कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ की मिमकोषा शाहीले एक ग्रागी पानी भर्न घण्टौं कुर्नुपर्थ्याे। उनले मात्रै होइन, गाल्जेवासीले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका थिए। अहिले भने खानेपानीको समस्या छैन। नेपाल रेडक्रस सोसाइटी कालीकोटले तिलागुफा नगरपालि–६ गाल्जेमा बृहत् खानेपानी आयोजना निर्माण गरेपछि आफूहरू उत्साहित भएको स्थानीयको भनाइ छ।
तिलागुफा नगरपालिका–६ का मनोज सुनारले वर्षायाममा बाढी आउँदा धमिलो पानी पिउन बाध्य हुनुपरेको तीतो विगत सम्झे। अहिले घरघरमा स्वच्छ खानेपानीको पहँुच पु¥याइदिएकामा नेपाल रेडक्रस सोसाइटी कालीकोटप्रति उनी आभारी छन्। खानेपानी आयोजनाले स्थानीयको दैनिकीमा नै सहज बनाइदिएको छ। ‘खानेपानी आयोजना सञ्चालन भएपछि सबैभन्दा बढी गृहिणी महिलालाई राहत मिलेको छ,’ उनले सुनाए।
नेपाल रेडक्रस सोसाइटी कालीकोटले तिलागुफा नगरपालिकामा मात्र खानेपानीमा ५५ लाख लगानी गरेको छ। खानेपानी तथा सरसफाइतर्फ तिलागुफा नगरपालिका–६ मा ३६ लाख र वडा नम्बर ३ मा १९ लाखमा खानेपानी आयोजना सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी कालीकोटका कार्यक्रम संयोजक रवि लामिछानेले जानकारी दिए।
उनका अनुसार नेपाल रेडक्रस सोसाइटी कालीकोटले खानेपानी आयोजना सम्पन्न भएपछि तिलागुफा ६ का ५८ परिवार र वडा ३ फोईका ४८ घरका जनतामा स्वच्छ खानेपानीको पहुँच पुगेको छ।
‘खानेपानी क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी कालीकोटको लगानी हेर्दा विगतमा बिसौं वर्षसम्म खानेपानी नपाएका क्षेत्रका नागरिकसम्म खानेपानीको पहुँच पुगेको स्थानीयको भनाइ छ। २०७९ असोजमा परेको वर्षासँगै आएको बाढीले खानेपानीको मुहान नै बगाएको थियो। मुहान नै बाढीले बगाएपछि खोलाको दूषित पानी पिउन बाध्य थिए। जसले पानीजन्य रोगको प्रकोप बढ्न थालेको थियो, ‘वडाध्यक्ष पर्वलाल शाहीले भने, ‘घरमै मुहानको शुद्ध पानी पुगेपछि स्थानीय खुसी छन्।’
उनका अनुसार चौबिसै घण्टा धारामा पानी आउँछ। वडाध्यक्ष शाहीले भने, ‘पानीको काकाकुल नै थियो। बर्खामा हिलो र हिउँदमा खोलाकोमा जमेको पानी बोकेर गुजारा चलाउनुपथ्र्यो। बल्ल आँगनमै पानी आउन थालेपछि खानेपानीको सास्ती हट्यो।’
तिलागुफा नगरपालिका उपमेयर महेन्द्र शाहीका अनुसार अहिले घरघरमा खानेपानीको पहुँच पुगेको भन्दै खानेपानी धाराहरूको संरक्षण गर्दै प्रभावकारी रूपमा पानीको उपयोग गर्न स्थानीयलाई आग्रह गरे।
उनले भने, ‘उहाँको ठुलो समस्याका रूपमा खानेपानी थियो। अब घरघरमै धारा पुगेको छ। मुहानदेखि ट्यांकी र धाराहरूको संरक्षणमा लाग्नुहोला।’
उनका अनुसार लक्जम्बर्ग रेडक्रसको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कालीकोटको समन्वयमा कम बजेटमा धेरै काम भएको बताए।
स्थानीय जैसरा शाहीले आँगनमै धारा आएपछि महिलाहरूको कामको बोझ घटेको बताइन्। उनले भनिन्, ‘पानी पुग्दा खानेपानी, सरसफाइदेखि करेसाबारी बनाउन सहज भइरहेको छ। अब हरियोपरियो सागपात तरकारी उत्पादन गरेर पोषणको काममा पनि राहत मिल्ने पक्का छ।’
लक्जम्बर्ग रेडक्रसको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कालीकोटको समन्वयमा खानेपानी धाराहरू घर आँगनमै पुगेका हुन्। खानेपानी ट्यांकी, मुहान र धाराहरूको रेखदेख, बिग्रेको खण्डमा मर्मत गरेर दिगो विकास गर्नपर्ने अवस्था रहेको छ।
लक्जम्बर्ग रेडक्रसको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कालीकोटको समन्वयमा यो आर्थिक वर्षमा पनी खानेपानी, विद्यालय भवनलगाएतको क्षेत्रमा नयाँ कामको सुरुवात हुने भएको छ।
प्रकाशित: २४ मंसिर २०८१ ०९:३८ सोमबार