कुनै हालतमा कोटीहोम नहुने पनि बताएका छन्। उनले पोखरामा लामो अवधिको कोटीहोम सम्भावना नरहेको बताए। लेकसाइडस्थित बाराहीघाटको मैदानमा कोटीहोम हुने आयोजकले बताएको छ। आगामि बैशाख १७ देखि जेठ २६ सम्म कोटीहोम हुने फाउन्डेसनले बताएको छ। तर, पोखरा महानगरका मेयर आचार्यले पोखरा पर्यटकीय सहर भएको र त्यत्ति लामो समय कोटीहोम संचालन सम्भव नभएको बताए।  

‘पोखरा पर्यटकीय सहर हो । डेढमहिनासम्म धुनी बालेर पोखरालाई प्रदुषित बनाउन पाइँदैन। किनकी अघिल्ला वर्ष वातावरणमा प्रदुषण हुँदा समस्या भएको थियो,’ उनले भने, ‘अहिलेसम्म कोटीहोम गर्नका लागि स्थानीय प्रशासन र महानगरमा कसैले अनुमति लिएको पनि छैन।’ 

पोखराको फेवाताल आडको उक्त खालि चौर लामो समयका लागि कोटीहोम लगाउने ठाउँ नभएको पनि उनले बताए। केहीदिन अघि पनि पोखरा महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक चौतारीका पुराना वर, पीपल, समीका रुख काटिएको भन्दै सार्वजनिक सूचना निकालेर रोक लगाएको थियो। महानगरपालिका क्षेत्रभित्र कोटिहोमका नाममा अनुमति बिना सयौं वर्ष पुराना सार्वजनिक चौतारीका रुख जथाभावी कटान गरिएको गुनासो तथा प्रमाण पाएको पनि महानगरले बताएको छ। अनधिकृत रुपमा रुख कटान गर्ने कार्य कानुनतः दण्डनीय हुने कुरा सचेत गराउँदै रुख कटानमा संलग्न जो कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने पनि महानगरको सूचनामा छ।

पोखरा क्षेत्रमा जथाभावि वर, पिपल र समीका पुराना रुख काटिएको भन्दै पोखरा–१४ मझेरीपाटनका बासिन्दा समेत रहेका पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्रका प्राध्यापक हेमन्त ढकालले आवाज उठाएका थिए। सुरुमा त ढकालले उठाएको आवाजको कतै सुनुवाई भएको थिएन। तर धमाधम रुख कटान भएको समाचार संचारमाध्यममा आएपछि बल्ल पोखरा महानगरपालिकाले चाँसो देखाएको थियो। रुख कटानको आलोचना सुरु भएपछि डिभिजन वन कार्यालय कास्कीले पोखरा महानगरपालिकासँग रुख काट्न कसैले अनुमति लिएको वा नलिएको भन्दै प्रष्टिकरण पनि मागेको थियो।  

‘केहीदिन लगातार रुख काटिएपनि हामीले पोखरा महानगरलाई गुहारेका थियौ। धेरै प्रयासपछि यो विषयले चर्चा पाएको हो। तर, जथाभावि रुपमा कटान गर्नेलाई कारवाही भएको छैन,’ ढकालले भने। ढकालका अनुसार त्यस क्षेत्रका मात्र सातवटा पुराना रुख ठुटै पारेर काटिएको छ।

‘मैले दिनहुँ देखिरहेकै रुख हो, बढेमानको पिपलको रुख छिमल्ने निहुँमा काटेर ठुटै पारिएको छ,’ ढकालले भने, ‘करिब ६०–७० वर्ष पुराना ती रुख काट्दा मन पोल्यो, अनि स्थानीय तहलाई गुहारेका हौ।’  

ढकालका अनुसार काटिएका ती रुखमध्ये केहीमा चौतारा पनि थिए। ढकालका अनुसार काटिएका समी, वर र पिपलका पुराना रुखहरु हुन। ती रुखमा चराका बासस्थान पनि हुने गरेको उनले बताए। त्यसबाहेक पोखराको लेकसाइड क्षेत्रमा पनि रुख कटान गरिएको छ। ढकालका अनुसार बढेमानका झुप्प परेका ती रुखमा काग, चील, उल्लु, डांग्रे लगायतका चराचुरुंगीले बासस्थान बनाउँथे।

गण्डकी प्रदेशको वन ऐन २०८० र नियमावली २०८१ अनुसार अनुसार रुख काट्नका लागि डिभिजन वन कार्यालयसँग अनुमति लिनुपर्ने हुन्छ। त्यसको प्रक्रिया भने महानगरले अघि बढाउनुपर्ने हुन्छ। रुख काट्नेलाई बिगो असुल गर्ने र १० हजार रुपयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै हुन सक्ने कानुनी प्रावधान रहेको डिभिजन वन कार्यालयले बताएको छ।  

प्रकाशित: २३ माघ २०८१ १७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App