राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको अध्ययनले विधवा महिलाको संख्या एकल महिलामध्ये सबैभन्दा धेरै रहेको देखाएको छ।
तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालका अनुसार नेपालका ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एकजना एकल महिला (विधवा, सम्बन्धविच्छेद, भिन्न बसेका, वा ३५ वर्षभन्दा माथिका अविवाहित महिला) फेला परेका छन्। तीमध्ये ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एकजना विधवा महिला रहेका छन्।
तथ्याङ्कअनुसार कुल घरपरिवारको १४ प्रतिशतमा एकल महिला रहेका छन्। तीमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य समूहका (सम्बन्धविच्छेद, भिन्न बसेका, वा ३५ वर्षभन्दा माथिका अविवाहित) महिला हुन्।
कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत घरपरिवारमा कम्तीमा एकजना विधवा महिला रहेका छन्। देशभरि १० वर्ष वा सोभन्दा माथिका महिलामध्ये ८.२ प्रतिशत महिला एकल रहेको तथ्याङ्कले देखाएको छ।
तथ्याङ्कले १० वर्षभन्दा माथिका महिलामध्ये ६.६ प्रतिशत विधवा र २.२ प्रतिशत विदुर रहेका देखाएको छ। सन् २००१ मा ३.७ प्रतिशत रहेका एकल महिलाको संख्या सन् २०२१ सम्म आइपुग्दा झन्डै दोब्बरले वृद्धि भएको छ।
पछिल्लो दुई दशकमा सम्बन्धविच्छेद र भिन्न बस्ने महिलाको संख्या बढ्दै गएको छ। ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात २००१ मा ०.५ प्रतिशतबाट २०२१ मा ०.७ प्रतिशत पुगेको छ।
प्रकाशित: १७ मंसिर २०८१ १५:१५ सोमबार