६ माघ २०८१ आइतबार
image/svg+xml
समाज

त्रियुगाका सबै वडाको घर बहाल कर निर्धारण

त्रियुगा नगरपालिकाले नयाँ घर बहाल कर निर्धारण गरेर कार्यान्वयन गर्ने तयारी गरेको छ। गत पुस २७ गते सम्पन्न १४ औं नगरसभाद्वारा संशोधित नयाँ घर बहाल कर नगरपालिकाले कार्यान्वयन गर्न लागेको हो।

यसअघि लमसम (सरदर) मा उठाइँदै आएको बहाल कर अब विभिन्न वर्गमा विभाजन गरी न्यूनतम शूल्क निर्धारण गरी लिइने भएको छ। जसका लागि बजारक्षेत्र, भित्री सडक तथा फरकफरक वडाको छुट्टाछुट्टै बहाल कर निर्धारण गरिएको छ। जसका लागि वडा नंं १ देखि १६ सम्म साविक घरबहाल करमा संशोधन गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलका अनुसार पछिल्लो संशोधित निर्णय अनुसार गाईघाट बजारलाई दुई वर्गमा विभाजन गरिएको छ । मदन भण्डारी लोकमार्गले छोएको सडक दायाँबायाँ र साविक टाउन प्लानिङक्षेत्रको अलगअलग कर तोकिएको हाकिम सिग्देलले बताए। लोकमार्ग दायाँबायाँको बहाल करप्रति महिना न्यूनतम १० हजार कायम गरिएको छ भने टाउन प्लानिङक्षेत्र सडक दायाँबायाँ मासिक न्यूनतम सात हजार तोकिएको छ।

गाईघाटसँगै जोडिएको बोक्सेलगायत वडा  नं. १० का सडक दायाँबायाँका पसललाई मासिक न्यूनतम पाँच हजार भाडा तोकिएको छ भने वडा नं. ३ मोतिगडा, ४ बगाहा, ६ जलजले र १३ असारीका लागि मासिक चार हजार बहाल तोकिएको छ। त्यसैगरी वडा नं. ५ देउरी, १४ साउनेलाइका भाडावाल व्यापारीलाई अब मासिक न्यूनतम तीन हजार पाँच सय रूपैयाँका दरले लाग्ने भाडाको वहाल कर तिर्नुपर्नेछ। वडा नं. १५ खाँबु र १६ चिलाउनेका लागि मासिक न्यूनतम तीन हजार भाडा तोकिँदा १ र २ नं. वडाको जोगीदहक्षेत्रलाई मासिक दुई हजार पाँच सय बहाल तोकिएको छ।

नगरपालिकाले कठघरा व्यवसायीलाई पनि न्यूनतम मासिक भाडा कायम गरेको छ। कठघरा भने सबै वडाका लागि मासिक न्यूनतम पाँच सय बहाल तोकिएको छ। त्यसका लागि भने वडा कार्यालयबाट सिफारिस भएर आउनुपर्ने प्रावधान नगरपालिकाले राखेको छ। जुनसुकै वडाका सडकहरूमा कठघरा वा घुम्ती व्यापार गर्नेहरूको अभिलेख वडाले राखी सिफारिस गर्दा सो भाडाबापतको वहाल कर लिने निर्णय नगरसभाले गरेको हो।

नगरसभाले पारित गरेको आर्थिक ऐन २०८०÷८१ को संशोधन प्रस्ताव अनुसूची ११ को दफा ४४ मा रहेको व्यवस्था अनुसार सो संशोधित बहाल कर कायम गरिएको नगरप्रमुख बसन्त बस्नेतले बताए। उनका अनुसार यसअघि बजार र दिहाट सबैतिर एकनासको वहाल कर कायम थियो। त्यसो गर्दा बजारक्षेत्रलाई सहज र दिहाटका व्यापारीलाई मार्का पर्ने देखिएकाले यस्तो निर्णय गर्न संशोधन गर्नु परेको मेयर बस्नेतले बताए। 

प्रकाशित: ६ माघ २०८१ ०९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App