जुम्ला – जुम्लाकाे तिला गाउँपालिका ९ का वडाध्यक्ष शेरबहादुर बोहोरा सामाजिक सुरक्षा भत्ता बाड्न गाउँमा व्यस्त छन्। जंगलको बाटो घण्टौ सम्म हिड्दा असुरक्षा बढ्न सक्ने भन्दै वडापालिकाको टिम र कर्मचारी सहित उनी गाउँमा भत्ता वितरण गर्न पुगेका हुन्।
सामाजिक सुरक्षा भत्ताको रकम लिएर घरदैलोमा पुग्दा सुरक्षाको अनुभूति हुने भएकाले वडा कार्यलयको संयुक्त टिम भत्ता बाड्न हिडेको वडा सचिव कमल घर्तिले बताए। उनका अनुसार वडाध्यक्ष बोहोरासँग ३ जना वडासदस्य पनि भत्ता वाड्न घरदैलोमा छन्।
जनप्रतिनिधिहरु घरमै भत्ता बाड्न आएपछि स्थानीय दंग छन्। स्थानीय दलबहादुर बोहोराले भने, “पहिले वडा कार्यालयमा पाँच घण्टा हिडेर सामाजिक सुरक्षा भत्ता बुझ्नु पथ्र्यो, अहिले घरदैलोमै बुझ्छौ। यो कार्यले मन छोएको उनी बताउँछन।”
गाउँमा भत्ता बाड्न जादा जनतासँगको सामिप्यता बढेको वडाध्यक्ष शेरबहादुर बोहोराले बताए। उनले भने, “गाउँमा पुग्दा समुदायसँग भेटघाट पनि हुने र जनताको काम पनि हुने भएकोले हरेक चौमासिकमा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो।
गाउँमै पुगेर भत्ता दिदा स्थानीयले साच्चिकै सिहदरवार गाउँमा पुगेको अनुभूति गरेका छन्।” वडा कार्यालयमै पुग्न न्यूनतम ५ घण्टा लाग्छ। कामकाजमा यो कार्यले सहजता ल्याएको छ।
यहाँ पाँच वर्ष मुनिका बालबालिकालाई मासिक ४ सय रुपैयाँ, विधुवा महिलालाई १ हजार, जेष्ठ नागरिकलाई १ हजार, ७० नाघेकालाई २ हजार, आंशिक अपांगता भएका व्यक्तिलाई मासिक ६ सय र पूर्ण अपांगता भएकालाई मासिक २ हजार रुपैयाँ सामाजिक भत्ता दिइदै आएको छ।
प्रकाशित: ४ वैशाख २०७५ १०:३९ मंगलबार