८ फाल्गुन २०८१ बिहीबार
image/svg+xml ९:४४ पूर्वाह्न
समाज

कोरियामा बुद्ध नेपालमा जन्मेको बुझाउन अभियान

क्याप्शन

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसीसी) दक्षिण कोरियाले त्यहाँको नयाँ वर्ष ‘सलनाल’ को अवसरमा राजधानी सउलमा सम्मान तथा बुद्ध नेपालमा जन्मेका हुन् (बुद्ध वाज बर्न इन नेपाल) अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रम गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष विपिनकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–आइसीसी)  का केन्द्रीय अध्यक्ष तथा हाल एनआरएनए एकता महाधिवेशन उच्चस्तरीय समितिका सदस्य विनोद कुँवर प्रमुख अतिथि, सचिव जुनु गुरुङ विशेष अतिथिका र प्रवक्ता डा. प्रकाश धमाल सहभागी कार्यक्रममा कोरियामा रहेका विभिन्न दलका प्रमुख, पत्रकार महासंघ, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि र लामा गुरु तथा बौद्ध धर्माल्बिरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रमको सञ्चालन संस्थाका महासचिव प्रशान्त राज बानियाले गरेका थिए।

कार्यक्रमको उद्देश्य र महत्त्व दर्शाउदैँ संघका वरिष्ठ उपाध्यक्ष महेश बजगाईंले भने, ‘गौतम बुद्ध नेपालमा जन्मिएको विषयमा कोरियाली समुदायमा रहेको भ्रमलाई चिर्न यो अभियान सुरु गरिएको हो। आगामी दिनमा पनि यस अभियानलाई निरन्तरता दिनेछौं।’ ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानमार्फत कोरियाली बौद्ध अनुयायीहरूलाई नेपाल भ्रमण गराउने र नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने लक्ष्य रहेको पनि उनले बताए।

त्यसैगरी, संस्थाका युवा तथा विद्यार्थी संयोजक अजय सोडारीका अनुसार हाल एनआरएनएका संस्थाहरूमा आएको विभाजन, असमझदारी र आन्तरिक कलहका कारण विदेशमा रहेका नेपालीहरूको हकहितको वकालत, पर्यटन र लगानी प्रवर्द्धनका क्षेत्रमा प्रभावकारी काम हुन सकेको छैन।

कोरियामा रहेका विभिन्न नेपाली संघसंस्थाहरूले ती कामको जिम्मेवारी लिँदै उल्लेखनीय योगदान पुर्‍याएकाले उनीहरूको सम्मान स्वरूप उक्त कार्यक्रम आयोजना गरिएको सोडारीले बताए।

उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका विनोद कुँवरले गैर आवासीय नेपाली संघले विगत लामो समयदेखि ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान सञ्चालन गरिरहेको छ। ‘कोरियामा यस अभियानको पुनः सुरुवात हुनु निकै सकारात्मक कदम हो,’ उनले भने।

उनका अनुसार गैर आवासीय नेपाली संघको केन्द्रमा देखिएको विवादलाई सर्वोच्च अदालतको परमादेशअनुसार छ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने योजना छ। साथै एनआरएनएलाई विधि, विधान र एकतामा आधारित बनाउँदै अघि बढ्न कसैले रोक्न नसक्ने कुरा पनि उनले स्पष्ट पारे।

एनआरएनए दक्षिण कोरियाले नेपालको पर्यटन प्रवर्द्धन र प्रचारमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता कार्यक्रमका सभाध्यक्ष विपिन कुमार गुरुङले व्यक्त गरे। साथै, ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानलाई थप सशक्त बनाउँदै लैजाने योजनाबारे जानकारी पनि उनले गराए।

राजदूतको अनुपस्थितिप्रति दुख व्यक्त गर्दै उनले भने, ‘सरकारले गर्नुपर्ने काम हामीले गरिरहेका छौं। तर, राजदूतलाई निमन्त्रणा गर्दा पनि उपस्थित नभएकाले यसले कोरियामा रहेका नेपाली समुदायमा नकारात्मक सन्देश दिएको छ।’

दक्षिण कोरियामा भगवान् गौतम बुद्ध भारतमा जन्मिएको भन्ने धारणा गहिरोसँग स्थापित भएको परिप्रेक्ष्यमा ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानले यसलाई सुधार्ने दिशा तय गरेको छ। कोरियाली समुदायमा नेपालको सकारात्मक छवि प्रस्तुत गर्दै पर्यटन प्रवर्द्धनका लागि यस प्रकारका कार्यक्रमले ठोस योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ माघ २०८१ १५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App