२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

नेपालकै पहिलो राजदरबारले पायो पुनर्जीवन

नेपालकै पहिलो मध्यकालीन राजदरबार मानिएको भक्तपुरको त्रिपुर दरबार पुनर्जीवित भएको छ। भक्तपुर नगरपालिका–५, सुकुलढोका क्षेत्रमा अवस्थित यस दरबारको पुनर्निर्माण हालै सम्पन्न भएको हो।

इतिहासविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार त्रिपुर दरबार नेपाल संवत् २२०–२३० (हालको नेपाल संवत् ११४५) मा मल्ल राजा आनन्ददेवको पालामा बनेको नेपालकै पहिलो मध्यकालीन राजदरबार हो।

पुनर्निर्माण सम्पन्न भएको दरबारको मंगलबार एक विशेष कार्यक्रमबीच उद्घाटन गरियो। प्राचीन स्मारक तथा दरबार हेरचाह कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले दरबारको मुख्य ढोकामा रिबन काटेर औपचारिक उद्घाटन गरिन्।

कार्यक्रममा प्रा.डा. श्रेष्ठले सुकुलढोकामा भेटिएको लिच्छविकालीन शिलालेखमा उल्लेखित ‘श्री पश्चिमाधिकरण’ शब्दले यस स्थान तत्कालीन समयमा राजाको मुकाम रहेको पुष्टि गर्ने बताए।

उनले भने, ‘यो दरबारसँगै त्रिपुर पाठशाला पनि थियो, जहाँबाट कर्माचार्यहरू दीक्षित भई राजदरबारका पूजापाठमा खटिन्थे।’ श्रेष्ठले दरबारसम्बन्धी तथ्य र ऐतिहासिक प्रसंग समेटिएको आफ्नै पुस्तक ‘त्रिपुर र थथुनियम् राजकुल’ को सन्दर्भसमेत उल्लेख गरे।

साढे दुईतले सानो आकारको दरबार सुकुलढोकाको मुख्य चोक नजिकै रहेको छ। दरबार दक्षिण मोहोडामा रहेको छ भने यसको अघिल्लो भागमा ऐतिहासिक ढुंगेधारा र भग्नावशेषको रूपमा रहेको सार्वजनिक पाटी छन्। ढुंगेधारामा हाल पानी प्रवाह छैन।

कार्यक्रमका सभापति तथा स्थानीय प्रा.डा. सिद्धिवीर कर्माचार्यले दरबार २०७२ सालको भूकम्पपछि भग्नावशेषमा परिणत भएको जानकारी गराउँदै तीन वर्षको मेहनतपछि पुनर्जीवन पाएकोमा खुसी व्यक्त गरे। उनले भने, ‘यस दरबारको तीन–चार सय वर्षको अन्तरालमा जिर्णोद्धार हुँदै आएको इतिहासले हामी नेपालीहरूका लागि गौरवको विषय बनाएको छ।’ 

दरबार नजिकै भक्तपुरको अष्टमातृकामध्येकी त्रिपुरसुन्दरी मन्दिर पनि छ। यस मन्दिरलाई तत्कालीन समयमा भक्तपुरको ईष्टदेवीका रूपमा पूजा गरिन्थ्यो।

सुकुलढोकाको नामको उत्पत्तिबारे इतिहासविद्हरूले ‘सुगलढोका’ शब्दबाट अप्रभंस भएर ‘सुकुलढोका’ बनेको जानकारी दिएका छन्। यो ठाउँ लिच्छविकालीन राजप्रासाद त्रिपुर दरबारको मुख्य प्रवेशद्वार रहेको प्रमाण भेटिएको छ।

पुनर्निर्माणपछि दरबार सर्वसाधारणका लागि खुला गरिएको छैन। तर उद्घाटन कार्यक्रममा सहभागीहरूलाई अवलोकन भ्रमण गराइएको थियो।

प्रकाशित: १५ माघ २०८१ १९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App