४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्राविधिकको अभावमा दश वर्ष देखि थन्कियो एक्सरे मेसिन

आठराई गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तिबजारमा १० वर्ष देखि थन्किएको एक्सरे मेसिन। तस्बिरः भगिश्वर लिम्बु/नागरिक

तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिकाको संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे मेसिन १० वर्ष देखि प्रयोग विहीन बनेको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले २०६५ सालमा पठाएको एक्सरे मेसिन प्रयोग विहीन अवस्थामा वर्षौ देखि थन्किएको हो।

लामो समय सम्म एक्सरे प्रयोगमा नआउँदा वर्षौ देखि थन्किएको मेसिन संचालनमा नआइ बिग्रिएको श्रोतले जनाएको छ। विद्युतको अभाव र दरबन्दी अनुसार प्राविधिक नहुदाँ प्रयोग विहीन मेसिनमा खिया लागे पछि एक्सरे मेसिन संचालनमा नआइ बिग्रिएको हो।

विद्युतको समस्या भएपछि स्थानीयहरूले नगद संकलन गरेर पाँच किलोवाटको जेनेरेटर खरिद गरे पनि प्राविधिक अभावमा मेसिन संचालनमा आउन नसकेको स्थानीय छबी लिम्बुले बताए। सम्बन्धित सरोकारवाला निकायहरूले स्वास्थ्य केन्द्रमा रहेको एक्सरे संचलानमा चासो नदिँदा वर्षौ देखि मेसिन थन्किएको प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूले बताएका छन्।

पुरानो एक्सरे मेसिन सञ्चालनमा नआइ बिग्रिएपछि गत साउन महिनामा स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले केन्द्रमा नयाँ एक्सरे मेसिन पठाएको हो। हाल स्वास्थ्य केन्द्र संक्रान्तिबजारमा दुई ओटा एक्सरे मेसिन रहेका छन्।

केन्द्रमा प्राप्त भएको नयाँ एक्सरे मेसिन पनि अभैm संचालनमा आएको छैन्। मेसिन जोड्न प्राविधिक ढिलो आएकाले एक्सरे संचालनमा आउन नसकेको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.सन्तोष शाहले बताए। मेसिन जोडिएपनि एक्सरे संचालन गर्न केन्द्रमा प्राविधिक नहुँदा समस्या रहेको छ। एक्सरे संचलानका लागि अहिले एक्सरे कक्षको निर्माण भइरहेको आठराई गाउँपालिका वडा नं. १ संक्रान्तिबजारका अध्यक्ष कमल बहादुर मावोहाङले बताए।

वर्षौ देखि एक्सरे मेसिन थन्किएपछि जिल्लाको आठराई र फेदाप गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका सेवाग्राही छिमेकी जिल्ला पाँचथर लगायतका सुविधा सम्पन्न जिल्लामा जान बाध्य भएका छन्। स्थानीय तहमा स्वास्थ्य संस्था संचालनमा आए पनि स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्य उपकरण व्यवस्थापनमा जनप्रतिनिधिहरूको ध्यान पुगेको देखिदैन्।

१२ जनाको दरबन्दी रहेको केन्द्रमा हाल ८ जना स्वास्थ्यकर्मी कार्यरत छन्। एक डाक्टर, एक हेल्थ असिस्टेन्ड, एक स्टाफ नर्स, तीन अहेव, तीन अनमी, एक ल्याव असिस्टेन्ड र दुई कार्यलय सहयोगी दरबन्दी रहेको केन्द्रमा हाल एक डाक्टर, एक हेल्थ असिस्टेन्ड, एक स्टाफ नर्स, दुई अहेव, दुई अनमी र एक जान कार्यलय सहयोगी मात्र कार्यरत छन्।

प्रकाशित: २६ चैत्र २०७४ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App