जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको शनिबार दिउँसो मृत्यु भएको छ।
हाडनाता करणी कसूरमा दोषी ठहर भएका मोरङको बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए।
उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि राईलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा दिउँसो ३ः५० बजेतिर चिकित्सकले मृत घोषित गरेको ढुंगेलले जानकारी दिए।
जिल्ला अदालत मोरङले राईविरुद्ध दर्ता भएको हाडनाता करणी मुद्दामा २०७३ माघ ९ गते १४ वर्ष कैद सजाय तोकेको थियो। राईले २०८७ साल जेठ ५ गतेसम्म कैद भुक्तान गर्नुपर्ने हुन्थ्यो।
सजाय भुक्तानकै क्रममा उनको मृत्यु भएको हो। महिला र पुरुष गरेर ३ सय जना क्षमताको कारागारमा हाल १ हजार १ सय १० जना कैदीबन्दी रहेको कारागारले जनाएको छ।
प्रकाशित: २० पुस २०८१ १९:१२ शनिबार