७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई पटक बगाएकै ठाउँमै बेलिब्रिज बनाउने तयारी

घातक हुन सक्ने सरोकारवालाको चिन्ता

तस्बिर : सरोज शर्मा/पाँचथर

असोज दोस्रो साताको वर्षाले मेची राजमार्गको हेवाँ खोलाको बेलिब्रिज बगायो। करिव साता दिन ठप्प रहेको राजमार्ग अहिले अस्थाई डाईभर्सन निर्माण गरेर सञ्चालनमा छ। तत्कालै बेलिब्रिज बनाएर यातायात सहज गर्ने भनिएको दुई महिना हुन लाग्यो। पक्की पुल बन्ने त कहिले हो कहिले बल्लतल्ल बेलिब्रिज बनाउने तयारी सुरु भएको छ।  

उपयुक्त स्थान भन्दै सडक डिभिजन कार्यालय इलामले पहिला भएको स्थान भन्दा ८० मिटर तल नयाँ बेलिब्रिजका लागि उपयुक्त हुने प्राविधिक स्टमेट तयार पारेको छ। जिल्ला प्रशासन कार्यालय पाँचथरमा मंगलबार सरोकारवालाई भेला गरेर कार्यालयले सोबारे जानकारी दिएको हो।  

तर डिभिजनले तोकेको ठाउँमा फेरि पनि जोखिम भने कायमै छ। पहिला २ पटकसम्म पुल बगाएकै स्थानमा फेरि पनि त्यस्ता संरचना थप्दा झनै समस्या हुने देखिएको छ।  

अघिल्लो वर्ष असारमा आएको बाढीले हेवाँखोला पक्की पुल बगाएको थियो। त्यसको महिना दिन पछि तयार भएको बेलिब्रिज गत असोज १२ मा पुनः बगायो। अहिले फेरि सोही ठाउँमा अर्को बेलिब्रिज बनाउन लागिएको हो।  

डिभिजनले ८० मिटर तल उपयुक्त हुने दाबी पेस गर्यो। जिल्लाका सरोकारवालाले हो मा हो मिलाए तर २ पटक बगाएको स्थानमा पुनः स्थाई संरचना निर्माण गर्दा हुन सक्ने जोखिमबारे केही बोलेनन्। परिचय नखुलाउने सर्तमा एक प्राविधिकले भने, 'यो डिभिजनले उपयुक्त देखेको स्थानमा हामीले हुँदैन भन्न मिलेन तर २ २ पटक बगाएकै स्थानलाई सामान्य हेरफेर गरेर गरिएको निर्णय घातक हुन सक्छ।'

बगाएको ५ महिनापछि फागुनमा निर्माण सक्ने गरी कार्य प्रारम्भ गर्न डिभिजनलाई अनुरोध गर्ने प्रमुख जिल्ला अधिकारी नेतृत्वमा बसेको सरोकारवालाको बैठकले निणर्य गरेको छ। प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोईरालाले हेवाँ पुलको पश्चिम भाग मर्मत गरी फिदिम १० तर्फको यातायात सुचारु गर्ने निणर्य समेत भएको जानकारी दिए।  

बेलिब्रिज बनाउने चर्चा सुनिए पनि पक्कि पुल कहिले बन्छ भन्ने कुनै टुँगो छैन। संघीय संसद्मा कुरा उठाउन नसक्दाको परिणाम जिल्लाबासीले भोगिरहेको दलका नेताहरुले बताउने गरेका छन्। जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद बसन्तकुमार नेम्बाङ बिरामी भएर लामो समयदेखि उपचाररत छन्। संसदमा बोलिदिने प्रतिनिधि नै नभएपछि समस्या केन्द्र सम्म पुग्न नसकेका हुन।

एकै समयमा बगेका हेवाँ, फेमे र फालेलुङका खोलामध्ये अहिले हेवाँ खोलाको मात्रै चर्चा छ । फिदिम फालौट सडक अन्तरगतको फेमेसहित अरु खोलामा कहिले पुल बन्ने भन्नेबारेको जवाफ कसैसँग छैन ।

प्रकाशित: २७ कार्तिक २०८१ १६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App