२८ फाल्गुन २०८१ बुधबार
image/svg+xml १०:१६ पूर्वाह्न
समाज

रुख मासेर ग्राभेल उत्खनन, नियामक निकाय मौन

चुरे दोहन

सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा अनियन्त्रित रूपमा राष्ट्रिय वन, सामुदायिक वन, खोला तथा निजी जग्गाबाट ग्राभेल उत्खनन गरी सडक निर्माण भइरहेको छ।

ठेकेदार कम्पनीहरूले स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधि, वनका कर्मचारी तथा सामुदायिक वनका अध्यक्षलाई आर्थिक प्रभावमा पार्दै माटो, ग्राभेल र वालुवा संकलन गरेर चुरे क्षेत्र दोहन गरिरहेको पाइएको छ।

यसको पछिल्लो उदाहरण सिरहाको गोलबजार नगरपालिका-७ चोहर्वा बजारदेखि वडा नम्बर १० धरमपुर घुर्मीघाटसम्मको सडक निर्माणमा देखिएको छ।

उक्त सडक निर्माणका लागि चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट अवैध रूपमा ग्राभेल उत्खनन गरिएको छ।  वन उपभोक्ता समितिका अध्यक्ष देव कुमार तामाङकै संलग्नतामा सालको काँचो रुख समेत काटेर ग्राभेल निकालिएको स्थानीयको आरोप छ।

उनीहरुका अनुसार वन कर्मचारी तथा प्रहरी प्रशासनकै मिलेमतोमा रातीको समयमा एक्स्काभेटर लगाएर ग्राभेल उत्खनन गरिँदै आएको छ। रातिको समयमा वनभित्रै एक्स्काभेटर प्रयोग गरी सालको रुख ढाल्ने, ग्राभेल उत्खनन गर्ने र टिपरमार्फत ओसारपसार गर्ने गरिएको स्थानीयको भनाइ छ।

यस विषय सम्बन्धित नियामक निकायहरूलाई थाहा भए तापनि कुनै कारबाही गरिएको छैन। वनका अध्यक्षले सयौं टिपर ग्राभेल उत्खनन हुँदा समेत हस्तक्षेप नगर्नुले उनी मिलेमतोमा रहेको प्रस्ट भएको स्थानीयको आरोप छ। स्थानीय ललित सिंहका अनुसार वन उपभोक्ता समूहका अध्यक्ष तामाङको मौनता शंकास्पद छ। उनलाई दोषी पाइएमा कारबाही गर्नुपर्छ उनले बताए।

ग्राभेल उत्खननका क्रममा ढलेको सालको रुख समेत टिपरमा लोड गरी स्थानीय स-मिलमा बिक्री वितरण गरिएको आरोप लगाइएको छ। वनका कर्मचारीलाई यसबारे जानकारी गराउँदा समेत कुनै प्रतिक्रिया नआएको स्थानीय बताउँछन्।

एक स्थानीयले भने, ‘उत्खननबारे पटक-पटक वनका कर्मचारी, सामुदायिक वनका अध्यक्ष, प्रहरी र जनप्रतिनिधिलाई जानकारी गराए पनि कुनै चासो दिइएन। सरोकारवाला निकाय नै उत्खननकर्ताको पक्षमा लाग्दा प्राकृतिक सम्पदाको दोहन बढिरहेको छ।’

चुरे क्षेत्रको संरक्षणको माग राख्दै स्थानीयले गोलबजार नगरपालिका-१० मा सामूहिक निवेदन दिएका छन्। वडा अध्यक्ष उपेन्द्र मुखियाले स्थानीयलाई धम्क्याउँदै सामुदायिक वनका रुख मासेर ग्राभेल उत्खनन गरिएकाले प्रहरी, प्रशासन र डिभिजन वन कार्यालयमा पत्राचार गरिसकेको जानकारी दिए।

यस विषयमा सामुदायिक वनका अध्यक्ष तामाङले आफू अनविज्ञ रहेको प्रतिक्रिया दिए। उनले भने, ‘यो निजी जग्गा हो र सडक निर्माणका लागि मैले पनि सयौं टिपर माटो तथा ग्राभेल दिएको छु। म प्रकृति मास्ने होइन, संरक्षणकर्मी हुँ। रात परेपछि वन र खोलामा एक्स्काभेटर लगाएर उत्खनन भइरहेका छन्, जसमा सबैको मिलेमतो छ। मेरो एक्लो प्रयासले यो रोकिँदैन।’

डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र कुमार मिश्राले उत्खननबारे अनुसन्धान भइरहेको बताए। घटनामा संलग्न एक्स्काभेटर इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा लिइएको छ। उनले भने, ‘सामुदायिक वनमा भइरहेको उत्खनन र रुख कटानबारे अनुसन्धान भइरहेको छ, दोषीमाथि कारबाही गरिनेछ।’

ईलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर गोबिन्द साहका अनुसार सडकमा ओछ्याइएको ग्राभेल सम्याउने क्रममा स्थानीयले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो। उक्त विवादका कारण सुरक्षाका लागि एक्स्काभेटर नियन्त्रणमा लिएर गोलबजार नगरपालिकाको जिम्मा लगाइएको छ।

प्रकाशित: २० माघ २०८१ २०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App