विदेश जान मन्त्रीस्तरका व्यक्तिले समेत अवैध बाटो अपनाउने गरेको उदाहरण भर्खरै कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको मुद्दाले प्रस्ट पारेको छ। अधिकारी अवैध कागजात प्रयोग गरी जापान गएको आरोपमा पक्राउ परेका छन्। उनी जापानको विमानस्थलबाटै फिर्ता पठाइएका थिए।
अवैध कागजात प्रयोग गरी विदेश जानु यहाँ अनौठो होइन। वैदेशिक रोजगारीका लागि अवैध रूपमा विभिन्न देश पुग्ने पुर्याउने क्रम यहाँ निरन्तर चलिरहेको छ। यसका लागि मुलुकको संघीय राजधानी काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै प्रयोग भइरहेको छ।
कहिलेकाहीँ अध्यागमन विभाग, मानव बेचबिखन अनुसन्धान ब्युरो तथा अन्य एजेन्सीले छानबिन गरेको खण्डमा धेरै नेपाली विमानस्थलबाट फिर्ता हुने गरेका छन्। दैनिकजसो वैदेशिक रोजगारीका लागि विभिन्न देश जाने युवामध्ये केही अवैध रूपमा जाने गरेका छन्। अवैध रूपमा बिदेसिने युवाहरूको जाँच कम मात्रामा हुने गरेको छ। दैनिक रूपमा केही समयअघि मात्रै ब्युरोले छानबिन गर्दै आएको थियो भने अहिले त्यो कार्य बन्द गरिएको छ ।
औंसीपूर्णिमा पारेर विमानस्थलमा रहेको अध्यागमन कार्यालय तथा अन्य निकायले बिदेसिँदै गरेका युवाहरूको कागजपत्रमा कडाइ गर्दा मात्र पनि ती उडान गर्नबाट रोकिन्छन्।
होइन भने भिजिट भिसामा भन्दै विमानस्थलबाट छिरेका अत्यधिक श्रमिक कुबेत, कतार, बहराइन, ओमान र अन्य विभिन्न देशमा रोजगारीका लागि जाने गरेका छन्। अवैध रूपमा पुग्ने कामदारहरूमध्ये अधिकांश महिला हुने गरेका छन्। जब उनीहरू विदेशी भूमिमा मारमा पर्छन् तब मात्रै स्वदेश फर्किने याचना गर्छन्।
उनीहरू आफू कुनै दलाल, एजेन्ट र आफन्तको प्रलोभनमा परेर विदेश पुगेलगतै मानव बेचबिखन, मावन तस्करी, शारीरिक तथा मानसिक यातना र यौन हिंसामा परेको भन्दै उद्धारका लागि संघसंस्था, उद्धार एजेन्सी तथा ब्युरोलाई हारगुहार गर्ने गरेका छन्।
आफूहरूलाई एजेन्टले सिकाएअनुसार भिजिट भिसामा युएई पुगेको र त्यहाँको केही समयको बसाइपछि फलानो देश पुगेर बेचिएको, शारीरिक तथा मानसिक यातनामा परेको भन्दै गुनासो गर्छन्। एजेन्टले भिजिट भिसाको सबै कागजात श्रमिकको हातमा थमाएर त्रिभुवन विमानस्थलबाटै हवाई उडान भरेर विदेश पुग्ने गरेका धेरै श्रमिक छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको मात्र कागजात देखाउने अन्य कागजात लुकाएर राख्ने र युएई पुगेपछि मात्रै निकाल्ने अथवा त्यहाँको विमानस्थलमा देखाउने भनी एजेन्ट तथा दलालहरूले दुरदराजका युवायुवतीलाई सिकाउने गरेका छन्।
परिवारको आर्थिक भार उकास्न विदेशी भूमिमा पसिना बगाउन जान लागेका श्रमिक पनि एजेन्टले भनेअनुसार नै गर्छन्। किनकि ती श्रमिक एजेन्टको ठुलो प्रलोभनमा परिसकेका हुन्छन्।
त्यसरी नक्कली कागजात बनाई एजेन्टको यावत् प्रलोभनमा परेर विदेश हिँडेका श्रमिक कहिलेकाहीँ छट्के चेकजाचमा परे ीवमानस्थलबाट फर्किनुसिवाय अरू कुनै विकल्प हँदैन। त्यसपछि आफूलाई परेको मार, पिर, व्यथा र आफ्नो यथार्थ सबै भन्ने पीडितहरू कम छैनन्। किनकि उनीहरूले सत्य खोल्नुपर्ने बाध्यता हुन्छ। भिजिट भिसा भन्दै लाखौंलाख रूपैयाँ दलाललाई श्रमिकहरूले बुझाएका हुन्छन्।
प्रत्येक श्रमिकको पाइलैपिच्छे चेकजाच हुने गरेको त्रिभुवन विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई दाबी गर्छन्। ‘दैनिक रूपमा हाम्रा कर्मचारीले बिदेसिँदै गरेका व्यक्तिको पाइलैपिच्छे चेकजाच हुने गरेको छ,’ उनले भने, ‘सम्बन्धित देश जान लागेको हो भने प्रवेशाज्ञा चाहियो। त्यो छैन भने हामीले रोकिदिने हो। भिजिट भिसामै जान लागेका व्यक्तिको सबै कागजात पुगेको खण्डमा हामी छोडिदिन्छौं। भिजिट भिसामा जाँदै छ भने फर्किने टिकट चाहियो। त्यहाँ होटल बुकिङ गरेको कुनै प्रमाण हुनुपर्यो।’
उनले भने, ‘महिला जान लागेका रहेछन् भने आफन्त मान्छे कोही त्यहाँ हुनुपर्छ। कागजात नपुगेको अवस्था वा केही शंकास्पद लागेमा हामीले रोक्ने हो। यसरी कागजान पुगेको अवस्थामा हामीले रोक्ने गरेका छैनौं।’
भिजिट भिसाबाहेक रोजगारीका लागि जाँदै छन् भने श्रम स्वीकृति गरेको हुनुपर्ने उनले बताए।
उनका अनुसार भिजिट भिसामा युएई पुगी त्यहाँबाट अरू देश जाने भन्नेबारे हामीलाई थाहा हुँदैन। हामीले हेर्ने भनेकै युएईसम्मको भिसा हो। भिजिट भिसामा जाँदै छन् भने त्यहाँ बस्ने होटल बुकिङ र फिर्ता हुने कागजात हेर्छौं। त्योभन्दा अरू ट्र्याकिङ अथवा अन्य देश जान लागेको कुनै कागजपत्र हेर्ने नगरेको अध्यागमन प्रमुख भट्टराई बताउँछन्।
विदेश भ्रमणका लागि चाहिने सबै पूर्वाधार पूरा भएको अवस्थामा कसैलाई पनि रोक्ने नगरेको उनले बताए। ‘आधारभूत सर्त पूरा गर्नेहरू भिजिट भिसामा विदेश जान पाउँछन्,’ उनले भने। सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरूबारे कार्यविधि तय गरेको छ।
भिजिट भिसासम्बन्धी व्यवस्था
भिजिट भिसामा विदेश जाने अनुमति पाउन दुईतर्फी (जाने र आउने) हवाई टिकट अनिवार्य गरिएको छ। भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र देखाउनुपर्नेछ।
भ्रमणको सबै खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलरबराबरको नगद भएको प्रमाण (नगद वा डेबिट÷क्रेडिट कार्ड) पनि अनिवार्य गरिएको छ।
संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा फारम भर्नुपर्नेछ। भिजिट भिसाको नाममा रोजगारी गर्न जाने श्रमिकबारे उनले भने, ‘घुम्ने र परिवार भेट्न जाने यात्रुहरूले सेटिङको नाममा कुनै पनि बिचौलियाहरूलाई रकम बुझाएर विदेश यात्रा नगर्नु हुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्न सबैमा अनुरोध छ।’
अध्यागमन विभागका निर्देशक धर्मराज जोशीका अनुसार सबै कागजात पुगेको अवस्थामा वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाएसँगै भिजिट भिसामा पनि चाहिएको कागजात पुगेमा यात्री तथा श्रमिकलाई हवाई उडान भर्न दिने हो।
‘श्रमिक सम्बन्धित देशमा जान लागेको कागजात हेर्ने हो,’ उनले भने, ‘यहाँबाटै सम्बन्धित देश गइसकेपछि अन्य देश जान्छन् भने त्यसको जिम्मेवारी अध्यागमनले लिँदैन। अध्यागमनले जाँदा र आउँदाको कागजात हेरेर पठाउने हो। उहाँ गएपछि मान्छे के गर्ला भन्ने अन्दाजको भरमा भन्न सकिँदैन। विदेश गएको मान्छे त्यहीँ बस्छ कि फर्किन्छ, त्यो त उसको कुरा भयो। हामीले कागजातको प्रक्रिया पुगेको छ कि छैन भनेर मात्र हेर्ने हो।’
उनले भने, ‘रित तथा कागजात पुगेका श्रमिक भिजिट भिसामा, वर्किङ भिसालगायत सबै भिसामा जान पाउँछन्। नपुगेकालाई फर्काउने हो। यसो होइन कि आज धेरै मान्छे आएर फर्काएको। हिजो कम आएर नफर्काएको।’गत बिहीबार राति शंकास्पद रूपमा भिजिट भिसामा युएई र कुवेत पठाइन लागेका २० जना युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काएको छ। हिमालयन एयरलाइन्सको उडानबाट युएई र कुवेत जान विमानस्थल पुगेका ती युवतीहरूलाई फिर्ता गरेको सूचना अधिकारीले बताए। उनका अनुसार ती युवतीलाई मानव तस्करीका रूपमा खाडी मुलुक पठाउन लागेको आशंकामा फिर्ता भएका हुन्।
‘उनीहरू सबै भिजिट भिसामा कुवेत र युएई जाने भन्दै विमानस्थल पुगेका थिए,’ जोशीले भने, ‘जसमध्ये चारजना कुवेत र बाँकी १६ जना युएई जाने भनेर बोर्डिङ पास लिएर अध्यागमन पास लिन पुगेका थिए। सोही क्रममा उनीहरूलाई फर्काइएको हो।’
‘भिजिट भिसामा विदेशी लागेको ठाउँ र बोर्डिङ पास लिएको ठाउँ फरकफरक पाइएको, भिसामा शंकास्पद अवस्था भेटिनुका साथै कतिपय कार्यविधिसँग मेल नखाने अवस्थामा भेटिएकाले अध्यागमनले फिर्ता गराएको हो,’ उनले भने।
नेपाली श्रमिक महिलालाई खाडीका देश जान कुनै शुल्क लाग्दैन। यसको आफ्नै प्रक्रिया छ। तर, छिटो जाने प्रलोभनमा धेरै व्यक्ति लाखौंलाख रूपैयाँ डुबाएसँगै उनीहरू फस्ने पनि गरिरहेका हुन्छन्। केही दलालले यतैबाट पैसा लिएको पनि देखिन्छ। कोहीले भने फ्री भिसा, फ्री टिकट भन्छन्। यसरी यताबाट मान्छे लगेबापत त्यहाँ प्रतिव्यक्ति १२ सयभन्दा बढी कुवेती दिनारसम्म लिने गरेका छन्।
अझै पनि दुरदराजका व्यक्तिहरूलाई भिजिट भिसा र वर्किङ भिसा भनेकै जानकारी नभएको देखिन्छ। उनीहरूलाई विदेश जाने भनेपछि पुग्यो। त्यही भएर जो पहिलो पटक विदेश जान लागेक हुन्छन्, तिनै व्यक्ति धेरै अप्ठेरोमा पर्ने गरेका छन्। युरोप, अमेरिका जान खोज्नेलाई चाहिँ आफू ठगिँदै छु भनेर थाहा हुन्छ। एक करोड १८ लाख रूपैयाँसम्म तिरेका पीडितहरूले पनि ब्युरोमा आएर उजुरी दिएका छन्।
मेक्सिकोको बाटो प्रयोग गर्दै हिँडेर जाने अनि समातिहाल्यो भने समर्पण गर्नुबाहेक अर्को विकल्प छैन। कोही त्यतै थुनामा रहन्छन्, कसैलाई यतै पठाएका हुन्छन् भने कोही बाटोमै विलीन हुनुपरेको घटना पनि अत्यधिक मात्रामा छन्। त्यस्तो अवस्थामा पीडकलाई कारबाही गर्न पनि गाह्रो छ। पीडितहरूले लाखौं खर्च गरिसकेका हुन्छन्। आफूहरू बन्धकसमेत भएका हुन्छन्। तर, पीडितसँग पर्याप्त प्रमाण हुँदैन। मुख्य एजेन्टहरू विदेशमै हुने भएकाले समेत पीडितलाई कानुनी दायरामा ल्याउन मुस्किल हुने गरेको छ।
प्रकाशित: २७ कार्तिक २०८१ ०८:३६ मंगलबार