३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

ललितपुरका दुई संस्कृतिविद्लाई सवारी साधनसहितको सुविधा

नगर प्रमुख चिरीबाबु भन्छन् : उहाँहरु सम्पदा र संस्कृतिको शब्दकोष हो

.

ललितपुर महानगरपालिकाले संस्कृति संरक्षण र अनुसन्धानमा निरन्तर योगदान पुर्‍याउँदै आएका संस्कृतिविद् हरिराम जोशी र छत्रबहादुर कायस्थलाई विशेष सुविधा प्रदान गरी सम्मान गरेको छ।

महानगरले उनीहरुको योगदानको कदर गर्दै सवारी साधन, नगर प्रहरी सुरक्षाकर्मी र मोबाइल सेट हस्तान्तरण गरेको हो। साथै, स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च महानगरले व्यहोर्ने घोषणा गरेको छ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बिहीबार आयोजित कार्यक्रममा उनीहरुको योगदानलाई उच्च सम्मान गर्दै यो निर्णय कार्यान्वयन गरेको बताए।

उनले भने, ‘उहाँहरुको दिनचर्या सहज होस् र हिँडडुलमा सजिलो होस् भनेर यस्तो निर्णय गरेका हौं। उहाँहरु भाषा, संस्कृति र सम्पदाको क्षेत्रमा शब्दकोष हुनुहुन्छ, जसले महानगरलाई गौरवान्वित बनाएको छ। उहाँहरु नेपालकै हिरा र मोती हुनुहुन्छ।’

कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सम्मानित व्यक्तित्वहरुलाई कला, साहित्य र सम्पदाको क्षेत्रमा "विश्वविद्यालय" का रुपमा लिने बताइन्। उनले संस्कृतिविद्हरुको योगदानको कदर गर्दै सम्मानित गरेको स्पष्ट पारिन्।

संस्कृति शिरोमणि हरिराम जोशी र वरिष्ठ संस्कृतिविद् छत्रबहादुर कायस्थले महानगरको यो निर्णयप्रति धन्यवाद व्यक्त गरे। जोशीले तीन दर्जनभन्दा बढी पुस्तक लेखेका छन् भने कायस्थका पाँच दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका छन्। यी पुस्तकहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुमा पाठ्यपुस्तकका रुपमा पनि समावेश छन्।

प्रवक्ता तथा वडा नं-९ का अध्यक्ष राजु महर्जनले सम्पदा संरक्षणका लागि महानगरले गरेको कामलाई उदाहरणीय बताउँदै आगामी दिनमा संस्कृति र सम्पदा अध्ययनको लागि विशेष कोष निर्माण गर्ने योजना रहेको सुनाए।

कार्यक्रममा नगर प्रमुख महर्जनले सम्मानित व्यक्तित्वहरुको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै महानगरको यो निर्णयले कलासंस्कृति र सम्पदा संरक्षणको क्षेत्रलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रकाशित: २९ कार्तिक २०८१ १७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App