मदिरा तस्करद्वारा गाडीले किचेर मारिएका सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको हत्यामा संलग्नको पहिचान खुलेको छ।
सिरहा प्रहरी प्रमुख एसपी रमेश पण्डितले यादवको हत्यामा संलग्नको पहिचान खुलेको जानकारी दिए। घटना लगत्तै पक्राउ परेका दुई जनासँगको सोधपुछको क्रममा संलग्न व्यक्ति र गाडीको पहिचान एकिन भएको हो।
दुई जनालाई आइतबार नै नियन्त्रणमा लिइएको र उनीहरूसँग आवश्यक बयान लिने काम भइरहेकोले उनीहरूलाई तत्कालै सार्वजनिक नगरिएको पण्डितले बताए।
यस घटनामा प्रयोग भएको गाडी र संलग्न व्यक्तिहरूको पहिचान भइसकेको उनले बताए। एसपी पण्डितले नागरिकसँग भने, ‘हामीले दुई जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेका छौँ। धेरै तथ्य खुलेको छ अझ खुल्दै छ। गाडी र संलग्न व्यक्तिको पहिचान भइसक्यो, पक्राउ गर्न मात्र बाकी छ। सेतो रंगको भारतीय नम्बर प्लेट जडित स्कार्पियो गाडीले किचेर सई यादवको हत्या गरिएको यकिन भएको छ।’
प्रारम्भिक अनुसन्धानबाट आइतबार पक्राउ परेका व्यक्तिको पनि संलग्नता देखिन्छ उनले भने,'संलग्नताको मात्रा यकिन हुन बाकी छ।'
प्रकाशित: १७ मंसिर २०८१ १२:४४ सोमबार