coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुरक्षामा २०७४ : कमान्ड फुस्किएको वर्ष

काठमाडौं-नेपाल प्रहरीका लागि वर्ष २०७४ अफापसिद्ध भयो। २०७३ को अन्त्यबाट सुरु भएको संगठन प्रमुखको नियुक्तिबारे कानुनी विवाद २०७४ मा टुंगियो तर नियुक्तिका क्रममा पेस गरिएका कागजपत्र सक्कली कि नक्कली भन्ने विवाद अझै जारी छ।

प्रहरी महानिरीक्षक नियुक्ति निर्णय पटक–पटक विवादमा तानिए पनि निर्णय प्रक्रिया सुधारमा सरकार सुस्त देखियो । सुरक्षा संगठनको सञ्चालन नीति र पद्धतिमा भन्दा पनि आफूअनुकूलता नै सरकारको प्राथमिकतामा पर्यो। अति राजनीतिले प्रहरी संगठन थला पर्यो।

आ–आफ्नाको बढुवाका लागि अनावश्यक पदावधि बढाउँदा प्रहरी र सशस्त्र प्रहरीका एआइजी तहका अधिकारी पङ्गु बन्न पुगे भने प्रदेश र संघको निर्वाचन सम्पन्न भई प्रदेश सरकार गठन भइसक्दासमेत सुरक्षा निकायको संघीय संरचना कार्यान्वयनमा आउन सकेन।

नवराज सिलवाल र जयबहादुर चन्द बीचको लडाईंमा प्रकाश अर्यालको काँधमा आइजिपीको फुली चढ्यो तर पनि उनले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन सकेनन् । चेन अफ कमान्ड कायम गर्न उनी कमजोर देखिए ।

प्रहरीको २५ औं आइजिपीको रुपमा प्रहरी कार्यालयमा फोटो झुन्ड्याउनेबाहेक उनले स्मरणीय काम गर्न सकेनन् । उनको कार्यकालमा प्रहरी गम्भीर अपराधमा मुछिए । काठमाडौंको दरबारमार्गस्थित प्रहरी कार्यालयका प्रमुख डिएसपीदेखि सईसम्म सामूहिक बलत्कारको घटना लेनदेनमा मिलाउन सक्रिय भएको आरोपमा मुछिए । प्रहरीमध्येका कोही हत्यामा पक्राउ परे भने कोही जबर्जस्ती रकम असुलीमा ।

गम्भीर प्रकृतिका आपराधिक घटना हुनुअगाडि नै नियन्त्रण गर्न असफल भएको प्रहरी घटनामा संलग्नको पक्राउमा भने सफल देखियो । 

काठमाडौंमा दिउँसै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भयो । असोज २३ मा महासंघका अध्यक्ष गौचन घरबाट अनामनगरस्थित महासंघ कार्यालय जाने क्रममा बाटैमा मारिए । पौने तीन बजेतिर उनी चढेको बा१३च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीमा गोली हानेर हत्या गरिएको थियो । मध्य दिनमा सहरको मध्यभागमा गोली हानेर हत्यारा फरार भएका थिए ।

सुन तस्करीको क्रम उस्तै रह्यो । काठमाडौंमा ८८ किलोसम्म सुन फेला पर्‍यो। महानगरीय प्रहरी अपराध महाशाखाले ठमेलमा ८८ किलो सुन फेला पारेको थियो । सिआइबीले १५ किलो मात्र सुन फेला पार्यो ।
अनुसन्धानमा महाशाखाले फेला पारेको सुन चिनिया तस्कर समूहले नेपाल भित्रयाएको देखायो। ब्युरोको अनुसन्धानमा १५ किलो सुनको तस्करीमा जनप्रतिनिधि रामकुमार पौडेल संलग्न देखिएका थिए । भरिया पक्राउ पर्ने, मूल नाइके उम्कने क्रम रोकिएन । पक्राउलाई सफलता मान्ने भए एउटा पाटो, नत्र सुन तस्करी नियन्त्रणमा प्रहरीको प्रभावकारिता देखिएन ।

पुरातात्विक सम्पदा र वन्यजन्तुको अङ्गको कारोबारमा २०६५ सालदेखि प्रहरीको खोजी सूचीमा परेका अमेरिकी नागरिक इयान बेकर नेपाल प्रहरीले जारी गराएको रेडकर्नर नोटिसको आधारमा ग्रिसमा पक्राउ पर्दासमेत नेपालले उनलाई स्वदेश ल्याउन सकेन ।

साउन ११ मा राजधानीको एक विद्यालयबाटै विद्यार्थी अपहरणमा परे । आफ्नै बाबुको साथीबाट अपहरणमा परेका ११ वर्षीय बालक धन्न सकुशल नै अपहरणमुक्त भए । पुस २१ मा वसन्त पौडेल मारिए। 
नेपाल प्रहरीलाई कलंकित बनाउने सुडान घोटालाका अभियुक्त प्रहरीका तीन पूर्व आइजिपी रमेश चन्द ठकुरी, हेमबहादुर गुरुङ र ओमविक्रम राणालाई सर्वोच्चले दोषी ठहर गर्‍यो। दोषीमध्ये हेमबहादुर र राणासहित ४ जनाले असार ७ मा आत्मसर्मपण गरे । ठकुरी अझै फरारै छन् । प्रहरीले उनको खोजीमा चासो देखाएको छैन । 

जसले प्रहरीको साख बढायो 
१४ वर्षीया किशोरीको बलात्कार र हत्या अभियोगमा ६ वर्षदेखि फरार रहेका श्याम राउतको पक्राउले प्रहरीको साख बढायो । भारतमा लुकेर बसेका उनलाई रामेछाप प्रहरीको सक्रियतामा असार १२ गते पक्राउ गरेर नेपाल ल्याइएको थियो । 

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा संलग्न समीरमान बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतदेखिनै पक्राउ गरेर नेपाल ल्यायो । यसले प्रहरीले चाह्यो भने कोही जोगिन्नन् भन्ने कथनलाई बलियो बनायो ।

२०७३ मा मारिएका दुर्गा तिवारी र २०७४ मा मारिएका वसन्त पौडेलको हत्याका योजनाकार मानिएका मनोज पुन फागुन ९ मा इन्काउन्टरमा मारिए । भारतमा लामो समयदेखि लुकेर बसेका उनी एकाएक कपिलवस्तुमा इन्काउन्टरमा पर्नुले घटना नियोजित देखायो तर आतंकको अन्त्य भने भयो । ठूलो प्रकृतिको वित्तीय अपराध नियन्त्रणमा प्रहरी केही हदसम्म सक्रिय देखियो। 

दण्डहीनताविरुद्ध धावा

वैशाख ३ मा जिल्ला अदालत काभ्रेले मैना सुनुवारको हत्यामा जोडिएका तीन सैनिक अधिकृतलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनायो । अवकाशप्राप्त महासेनानी बबी खत्री, सहसेनानी अमित पुन र सुनील अधिकारीलाई २० वर्ष कैद सजाय सुनाएको थियो । 

१५ वर्षीया किशोरी मैनालाई घरबाट पक्राउ गरी काभ्रेको पाँचखालमा लगेर २०६० फागुन ५ मा हत्या भएको थियो । अदालतको यो फैसलाले दण्डहीनताविरुद्ध धावा बोल्यो । उज्जन श्रेष्ठको हत्या अभियोगमा जन्मकैद सुनाइएका बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेर अदालतको दण्डहिनताविरुद्धको अभियानमा सघायो । 

तर सरकार भने दण्डहीनता बढाउनै सक्रिय भयो । थरुहट र मधेस आन्दोलनका क्रममा जघन्य अपराधको आरोप लागेका पाँच सय जनाको मृद्दा फिर्ता लिने सरकारको निर्णयको विरोध भयो। जेठ ४ मा बसेको मन्त्रिपरिषद्को बैठकले कैलालीको टीकापुरमा ८ प्रहरीको हत्यामा संलग्न र मधेस आन्दोलनकाक्रममा विभिन्न जिल्लामा भएका गम्भीर अपराधका आरोपीको मृद्दा फिर्ताको निर्णय गरेको थियो । निर्णय पूर्ण रुपमा कार्यान्वयन भने हुन सकेन।

‘अपराधी’लाई प्रोत्साहन
उपत्यकामा संगठित आपराधिक सञ्जाल चलाएर कुख्यात भएका दीपक मनाङेलाई मनाङबासीले प्रदेश सभाको माननीय बनाइदिए । मनाङेको माननीय यात्राको साक्षी नेकपा एमाले बस्यो । सर्वोच्च अदालतले विचाराधीन मुद्दाको किराना लगाउँदा उनी हत्या प्रयासको अभियोगमा पहिल्यै सजाय पाइसकेका र निर्वाचनमा उम्मेदवार बन्नसमेत अयोग्य रहेको रहस्य खुलेपछि उनी फरार भए । धन्न माननीयको सपथ खान पाएनन् । उनको फरारयात्रा जारी छ ।

कैलाली घटनामा मुख्य योजनाकारको रुपमा अदालतले अरेस्ट वारेन्ट जारी गरेका रेशम चौधरी फरारै रहेको अवस्थामा प्रतिनिधि सभाको उम्मेदवार बनेर विजयी पनि भए । अदालतको हस्तक्षेपमा निर्वाचित भएको प्रमाणपत्र लिन नपाएका उनले पछि आत्मसर्मपण गरे । जेलमा रहेर माननीयकै हैसियत लिने उनको प्रयास जारी छ ।

कालो धनको रङ फेरियो
आपराधिक गतिविधिबाट कमाएको सम्पत्ति भन्दै सम्पत्ति शुद्धीकरण विभागमार्फत् विशेष अदालतमा मुद्दा पुगेका गुण्डाहरुको ‘कालो सम्पत्ति’ यो वर्ष सेतो भयो । गुन्डा नाइके पर्शुराम बस्नेत, गणेश लामा र चक्रे मिलनको सम्पत्तिलाई अदालतले यही वर्ष सेतो भएको प्रमाणित गर्‍यो। मनाङेको सम्पत्ति गत वर्ष नै चोखिएको थियो । मनाङे फरारै छन् । चक्रे स्वतन्त्र छन् । वर्षको अन्त्यमा हतियारसहित पक्राउ परेका लामा भने पूर्पक्षका लागि थुनामा पुगे।

को हिट, को फ्ल्प !

हिट : दुर्गाबहादुर राना
दाङको छाँगामुनिको मतदान केन्द्रमा फालिएको बम हातले टिपेर फ्याँकी मानवीय क्षति रोक्ने तत्कालीन प्रहरी हबल्दार दुर्गाबहादुर रानाको दुस्साहसको सबैतिर प्रशंसा भयो ।
मतदाता भोट दिन लाइनमा बसेको बेला फेला परेको बम उनले ट्याप्पै टिपेर फालेका थिए । बम हातले टिपेर फाल्नु ज्यान जोखिममा पार्ने मुर्खता त हो तर उनको मुर्खताले सर्वसाधारणको ज्यान जोगाएकाले उनको कामको प्रशंसा भयो । 
तुलसीपुर उपमहानगरपालिका ३ अम्बासस्थित प्रतापकोट निमावि मतदान केन्द्रमा खटिएका उनले मतदान केन्द्रको पूर्वपट्टिको छाँगो झाडीबाट मतदान केन्द्रतिर सुतली बम फालिएको थियो । बम रानानजिकै आएपछि उनले आगो बलिरहेको गोलो बम हातले टिपेर मतदान केन्द्रभन्दा पर फ्याँकिदिएका थिए । 
अहिले रानाले अवकास पाइसकेका छन् । उनको साहसको कदर गर्दै गृह मन्त्रालयले उनको एक तह पदोन्नति गरेर सम्मान गरेको थियो ।

फ्लपः प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी
माघ ७ मा काठमाडौंको होटल ल्यान्डमार्कमा भएको सामूहिक बलात्कार घटना लेनदेनबाट मिलाउन प्रहरी नै सक्रिय भएको लज्जास्पद घटना सार्वजनिक भयो । बलात्कार दाबी गरिएको घटना लेनदेनबाट मिलाउन सक्रिय भएको घटनामा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी जोडिए ।

दुर्गम स्थानमा प्रहरीको मिलेमतोमा हुने यस्ता जघन्य अपराधका घटना यदाकदा सार्वजनिक भइरहेको थियो । राजधानीको केन्द्रमा रहेको प्रहरी कार्यालयमै प्रहरीबाट भएको बदमासीले संगठनकै शिर निहुर्‍यो। 

अहिले ठकुरी र भण्डारी निलम्बनमा छन् । भारतीलाई सरुवा मात्र गरियो । सामूहिक बलात्कारमा जोडिएका शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलमध्ये कार्की पक्राउ परेका छन् भने अन्य फरार छन्। 

शुक्रबार साप्ताहिकबाट

 

प्रकाशित: ३० चैत्र २०७४ ०८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App