भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किने क्रममा बिहारको मुजफ्फरपुरमा जिप दुर्घटना हुँदा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्।
शनिबार दिउँसो मधुबनी मन्दिर नजिकै दुर्घटना भएको बीआर ३२ पीए ४६६१ नम्बरको स्कार्पियोमा महोत्तरीको मनरा शिसवा नगरपालिकाका तीर्थयात्रीहरू सवार थिए।

तीव्र गतिमा रहेको जिप अचानक अनियन्त्रित भई पल्टिँदा मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र चालकको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ।
दुर्घटनामा घाइते भएका मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर र एक अन्य व्यक्तिको अवस्था गम्भीर रहेको छ। घाइतेहरूलाई उपचारका लागि एसकेएमसीएच अस्पताल पठाइएको छ। भारतीय प्रहरीका अनुसार, घाइतेमध्येका एक मनोहर ठाकुर नेपाल प्रहरीका जवानसमेत हुन्।

प्राप्त जानकारीअनुसार, मृतकहरू महाकुम्भमा स्नान गरेर अयोध्या हुँदै वाराणसी पुगेपछि नेपाल फर्किने क्रममा थिए। प्रत्यक्षदर्शीहरूका अनुसार, जिप तीव्र गतिमा रहँदा एक मोटरसाइकललाई जोगाउने प्रयासमा नियन्त्रण गुमाएर दुर्घटनामा परेको थियो।

महोत्तरी जिल्ला प्रहरी कार्यालयले दुर्घटनाको पुष्टि गर्दै थप विवरण संकलन भइरहेको जनाएको छ। प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार घटनाबारे भारतीय प्रहरीसँग समन्वय भइरहेको बताए।
प्रकाशित: १९ माघ २०८१ २१:०६ शनिबार