सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान–अवतरणमा प्रतिबन्ध लाग्ने भएको छ। सगरमाथा निकुञ्ज क्षेत्रमा अत्यधिक हेलिकप्टर उडान–अवतरण हुन थालेपछि निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र स्थानीय सरोकारवालाले सो क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान/अवतरणमा प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्।
खुम्बु गाउँपालिका ४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार आगामी जनवरी १ (पुस १७) देखि सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान/अवतरण गर्न प्रतिबन्ध लगाइएको छ। निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाको बैठकले संयुक्त निर्णय गरेर हेलिकप्टर उडान–अवतरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको उनले बताए।
‘पर्यटक तथा स्थानीयको उद्धार तथा पूर्वाधार विकासका लागि चाहिने मालसामान ढुवानीबाहेक व्यावसायिक प्रयोजनका लागि आगामी जनवरी १ देखि हेलिकप्टर उडाउन नपाउने निर्णय गरेका छाैं’, वडाध्यक्ष अधिकारीले भने, ‘सगरमाथा क्षेत्रमा हुने ध्वनि तथा अन्य प्रदूषण रोक्न, वन्यजन्तु सम्बन्धी आपराधिक गतिविधि रोक्न र स्थानीयको रोजीरोटी जोगाउन पनि हेलिकप्टरको व्यावसायिक उडान रोक्नुपरेको हो।’
निकुञ्ज क्षेत्रको सवालमा कुनै पनि गतिविधि गर्दा पूर्वअनुमति लिनुपर्ने कानुनी व्यवस्थालाई टेकेर सगरमाथा राष्ट्रिय निकुञ्ज, गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र स्थानीय सरोकारवालालगायतले यसबारे संयुक्त निर्णय गरेको उनले बताए।
सिजनमा दैनिक ४० हाराहरी हेलिकप्टर उडाउन हुन थालिएपछि यसले खुम्बुक्षेत्रको समग्र पर्यटकीय, वतावरणीय र प्राकृतिक क्षेत्रमा प्रत्यक्ष असर पर्न थालेकाले उडान/अवतरण कार्य तत्काल रोक्नुपर्ने अवस्था आएको हो। ‘विना अनुमति हेलिकप्टर कम्पनीले मनलाग्दी उडान/अवतरण गर्न थालेकाले निकुञ्ज र खुम्बुक्षेत्रका पर्यटन व्यवसायीको रोजीरोटीमै समस्या देखिन थालेको छ’, वडाअध्यक्ष अधिकारीले भने, ‘पर्यावरणीय तथा अपराधिक गतिविधि पनि देखिन थालेको छ। त्यसैले पनि आवश्यक परेको खण्डमा बाहेक हेलिकप्टर उडानलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको हो। हेलिकप्टरको अत्यधिक प्रयोगले स्थानीयको रोजिरोटी नै संकटमा पर्न थालिसकेको छ।’
खुम्बु क्षेत्र उच्च हिमाली पदयात्राको लागि हो, अस्वस्थ्य र अनियन्त्रित हेलिकप्टर उडानको लागि होइन, उनले भने। उनले १८/२० दिन लाग्ने खुम्बु क्षेत्रको रूटमा हेलिकप्टरले अनुमति नै नलिई जुन ठाउँबाट जति मान्छे पनि ओसार्न थालेपछि त्यस क्षेत्रको पर्यावरणीय पर्यटनलाई जोगाउन त्यस्तो निर्णय गर्नुपरेको बताए।
खुम्बु जसलाई सगरमाथा क्षेत्र पनि भनिन्छ। यसलाई धेरै हिमालहरूको घर पनि भनिन्छ। यस क्षेत्रमा विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा अवस्थित छ। यस्तै लोत्से, मकालु, चोयु, न्युप्त्से, खुम्बुत्से रेन्जोला लगायतका हिमाल तथा चुचुराहरू अवस्थित छन्।
खुम्बु ३,३०० मिटर देखि ८,८४८.८६ मिटर उचाइ क्षेत्रमा अवस्थित छ। खुम्बु क्षेत्रमै विश्वको सर्वोच्च शिखर सगरमाथा छ। सन् २०११ को जनगणना अनुसार खुम्बुमा नौ सय १२ घरधुरी, १३ गाउँमा तीन सय ४७ दर्ता भएका होटल र चियाघर छन्। यसै क्षेत्रमा लुक्ला र मोन्जुबीचको सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र दुवै पर्छ। खुम्बु क्षेत्रमा नाम्चे बजारका साथै थामे, खुम्जुङ, पाङ्बोचे, फेरिचे र कुण्डे गाउँहरू पर्छन्। यस्तै तेङबोचेमा रहेको प्रसिद्ध बौद्ध विहार पनि खुम्बु क्षेत्रमै छ।
यसैक्रममा निकुञ्जले व्यावसायिक हेलिकप्टर उडानमा प्रातिबन्ध गरिएको निर्णय कार्यान्वयन सम्बन्धमा सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उक्त निर्णयबारे जानकारी गराएको छ। सगरमाथा निकुञ्ज कार्यालयले एयर डाइनेष्टी, प्रभु हेलिकप्टर्स, कैलाश हेलिकप्टर्स, माउन्टेन हेलिकप्टर्स, अल्टिच्युड एयर, फिस्टेल, श्री एयरलाइन्स, सिम्रिक एयर, हेली एभरेष्ट र मनाङ एयर गरी ११ हेलिकप्टर कम्पनीलाई सो निर्णय कार्यान्वयनको सम्बन्धमा पत्र लेखेर जानकारी गराएको हो।
सगरमाथा क्षेत्रमा प्रदूषण बढेको, वन्यजन्तुसम्बन्धी आपराधिक गतिविधि रोक्न र स्थानीयको रोजीरोटी जोगाउन पनि हेलिकप्टरको व्यावसायिक उडान रोक्नुपरेको विभागले जारी गरेको निर्णयमा उल्लेख छ।
यसैक्रममा हेलिकप्टर उद्धार र मालसामान ढुवानीको सवालमा पनि कम्पनीले अनिवार्य उड्डयन प्राधिकरण र निकुञ्जको अनुमति लिनु पर्नेछ। सो क्षेत्रमा निकुञ्जलगायतको निर्णय विपरीत हेलिकप्टरको उडान गरेको अवस्थामा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र हिमाली राष्ट्रिय निकुन्ज नियमावली २०३६ अनुसार कारबाही हुने निकुञ्जले जनाएको छ।
निकुञ्ज लगायतले उद्धार र मालसामान ढुवानीका लागि हेलिकप्टर उडान गर्दा निकुन्जको विभागबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने, हेलिकप्टर अवतरण गर्नुपर्ने स्थान तय गर्नुपर्ने, उद्धार हुने व्यक्तिको विवरण अनिवार्य पेश गर्नुपर्ने, उद्धार भएका पर्यटकको स्वास्थ्य चेकजाँच गर्न लुक्लाको पासाङल्हामु निकोल निक्की अस्पताल अनिवार्य पुर्याउनुपर्ने जस्ता निर्णयसमेत गरेका छन्।
प्रकाशित: २८ मंसिर २०८१ ०८:०९ शुक्रबार