१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

कटारी–घुर्मी सडक: बजेट अभावले वर्षौंदेखि निर्माण अलपत्र

सिद्धिचरण लोकमार्गको बेतिनी–घुर्मी खण्डमा पहिरोले खसाएको रुख पन्छाउँदै कामदार। तस्बिर: महेश्वर/नागरिक

तराई र पहाडी भेगलाई जोड्ने महत्वपूर्ण सिद्धिचरण लोकमार्ग बजेट अभावका कारण वर्षौँदेखि अलपत्र परेको छ।

सिराहाको मिर्चयादेखि उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङलाई समेट्ने यो लोकमार्ग उपभोक्ताका लागि अत्यावश्यक मानिए पनि स्तरोन्नतिको अभावमा दुर्दशामा परेको छ।

२०५८ सालमा तत्कालीन नेपाली सेनाले निर्माण गरेको ७२.०२ किलोमिटर मिर्चया–घुर्मी खण्डलाई सर्फेस ड्रेसिङ प्रविधिमा कालोपत्रे गरिएको थियो। तर, भारी सवारी साधनको अत्यधिक चापले पाँच वर्ष नबित्दै कालोपत्रे बिग्रिएर सडक कच्चीमा परिणत भएको छ। हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य बन्ने समस्याले २० वर्षदेखि यात्रुलाई दु:ख दिँदै आएको छ।

लोकमार्गका विभिन्न खण्डमा केही मर्मत भए पनि कटारी–घुर्मी खण्ड उपेक्षित छ। कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले मिर्चया–कटारी खण्डमा पटक–पटक लगानी गरिए पनि माथिल्लो भेगलाई उपेक्षा गरिएको बताए। स्थानीयले छुट्टै कार्यालयको माग गर्दै दुई वर्षअघि कटारीमा ‘मिर्चया–कटारी–घुर्मी सडक योजना कार्यालय’ स्थापना गरिए पनि ठोस प्रगति भएको छैन।

मारुती सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने दैनिक सयौँ टिफर र ट्रकको चापले ४६ किलोमिटर कटारी–घुर्मी खण्डको अधिकांश भाग बिग्रिएको स्थानीयले बताए। विशेष गरी बेतिनीसम्मको २७ किलोमिटर खण्ड अत्यन्त जीर्ण बनेको छ।

२०७७/७८ मै एसियाली विकास बैंक (एडिबी) ले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्दै १३ अर्ब लागतको आँकलन गरेको थियो। तर, एडिबी पछि हटेपछि काम रोकिएको हो। पूर्व सांसद सुरेशकुमार राईका अनुसार सरकारले बहुवर्षीय योजना स्वीकृत गरे पनि कार्यान्वयनमा ढिलाइ भइरहेको छ।

चालु आर्थिक वर्षमा १ अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन भए पनि काम सुरु गर्न स्वीकृति नआएको कटारी–घुर्मी सडक योजना कार्यालयका प्रमुख (डिई) पशुपति ज्ञवालीले बताए। अर्थ मन्त्रालयले बजेट तोकेपछि मात्र स्तरोन्नतिको काम थालिने जानकारी उनले दिए।

सडक जीर्णता, पहिरो र धुलोको समस्याले यात्रुलाई जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ। नगर र प्रदेश सरकारले लोकमार्गलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीय वडाध्यक्षहरूको माग छ।

प्रकाशित: १० पुस २०८१ १६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App