काठमाडौं– नेपालस्थित बोस्निया र हर्जेगोभिनाको कन्सुलेटले फोटो प्रदर्शनी आयोजना गरेको छ। बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउँदै दक्षिण पूर्वी युरोपको मुटुमा अवस्थित सो राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले तस्बिरहरुको एक विशेष प्रदर्शनी आयोजना गरिएको हो।
प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी तथा बोस्निया र हर्जेगोभिनाका राजदूत डा. साबिट सुबासिचले गरे। उक्त समारोहमा फ्रेन्ड्स अफ बोस्निया र हर्जेगोभिना इन नेपाल समूहसहित अन्य विशेष अतिथिहरुको उपस्थिति रहेको थियो।
एड्रियाटिक सागरको किनारमा अवस्थित बोस्निया र हर्जेगोभिनाको ऐतिहासिक संस्कृति तथा प्राकृतिक छवि निकै सुन्दरतापूर्वक विश्वप्रख्यात फोटोग्राफर प्रकाश ब्याङले आफ्नो क्यामेराद्वारा तस्बिरमा कैद गरेका छन्।
एक उचित युरोपियन गन्तब्य पर्यटकीय स्थलको रुपमा प्रख्यात बोस्निया र हर्जेगोभिनाको प्राकृतिक सुन्दरता तथा संस्कृति र त्यहाँका नागरिकहरुलाई तस्बिरका माध्यमबाट परिचित गराउने यस प्रदर्शनीको मूल उद्देश्य रहेको छ।
उक्त प्रदर्शनी सार्वजनिक रुपमा ललितपुरको झम्सिखेलमा अवस्थित इभोक बिस्ट्रो तथा क्याफेमा बुधबारसम्म चल्नेछ।
प्रकाशित: ४ वैशाख २०७५ १५:४३ मंगलबार