९ माघ २०८१ बुधबार
image/svg+xml
समाज

विभिन्न देशका न्यायाधीश र कानुन व्यवसायी नेपाल आउने

विभिन्न देशका न्यायाधीश, कानुन व्यवसायी एकैचोटि नेपाल आउने भएका छन्। नेपालमा पहिलो पटक हुन लागेको ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा भाग लिन २० भन्दा बढी देशबाट नेपाल आउन लागेका हुन्। नेपाल बार एसोसिएसनको समन्वयमा फागुन ४ र ५ हुन लागेको सम्मेलनमा न्यायाधीश, कानुन व्यवसायीको उपस्थिति हुन लागेको हो।

‘मानव अधिकारको सहनशीलता : प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना’ विषयका मुद्दामाथि छलफल हुने नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए। एसियाबाट मात्रै नभएर अमेरिका, बेलायतबाट पनि सम्मेलनमा सहभागी गराउने प्रयास भइरहेको उनले बताए। समसामयिक मानव अधिकार मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धतामा मानव अधिकार, वातावरणीय न्याय र आदिवासी जनजाति समुदायका अधिकारका विषयमा विभिन्न सत्रमा छलफलको कार्यक्रम रहेका छन्। नेपाल बार एसोसिएनले ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनको पाँचौँ संस्करण आयोजना गर्न पाउँदा खुसी लागेको’ ल एसियाका वरिष्ठ अधिवक्ता श्याम दिवानले बताएका छन्। 

विश्वभरका वकिलहरूको उपस्थितिले समृद्ध बनाउने उनको भनाइ छ। ‘विश्वभरका न्यायपालिका, कानुन व्यवसायी, मानवअधिकारकर्मीको नेपालमा उपस्थिति हुनुले नेपालको मानवअधिकार संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास हामीले लिएका छौँ,’ नेपाल बारका अध्यक्ष घिमिरेले भने। काठमाडौंमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। कार्यक्रममा कानुन र अधिकारको दृष्टिकोणबाट १४ वटा विषयका विभिन्न सत्रमा छलफल हुने ल एसियाका सदस्यसचिव बाबुराम अर्यालले बताए। ‘शरणार्थी, भूमि अधिकार, महिला बालबालिकालगायत विषयलाई पनि कानुन र मानवअधिकारको दृष्टिकोणबाट छलफल गरिनेछ,’ उनले भने। 

नेपालमा पग्लँदै गएका हिमशृङखला, देशमा पर्दै गएको वातावरणीय असर, संक्रमणकालीन न्याय, डिजिटल युगमा मानव अधिकार, आप्रवासी र शरणार्थीको विश्वव्यापी चिन्ता, आदिवासी जनजातिविरुद्धको हिंसा र भेदभावको संरक्षण विषयमा छुट्टाछुट्टै सेसन सञ्चालन हुने बताइएको छ। ल एसियामा ३६ वटा देशको प्रतिनिधित्व रहेको छ। सन् १९६६ मा भएको ल एसियाको कार्यक्रममा नेपाल बार एसोसिएसनले पहिलो पटक सहभागिता जनाएको थियो।

प्रकाशित: ९ माघ २०८१ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App