१७ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

चितवनमा छविको बयान लम्बियो, भोलि मात्रै सकिने

सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व डिआइजी छवि जोशीको बयानलाई सरकारी वकिलले भोलि (मंगलबार) पनि निरन्तरता दिने भएको छ।

सोमबार बयान अन्तिम चरणतिर पुगे पनि नसकिए पछि फेरि उपस्थित गराउने गरी जोशीलाई जिल्ला प्रहरी कार्यालय चितवन पठाएको सरकारी वकिल कार्यालय चितवनले जानकारी दिएको छ।

चितवनको साहारा चितवन बहुउद्देश्यीय सरकारी संस्थामा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न अदालतले मंसिर ५ गते जोशीलाई पक्राउ अनुमति दिएको थियो।

सरकारी वकिल कार्यालय चितवनले जोशीसँग आइतबार दुई घण्टा र सोमबार दिनभर बयान लिएको थियो। मंगलबार बयान सक्ने गरी तयारी भएको जिल्ला न्याधिवक्ता शान्तिराज लुइँटेलले जानकारी दिए।

यस्तै, सोही अभियोगमा नेचर हर्बस इन्टरनेशनल प्रालिका शेयरधनी रामबहादुर खानालसंग पनि बयान लिइएको छ। उनीहरु दुवै जनाको अनुसन्धान अधिकृतको रोहबरमा बयान लिइएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय चितवनमा सहारा चितवनका २४ जना बचतकर्ताले मंसिर ५ गते १० जना विरुद्ध पूरक जाहेरी दर्ता गरेपछि प्रहरीले मंसिर ७ गते अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान अगाडि बढाएको हो।

सहारा चितवन सहकारी ठगी गरेको आरोपमा २७ जनालाई पक्राउ पुर्जी जारी भएको छ। त्यसमध्ये २३ जना अझै फरार छन्। सरकारी वकिलले यसअघि एक जना कुमार रम्तेलसँग मात्र बयान लिएको थियो।

सरकारी वकिल कार्यालयले अर्का आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पनि बयान लिने तयारी गरेको छ। काठमाडाैं स्वर्णलक्ष्मी सहकारीको बचतकर्ताको रकम अनियमितता गरेको प्रकरणमा लामिछानेलाई काठमाण्डौं सरकारी वकिल कार्यालयले सोमबार बयान सकेको छ।

जोशी र खनालको सकेपछि लामिछानेको बयान लिने न्याधिवक्ता लुइँटेलले बताए। ‘लामिछानेसँग बयान लिन हामीले तयारी गरिरहेका छौं’, उनले भने ‘दिन तोक्न त कठिन होला तर, दुई, तीन दिनभित्र ल्याएर बयान लिने योजनामा छौं।’

प्रकाशित: १७ मंसिर २०८१ १९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App