६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लामा निशुल्क विशेषज्ञ सेवा

निशुल्क सेवा लिन लाइनमा बसेका स्थानीय। तस्बिरः डिबी बुढा/नागरिक

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा निशुल्क विशेषज्ञ सेवा सञ्चालन गरिएको छ।

विकट भौगोलिक क्षेत्रका कारण समयमै विभिन्न रोगका बिरामी आउन नसक्ने भन्दै शिविर मार्फत निशुल्क विशेषज्ञ सेवा सञ्चालन गरिएको हो। नाक, कान, घाँटी, छाला, दाँत, छाती, रेडियोलोजी, र आखाँको निशुल्क उपचार गर्नको लागि सेवा सञ्चालन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईले जानकारी दिए।

उनका अनुसार एक एक पाईला नामक संस्थाको प्राविधिक सहयोग रहेको छ। तीन दिन सम्म चल्ने निशुल्क विशेषज्ञ सेवामा पहिलो दिन नाक, कान, घाँटीका २ सय ३ जना,रगत परिक्षण ७९ जना, जनरल मेडिसन १ सय २ जनाले गरेका छन। यस्तै दाँत स्कोलिङ ७५ जना,दाँत अप्रेशन ४० जना, छाला परिक्षण १ सय ९ जना, भिडियो एक्सरे २५ जनाले गरेका छन। विभिन्न रोगको निशुल्क विशेषज्ञ सेवा सञ्चालनका लागि डा.सुमन शमशेर थापाको नेतृत्वमा ४० जनाको टोली जुम्लामा पुगेको छ। यति धेरै विशेषज्ञ चिकित्सक आएर सेवा सञ्चालन गरेको यो कर्णालीमै पहिलो हो।

दोस्रो दिन सम्म आउदा १ हजार ६ सय १४ जनाले स्वास्थ्य परिक्षण गरिसकेका छन्। शिविर सञ्चालन अवधीभर ५ हजार जनाले उपचार गर्न पाउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले अनुमान गरेको छ। जिल्लामा आउन समय लाग्ने र महंगो उपचार गर्न नसक्दा अधिकांश बिरामी गाउँमै बसेका थिए। निशुल्क सेवा प्रदान गर्ने खवरले दुर्गम गाउँबाट बिरामी आइरहेको अस्पताल निर्देशक गोसाई बताउँछन। उनले भने, बिरामीको घुईचो वढेको छ,विशेषज्ञ टोलीलाई चेकजाँचका लागि उत्साह थपिएको छ। सेवालाई मर्यादित, अनुशासित बनाउनका लागि पहल भइरहेको छ।

पहिलो आउनेले पहिला सेवा पाउने भएकोले शिविरमा सबैले समानरुपमा उपचार पाइरहेका छन्। तिला गाउँपालिकाका कलिमान बोहोराले पहिलो पटक विभिन्न रोगको विशेषज्ञ सेवा एकै थलोमा पाउदा निकै खुुसी लागेको बताए। उनले भने,आफ्नो जिल्ला भित्रै बसेको शिविरले राम्रो सन्देश दिएको छ। गाउँका बिरामीलाई एकै पटक उपचार गराएर रोगको पहिचान गरेर उपचार विधी अपनाउन सहज भएको छ।

अस्पताल निर्देशक गोसाई यो सेवाले कर्णालीमा स्वास्थ्य उपचारमा राम्रो प्रभाव पारेको बताउँछन। आगामी दिनमा अस्पतालका सेवालाई प्रभावकारी बनाउदै निशुल्क विशेषज्ञ सेवा सञ्चालनका लागि बाटो खुलेको बताए। बिहानै देखि लाइनमा बसेर शान्तिपूर्ण तरिकाले सेवा सञ्चालन भइरहेको छ। सेवा लिन कालिकोट, मुगु र डोल्पा जिल्लावाट पनि बिरामी आइरहेका छन।

प्रकाशित: २९ चैत्र २०७४ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App