४ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

नवजात शिशु मृत्यु प्रकरण: माझी बस्तीका वीरबहादुरसँग मुख्यमन्त्रीले गरे फोन संवाद

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मिथिला नगरपालिका–१० लालगढस्थित माझी टोलका कृष्णबहादुर माझीसँग फोन संवाद गर्दै नवजात शिशुको अकाल मृत्युको घटनाबारे चासो व्यक्त गरेका छन्।

एक राष्ट्रिय दैनिकमा माझी टोलमा नवजात शिशुको अकाल मृत्युका पीडादायी घटनाबारे समाचार प्रकाशित भएपछि मुख्यमन्त्री सिंहले शनिबार आफ्ना प्रेस सल्लाहकार अनिलकुमार कर्ण र स्वकीय सचिव रविन सिंहलाई वस्तुस्थिति बुझ्न माझी टोल पठाएका थिए।

सल्लाहकार कर्णले माझी बस्तीका पीडित भनिएका घरपरिवारसँग भेट गरी घटनाको सत्यतथ्य बुझेका छन्। मुख्यमन्त्री सिंहले फोनमार्फत कृष्णबहादुर माझीसँग संवाद गर्दै शिशुको अकाल मृत्युका कारण पत्ता लगाउन र समस्या समाधानका लागि विशेषज्ञ चिकित्सकको टोली माझी टोलमा पठाउने आश्वासन दिए।

साथै, उनले एक महिनाअघि कृष्णबहादुरको नवजात शिशुको निधनप्रति शोक व्यक्त गर्दै भविष्यमा यस्ता दुःखद घटनाहरू रोक्न प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताए।

मुख्यमन्त्री सिंहले भने, "म विशेषज्ञ चिकित्सकसहितको टोली आइतबार नै माझी टोलमा पठाउँदैछु। टोलीको प्रतिवेदनका आधारमा आमाबच्चाका लागि उपचार र राहत व्यवस्थापन गर्नेछौं।"

माझी टोलका वीरबहादुर माझीका दुई श्रीमतीबाट जन्मिएका १५ सन्तानमध्ये १०औंको ज्यान गुमिसकेको हो।

आइतबार मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानको संयोजनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखाका प्रमुख वर्षा प्रकाश र प्रतिष्ठानका वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. रुबी सिंहको नेतृत्वमा चिकित्सा टोली माझी टोलमा जाने प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले जानकारी दिए।

टोलीले घटनाको कारण पत्ता लगाई समाधानका लागि आवश्यक कार्ययोजना अघि बढाउनेछ।

प्रकाशित: २० पुस २०८१ १९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App