भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पहिलोपटक बाख्राको पेटमा पाठाको मृत्यु भई बिग्रिएको अवस्थामा निकालेको छ।
बेनी नगरपालिका, का कृषक बालकृष्ण आचार्यले पालेको बाख्रा गर्भिणी भएको करिब साढे ६ महिनासम्म पनि बच्चा नपाएपछि परिक्षण गर्दा बच्चा मृत भेटिएपछि तत्काल माउ बाख्राको सफलतापूर्वक बहिरङ्ग कक्षमा शल्यक्रिया गरिएको केन्द्रका योजना शाखा प्रमुख सुवास रेग्मीले बताए। ‘पेटमै पाठा कुहिएको अवस्थामा भेटिएको थियो, यो केन्द्र स्थापनापछि पहिलो सेवा हो’ अधिकृत आठौँ रेग्मीले भने।
केन्द्रका प्रमुख डा. भरत रेग्मीको नेतृत्वमा बेनी नगरपालिकाका पशु शाखाका प्रमुख डा. आशिष सापकोटा, अधिकृत छैठौँ प्रदिप गौतमसहितको टोलीले बाख्राको स्वास्थ्य परीक्षण गरी शल्यक्रिया गरेका थिए। ‘माउको आस मारेको थिए, यस्ता सेवाहरू पनि बेनीमै उपलब्ध रहेछ’ कृषक आचार्यले भने।
म्याग्दीमा बाख्रापालकले गर्भिणी अवस्थामा लामो समयसम्म समस्या देखिएका बाख्रालाई समयमै चेकजाँच नगर्दा खोरमै मर्ने गरेको अवस्थामा यो सेवाले धेरै कृषकले जानकारी पाउने केन्द्रले जनाएको छ। केन्द्रमा अस्पताल विशिष्टीकृत सेवाहरू सम्बन्धित कक्षबाट प्रदान भइरहेको केन्द्र प्रमुख रेग्मीको भनाई छ। केन्द्रले मान्छेको जस्तै पशुका रोग पनि प्रयोगशालाबाट परीक्षण पश्चात उपचार गर्ने पद्धति सुरु गरिसकेको छ।
केन्द्र र बेनी नगरपालिकामा लामो समय पशु स्वास्थ्य क्षेत्रमा काम गरेका अनुभवी दक्ष पशु चिकित्सक तथा प्राविधिकहरूको टोलीले पशुपालक कृषकको गोठमै पुगेर समेत जटिल उपचार तथा प्रयोगशालाबाट समेत पशु चिकित्सा सेवा दिइरहेका छन्।
विगतमा पशुचौपायाको हेरेर वा छामेर गरिने उपचार पद्धति अहिले प्रयोगशालाबाट ल्याब सर्भिसबाटै रोग पत्ता लगाई उपचार गर्ने गरिएको छ। अहिले प्रयोगशालामा रगत परीक्षण गर्ने उपकरण मर्मतका लागि पठाइएपनि आधुनिक प्रविधिबाटै पशुचौपायाको उपचार सहित सेवा विस्तार भइरहेको केन्द्र प्रमुख रेग्मीको भनाई छ।
प्रकाशित: ८ मंसिर २०८१ ०७:४२ शनिबार