भारतको उत्तर प्रदेश अयोध्यामा हुने राम-जानकी विवाह महोत्सव अन्तर्गतको तिलकोत्सवको भव्य तयारी गरिएको छ। राम जानकी विवाह महोत्सव अन्तर्गत भगवान रामको तिलकका लागि जनकपुरधामबाट अयोध्या प्रस्थान गरेको विश्व हिन्दु परिषदको टोलीलाई अयोध्यामा भव्य स्वागतको तयारी भएको हो।
अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा पछि पहिलोपटक हुन लागेको तिलकोत्सवका लागि शनिवार मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहले तिलक लिएर जाने टोलीलाई जानकी मन्दिरबाट बिदाइ गरेका थिए।
शनिबार जनकपुरबाट अयोध्याका लागि प्रस्थान गरेका टोली आज बिरगंज पुग्ने र त्यहाँ मुख्यमन्त्री २५१ जना प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अयोध्याका लागि प्रस्थान गर्नेछन्।
भोलि हुने तिलकोत्सव अन्तर्गत जनकपुरधामबाट अयोध्या पुगेको टोलीले भगवान रामको तिलक गर्नेछन्। दिउँसो २ बजे विधि अनुसार भगवान रामको तिलकोत्सवको आयोजना गरिने जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले बताए ।
आगामी मंसिर २१ गते हुने राम जानकी विवाह समारोह अघि तिलकोत्सवका लागि जनकपुरबाट गएका अतिथिलाई अयोध्यामा परम्परा अनुसार खानपानको व्यवस्था गरिएको छ।
भगवान श्रीरामको तिलकोत्सव रामसेवकपुरममा हुनेछ। जहाँ अतिथि र अन्य दर्शकको सङ्ख्यालाई ध्यानमा राखी व्यवस्था गरिँदैछ। तिलकका लागि तयार मञ्चमा रामको स्वरुपमा १८ वर्षीय एकजना युवकलाई पिठोले बनाइएको कुर्सीमाथि राखिने छ।
तिलक समारोह पारम्परिक हुनेछ । जसमा चाहिने आवश्यक सामग्री परम्परा अनुसार जनकपुरबाट गएका तिलक टोलीले आफ्नो साथमा लगेका छन्। काँसको थाल, दुईवटा कचौरा, चम्चासहित ५ वटा परम्परागत भाडाकुडा बाहेक उपहारमा अन्य भाडाकुडा पनि रहने छ।
त्यसबाहेक पहेँलो रंगको धोती, तौलिया, बेसारको डल्लो, चन्दन, धान, पहेँलो चामल, दुबो लगायतका सामग्री उपहार स्वरुप दिइने छ। त्यस्तै चाँदीको सिक्का, अलैँची र सुपारी पनि दिइने छ। तिलक चढाउनका लागि जनकपुरबाट सिताको कान्छो भाइको भूमिका जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले निर्वाह गर्नेछन्।
तिलकोत्सव पछि २६ नोभेम्बरमा अयोध्याबाट जन्ती जनकपरका लागि प्रस्थान गर्नेछ।
प्रकाशित: २ मंसिर २०८१ ०९:१८ आइतबार