९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

१० वर्षपछि टेकबहादुरले जब छोरालाई देखे...

७५ वर्षीय टेकबहादुर पूर्जा छोरा नरबहादुरसँगै।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना तितीरका ७५ वर्षीय टेकबहादुर पूर्जाले गुमेको ज्योति फेरि पाउँदा पहिलो पटक छोरा नरबहादुर पूर्जालाई हेर्ने रहर पनि पुरा भयो। बाल्यकालमै देब्रे आँखा बन्द भएको वृद्ध पूर्जाको १० बर्ष अगाडी दाहिने आँखा पनि बन्द हुँदा कष्टपूर्ण जीवन बिताइरहेका थिए। आँखाको दृष्टि गुमेपछि ओछ्यानदेखि शौचालयसम्म पुग्दा साहारा चाहिन्थ्यो।

एक दशकसम्म एक ठाउँबाट अर्को ठाउँमा सर्नका लागि परिवारका अन्य सदस्यको सहयोग लिनुपर्ने अवस्था थियो। दुबै आँखा पूर्णरुपमा बन्द भएपछि वृद्ध टेकबहादुर धेरै पटक घरआगनमै ढले पनि। गाउँमा रहेको ज्ञानप्रकाश माविमा आयोजित दुई दिने आँखा शिविरको सूचना छोरा नरबहादुरले सुनाएपछि सवारीसाधनमा विद्यालयको प्रवेशद्वारसम्म पुगेका टेकबहादुरलाई बोकेर उपचार स्थलसम्म पुर्‍याइएको थियो।

प्रवासमा बसोबास गर्ने दानाबासीको साझा संस्था फ्रेन्डली ब्रदर दाना सेरोफेरोले आयोजनामा शुक्रबार र शनिबार सञ्चालित शिविरमा टेकबहादुरले दाहिने आँखाको ज्योति फेरि फर्केपछि दङ्ग छन्। ‘१० वर्षदेखि आँखा नदेख्दा संसार नै अँध्यारो लागेको थियो। अब घरायसी काम पनि गर्न सक्छु’ टेकबहादुरले भने। उनले आँखा बन्द हुँदा जिउँदो लास जस्तै भएको बताउँदै आँखा खुलेपछि आफ्नै खुट्टाले हिँडेर सवारीसाधनसम्म पुगेको बताए।

दानाका ६९ वर्षीय हित बहादुर जैशीले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारका लागि सदरमुकाम बेनीसम्म पुग्न सकेका थिएनन्। गाउँमा आँखा शिविर सञ्चालन नभएको भए उनको आँखा बन्द नै रहन्थ्यो। हितबहादुर जस्तै दाना डाँडा गाउँकी दक्षिणा विकले समेत गाउँमै शिविर सञ्चालन हुँदा बन्द भएको आँखाको उपचार पाइन्। ‘बुढेसकालमा आँखाको ज्योति पाएँ, फेरि संसार देख्ने भएको छु’आफ्नो काम आफै गर्न सक्छु, अब कसैले सहारा चाहिँदैन’ विकले भनिन्।

कृष्ण नेत्रालय प्रालि भैरहवाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा दृष्टि फर्केपछि बृद्धबृद्धाले खुसी एक अर्कामा साटिरहेका थिए। श्री कृष्ण नेत्रालय प्रालि भैरहवाको प्राविधिक सहयोगमा अन्नपूर्ण गाउँ पालिभित्रका विभिन्न बस्ती र बाहिरी जिल्लाबाट मजदुरी गर्न आएका मजदुर सहित ५ सय जनाको आँखाको उपचार भएकोमा ३४ बिरामीको निःशुल्क शल्यक्रिया र दुई बिरामीको आँखामा पलाएको मासु निकाल्न आर्थिक सहयोग गरिएको ज्ञानप्रकाश मावि दानाका उच्च मावि संयोजक बाबुराम पौडेलले बताए।

‘आँखामा ज्योति नहुँदाको उहाँहरुको पीडा शब्दमा व्यक्त गर्न नसकिने अवस्थाको रहेछ, शल्यक्रियापछि दृष्टि फर्किएपछि खुसी हुँदै चिकित्सकलाई धन्यवाद दिँदा सबै भावुक भए’ पौडेलले भने। गरिब, विपन्न, एकल, असहाय तथा दैनिक मजदुरी गर्नेहरूको उपचारमा सामान्य खर्च नहुँदा समेत युवापुस्तादेखि बुढ्यौलीका कारण आँखाको समस्या पालेर बसेकाहरूको सेवा गर्न पाउँदा निकै खुसी लागेको फ्रेन्डली ब्रदर दाना सेरोफेरो यूकेका निवर्तमान अध्यक्ष बलबहादुर पुर्जाले बताए। ‘गरिबीकै कारण अन्धकारमा बस्नुपर्ने धेरै भेटियो, यो अवस्थाको अन्त्यका लागि हामीले आगामी दिनमा पनि शिविर सञ्चालन गर्नेछौ’ दानाका अगुवा पूर्जाले भने। उनले प्रवासमा बसेर शिक्षा, स्वास्थ्य, बिकास निर्माण सहित विभिन्न क्षेत्रमा निरन्तर सक्रिय रहेको संस्थामार्फत विपन्नको उपचारलाई प्राथमिकता दिने बताए।

शिविरमा श्रीकृष्ण नेत्रालय प्रालिकी डा.सल्मा केसी, विद्यालयकै पूर्व विद्यार्थी यूकेका बसोबास गर्ने डा.सुमिन्द्रा पुन सहितको टोलीले सचेतनामूलक जानकारी सहित विशेषज्ञ सेवा प्रवाह गरेका थिए। शिविरलाई वडा कार्यालय, ज्ञानप्रकाश मावि, दाना स्वास्थ्य चौकी, स्थानीय आमा समूह, युवा क्लब लगायतका संघ संस्थाले समेत सहयोग गरेका थिए। दानाका वडा अध्यक्ष रमेश पूर्जाले कोही कसैले पनि पैसाको अभावका कारण आँखा उपचार सेवाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्यमा शिविरले भूमिका खेलेको बताउँदै अन्य संघसंस्थालाई समेत सहयोगका लागि अनुरोध गरे।

प्रवासमा रहेका दानाबासीको सक्रियतामा स्थापित फ्रेन्डली ब्रदर दाना सेरोफेरोले ज्ञानप्रकाश माविमा भौतिक पूर्वाधार सहित अक्षयकोष, छात्राबृद्धि सहित करोडभन्दा बढी सहयोग गरेको छ। पछिल्लो समय डिजिटल उपकरणको बढ्दो प्रयोग, जनचेतनाको अभाव लगायत विभिन्न कारणले आँखामा जटिल समस्या भएका बालबालिकादेखि बृद्धबृद्धासम्मको संख्या अत्याधिक बढेको छ। 

प्रकाशित: ३ मंसिर २०८१ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App