८ फाल्गुन २०८१ बिहीबार
image/svg+xml ९:४३ पूर्वाह्न
समाज

औषधि खाने पैसा नहुँदा ‘क्यारिङ’ गर्छिन् ७६ वर्षीया वृद्धा

क्यारिङका लागि नेपाल–भारत सीमा क्षेत्रस्थित रुपैडियामा भारतीय सरकारले निर्माण गर्न थालेको प्रवेशद्वार नजिकै बसेकी ७६ वर्षीया वृद्धा। तस्विरः गणेश/नागरिक

नेपाल–भारत सीमा क्षेत्रस्थित भारतले निर्माण गर्न थालेको प्रवेशद्वारसँगै अडिएर एक वृद्धा महिला निन्याउरो अनुहार लाएर टुसुक्क बसेकी छिन्। जतिबेला दिउँसोको तीन बजेको हुँदो हो। उनका छेउमै तीन बोरी सामान छन्। उनीका गाला पूरै चाउरी परेका। स्यानो कालो रङको साइड ब्याक भिरेकी छिन्। ब्याकमा एउटा सानो मोबाइल र औषधि पनि छ। मोबाइलमा पैसा सकिएर शून्य ‘ब्यालेन्स’ छ।

उनी हराएका आफन्तको प्रतीक्षामा निन्याउरो अनुहार लाउँदै बसेकी भने होइनन्। गरिबीका कारण औषधि खाने पैसा नहुँदा ‘क्यारिङ’ को सामान नेपाल छिराउने मौका छोपिरहेकी हुन्। वृद्ध बिरामी शरीरलाई डोर्‍याउँदै दैनिक उनी यसैगरी क्यारिङ गर्छिन्। जसबाट हुने आम्दानीले हुने नियमित औषधि र दैनिक खर्च टार्छिन्।

कोहलपुरबाट दैनिक सार्वजनिक बसमा ओहोरदोहोर गरेर जोखिमपूर्ण काम गर्न उनलाई रहर भने होइन। जीवनको उत्तरार्धसम्म पनि गरिबी पाखा नलागेपछि जीवन जिउन अर्थात् औषधि सेवनका लागि उनी यसरी काम गर्छिन्।

चोरीपैठारी गरी भारतीय बजारबाट नेपाल सामान ल्याउनु गैरकानुनी हो, यो उनलाई स्पष्टसँग थाहा छ। यसरी ल्याउँदा कर छलिसमेत हुने विषयमा उनी अनविज्ञ भने छैनिन्। तर, उनी यो काम गर्न विवश छिन्। किन उनले यस्तो काम गर्छिन् ?

विवाहपश्चात् बागलुङबाट बाजेससुरासहित उनको सबै परिवार सुर्खेत आयो। करिब २०२६ सालतिर आएको उनलाई सम्झना छ। सुर्खेतबाट पनि उनीहरु बाँके झरे। उनले १० सन्तानलाई जन्म दिइन्। अहिले दुई छोरी र एक छोरा जीवित छन्, तर साथमा छैनन्।

उनी बिरामी छिन्। नियमित औषधि खानुपर्छ। औषधि सकियो भने उनको जीवन पनि समाप्त भयो। त्यसैले हर कोसिस गरेर उनले औषधि खानै पर्छ। उनलाई प्रेसर छ, लिभरमा समस्या छ। फोक्सोमा पानी जमेको छ।

यति समस्याबाट ग्रसित उनका श्रीमान्को पनि साउनमा मृत्यु भयो। उनी बेसहारा भइन्। ढल्किएको उमेरमा पनि सास रहँदाको आस भनेजस्तै औषधि र एक छाक खानकै लागि दुःख गरिरहेकी छिन्।

त्यो पनि अवैध। सामान्य खुद्रा पसल गर्नलाई उनीसँग लगानी छैन। अरु काम गर्ने उमेर ढल्केको छ। ‘मैले गर्न सक्ने काम के नै छ र,’ उनले भनिन्, ‘कयौं गाली खाँदै हेपिँदै यही क्यारिङको काम गर्छु।’

दिनमा एकपटक सामान ओसार्दा तीन सयदेखि पाँच सयसम्म फाइदा हुने उनी बताउँछिन्। दिनमा एकपटकभन्दा बढी उनले ओहोरदोहार गर्न सक्दिनन्। कमाएको पैसाले साँझ बिहानको छाक टार्न र नियमित औषधि खानलाई ठिक्क हुने भन्दै उनले भनिन्, ‘रासन र औषधि किनेर बचेको पैसाले कहिलेकसो भन्सार र सशस्त्र प्रहरीले सामान बरामद गर्छन्। त्यो सामानको खर्च साहुले व्यहोर्दैनन्। बचेको पैसा त्यसलाई मिलाउन ठिक्क हुन्छ।’

सीमा वारि (नेपालगन्ज, कोहलपुर) का व्यापारीले माग गरेअनुसारका सामान उनले ल्याउँछिन् र केही नाफा राखेर बिक्री गर्छिन्। ‘जिन्दगी जिउनै पर्‍यो। भोक बस्न सकिँदैन। उमेर जति ढल्के पनि काम नगरी पुग्दैन,’ उनले भनिन्।

मेरो नाम र तस्बिर सहित कथा लेख्न उनले हिम्मत जुगाइन्। भन्छिन्, ‘यहाँ मान्छेले के-के बिक्री गरिसके। देश खोक्रो भइसक्यो। मैले के पाप गरेछुँर। औषधि खानलाई थोरै सामान ल्याउने त काम गर्छु।’

उनले यसो भनिरहँदा पनि उनको सुरक्षा र पेसालाई असर नपुर्‍याउने उद्देश्यले नाम गोप्य राखिएको छ।

प्रकाशित: १७ माघ २०८१ १५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App