भक्तपुर- महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरको विस्केट जात्रालाई विथोल्न खोजेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। ऐतिहासिक जात्रा विथोल्न खोजेको आरोपमा भक्तपुरको पाँचतले मन्दिर क्षेत्रबाट सोही स्थान बस्ने बर्ष २४ को राजन भेलेलाई पक्राउ गरिएको परिसरका सूचना अधिकृत कृष्ण प्रसाईले बताए। मादक पदार्थ सेवन गरी होहल्ला तथा हातमा धारिलो चुप्पीसमेत लिई जात्रालाई अशान्ति पुर्याएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भेलेलाई हाल महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको जनाइएको छ। भक्तपुरको ऐतिहासिक विस्केट जात्रा मंगलबार दिउँसोदेखि पाँचतले मन्दिर अगाडि राखेर बनाइएको भैरबनाथको रथ तानेर सुरु भएको थियो। रथ तान्ने क्रममा झैझडा नहोस् भनेर प्रहरीले विशेष सुरक्षा बन्दोवस्त मिलाएको छ।
प्रकाशित: २८ चैत्र २०७४ १०:५५ बुधबार