४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सात वर्षसम्म म्याद थप्दा पनि पूरा भएन जाजरकोट सडकखण्ड

फाइल तस्विर

पुष्पलाल राजमार्ग (मध्यपहाडी)अन्तर्गत जाजरकोट खण्ड अझै अधुरै रहेको छ। कुल ८५ किलोमिटर लामो जाजरकोट खण्ड निर्माण पूरा नहुँदा समस्या थपिँदै गएको छ।

पाँच खण्ड रहेको यो राजमार्ग भेरी नगरपालिकाको कुदुबाट छेडागाड नगरपालिकाको सुयाडामा टुङ्गिन्छ। कुदु–स्याउलीखोलासम्मको १७ किलोमिटर सडक २०७५ सालमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि शर्मा सिंह एण्ड ब्रदर्श जेभीलाई २०८१ असोजसम्म निर्माण गर्न समयावधि दिइएको छ। यसमा ८० किलोमिटर प्रगति देखिएको आयोजनाका प्रमुख निमित्त योजना प्रमुख इञ्जिनियर अमितकुमार मण्डलले जानकारी दिए।  

१८ किमीको भेरी नगरपालिकाको स्याउलेखोला–छेडागाड नगरपालिकाको काँर्कीगाउँसम्मको सडकखण्ड २०७५ सालमा निर्माण गर्नुपर्ने भए पनि हालसम्म सम्पन्न नहुँदा २०८१ पुस मसान्तसम्म म्याद थपिएको छ। आयोजना प्रमुख मण्डलका अनुसार यो काम पनि सोही निर्माण कम्पनीले गरिरहेकामा प्रगति अहिलेसम्म ६३ प्रतिशत मात्र रहेको छ। काँर्कीगाउँ मन्ताभिरको १० किलोमिटर सडक २०७६ सालमै सम्पन्न गर्नुपर्ने भए पनि निर्माण नहुँदा २०८१ पुस मसान्तसम्म म्याद थप भएको छ। यो सडकको ६३ प्रतिशतमात्र प्रगति भएको छ।  

मन्ताभिर–थलहबजारसम्मको ९.६ किलोमिटर सडक निर्माण गर्ने जिम्मेवारी लिएको शर्मा सिंह एण्ड ब्रदर्श जेभीले हालसम्म उक्त सडक निर्माण नगर्दा समस्या थपिँदै गएको आयोजना प्रमुख मण्डलको भनाई छ। उक्त सडक २०७६ सालमा निर्माण गर्नुपर्ने भए पनि २०८१ पुस मसान्तसम्म म्याद थपिएको छ। यसको ४५ प्रतिशतमात्र प्रगति भएको छ। ३१ किमी लामो थलह–सुयाडा सडक निर्माण कार्य सम्पन्न भएको छ। यहाँ यातायातका साधन सञ्चालनमा छन्।  

सात वर्षसम्म म्याद थप्दा पनि सडक निर्माण पूरा नहुनु दु:खद भएको स्थानीय राजेन्द्रविक्रम शाह बताउँछन्। यो सडक भेरी करिडोरसँग कुदुमा जोडिने गर्दछ। भेरी नदीमा आठ वर्षभन्दा लामो समयदेखि पुल निर्माण अधुरै छ। यो सडकले पूर्वीरुकुम, पश्चिमरुकुम हुँदै मध्यजाजरकोट र पश्चिम जाजरकोटबाट दैलेखलाई जोडेको छ।  रासस

प्रकाशित: २३ मंसिर २०८१ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App