३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

राप्तीमा छोडियो ४१ गोही

चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्ती नदीमा छोडेको छ। गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ गोही नदीमा छोडिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो वर्ष थप ६० गोही प्राकृतिक बासस्थानमा छोड्ने योजना रहेको छ। गत आवमा एक सय पाँच गोही नदीमा छोडिएको भन्दै नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरल्ने र त्यहाँ हुर्किएका बच्चालाई नदीमा छोड्ने गरिएको उनले बताए।

हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा एक हजार नौ सय ९८ गोही छोडिसकिएको निकुञ्जका सूचना अधिकारी थापामगर उल्लेख गरे। ती गोही बच्चे दररेट निकै न्यून छ।

थापामगरले गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा एक सय ५२ र नारायणी एक सय तीन गोही भेटिएका बताए। हाल प्रजनन केन्द्रमा सात सय ५९ गोही छन्। तीमध्ये एक सय ९५ भुरा, चार सय ३२ किशोर अवस्थाका, एक सय अर्धवयस्क र ३२ वयस्क छन्।

घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमार लगायत देशमा पाइने घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन्।

सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति थियो भने सन् १९७० मा त्यसको दुई प्रतिशतमात्र सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो। त्यतिखेर देशभरमा एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिएको थियो।

नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, मानिसले माछा मार्ने लगायत गतिविधिका कारण गोही प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए। नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको उनको भनाइ छ।

प्रकाशित: २४ पुस २०८१ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App