९ माघ २०८१ बुधबार
image/svg+xml
समाज

इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो, भाकल गरे सन्तान प्राप्त हुने जनविश्वास

चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेको छ।

गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने रहेको यस इच्छाकामना मन्दिरमा प्रचारप्रसार र मन्दिर पुनः निर्माणसँगै धार्मिक पर्यटकहरूको आवागमन बढेको हो। मन्दिरका पुजारी हर्कबहादुर गुरुङका अनुसार शनिबार र सार्वजनिक बिदाको दिन मन्दिरमा दर्शनार्थीहरूको भीड नै लाग्ने गरेको छ।

उनले भने, 'यहाँ मन्दिर पुनःनिर्माणलगायत विभिन्न आवश्यक संरचना बनेका छन्, पछिल्लो केही वर्षयता प्रचारप्रसार बढेकाले पनि दर्शनार्थीको आवागमन बढेका हो।'

यहाँको सुन्दर दृष्य अवलकोन गर्न र पिकनिक मनाउन पनि पर्यटक आउने गरेको पुजारी गुरुङको भनाइ छ। उनका अनुसार समुद्री सतहबाट एक हजार आठ सय मिटरको उचाइमा रहेको इच्छाकामना मन्दिरको वरपर जङ्गलले ढाकेको छ। फागुन र चैतमा ढकमक्क फुलेका लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ। इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्र्रे देख्न सकिन्छ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले धार्मिक पर्यटकीयको रूपमा विकास हुँदै गएको यस क्षेत्रमा मन्दिर पुनःनिर्माणसहित आवश्यक विभिन्न भौतिक संरचना निर्माण गरिएको बताए। उनका अनुसार मन्दिरको आम्दानीलाई पारदर्शी बनाउन गाउँपालिकाको मातहतमा ल्याइएको छ। पुजारी र हेरालु सरसफाइका कर्मचारीलाई गाउँपालिकाले मन्दिरको भेटी आम्दानीबाट तलब उपलब्ध गराउँदै आएको छ। यहाँ लिफ्टिङ प्रविधिबाट खानेपानीको पनि व्यवस्था गरिएको उनले बताए।

मनकामनाका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किम्बदन्ती रहेको छ। इच्छाकामनाको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त हुने जनविश्वास रहेको छ।

अध्यक्ष गुरुङका अनुसार इच्छाकामना मन्दिरमा प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा ठूलो मेला लाग्छ। मेलाका दिन गाउँपालिकाले सार्वजनिक बिदासमेत दिँदै आएको छ। मोटर बाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थीहरू इच्छाकामनामा पनि आउने गरेका छन्।

भारतीय पर्यटकसमेत मन्दिर दर्शनका लागि आउन थालेको पुजारी गुरुङले जानकारी दिए। फिस्लिङ शक्तिखोर सडक र मुग्लिन तामिन सडक प्रयोग गरेर पर्यटकहरू मन्दिर पुग्ने गर्छन्। 

प्रकाशित: ७ माघ २०८१ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App